कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टीएमजे क्षेत्रलाई समुदायको जिम्मा

चन्द्र कार्की

तेह्रथुम — गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल थालिएको छ ।

यो क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा पर्छ । वन तथा वातावरण मन्क्रालयले मन्त्री शत्तिबहादुर बस्नेत सहितको टोली बसन्तपुरमा आएर सरोकारवालाहरूसँग छलफल गरेका छन् ।


छलफलमा तीनै जिल्लाका सांसद, स्थानीय तहका प्रमुख, वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, संरक्षणविद, वन्यजन्तुविद, स्थानीयको सहभागिता थियो । मन्त्री बस्नेतले टिएमजेको क्षेत्र विस्तार गरी नयाँ मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए ।


‘स्थानीय समुदायको मागबमोजिम नै संरक्षण क्षेत्र घोषणा हुन्छ,’ उनले भने, ‘संरक्षण क्षेत्र घोषणा भए पूर्वको यो सवैभन्दा फराकिलो संरक्षण क्षेत्र हुनेछ ।’ टीएमजेको क्षेत्र विस्तार गरी नेपाल, चीन र भारत त्रिदेशीय सीमा जोड्ने गरी स्थानीय जनताको सहभागितामा बिल्कुलै फरक मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गररिहेको उनको भनाइ थियो ।


ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले अन्तर्राष्ट्रिय स्तरको सम्बन्ध जोड्ने फरक मोडलको संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए । संखुवासभाका सांसद राजेन्द्र गौतमले संरक्षण क्षेत्र घोषणा गर्दा स्थानीय समुदायको संलग्नतामा नयाँ मोडलको अवधारणा अपनाउनुपर्ने बताए । तेह्रथुमका सांसद भवानी प्रसाद खापुङले राम्रो ढंगबाट व्यवस्थापनको मोडल खोज्नुपर्ने बताए । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले संरक्षण क्षेत्र घोषणा गर्दा आदिबासी जनजातिका हक अधिकार कुण्ठित नहुने ग्यारेन्टी हुनुपर्ने धारणा राखे ।


टीएमजे क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा गरेको थियो । स्थानीयले घोषणालाई खारेज गरी वन ऐनअन्तर्गत समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालय समक्ष माग गर्दै आएका छन् ।


टीएमजे क्षेत्रको हालको क्षेत्रफललाई विस्तार गरी कन्चनजङघा र मकालु सरक्षण क्षेत्रसम्म पुर्‍याउने विषयमा सहमति भइसकेको र संरक्षणको मोडलका विषयमा मात्र छलफल भइरहेको प्रदेश सभाका सदस्य लक्ष्मण तिवारीले बताए ।


टीएमजे क्षेत्रमा १८ हजार ७ सय ८३ घरधुरीका १ लाख ३ हजार ४ सय ६५ जनसंख्याको बसोवास छ । टीएमजे क्षेत्रमा हुने वन संरक्षण, संवर्द्धन र उपभोगको अधिकार स्थानीय बासिन्दा र सामुदायिक वनका उपभोक्तालाई हुनुपर्ने माग यी तीनै जिल्लाका सामुदायिक वन समूहले पनि गर्दै आएका छन् ।


यो क्षेत्रमा ३८ हजार ५ सय ९० हेक्टर घना वन, ६ हजार ९ सय ६१ घाँसे मैदान, ४ सय ४२ हेक्टर नाङगो खाली जमिन, ११ हजार ६ सय ४४ हेक्टर आवादी जमिन, ६ दशमलव ३ हेक्टर सिमसार, ५ सय ८७ हेक्टर हिउँ परिरहने क्षेत्र रहेको परामर्श निकाय ग्रिन सोलुसनले वन मन्त्रालयलाई बुझाएको तथ्याङकमा उल्लेख छ ।


त्यसमध्ये ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा घना गुराँस वन मात्र छ । यो क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन् । जो पर्यटकीय र जीवन यापनका हिसावले धेरै महत्त्व राख्छन् ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?