राजवंशी महिलाले गरे घाटोसरी पूजा

परिवारका सदस्यलाई घाउ खटिरा नआओस्, दु:ख विराम नहोस्, सन्तान प्राप्ति र समृद्धिको कामना गर्दै पूजा गरिन्छ
अर्जुन राजवंशी

(बिर्तामोड) — परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु तथा भाकल गर्दै झापाका महिलाले सोमबार बेलुका 'घाटोसरी माता' को पूजा गरेका छन् । राजवंशी महिलाले आफ्नो घर नजिकैको खोला/नदी किनारमा गई विधिपूर्वक घाटोसरी माताको पूजा गरेका हुन् । 

राजवंशी महिलाले गरे घाटोसरी पूजा

राजवंशी जातिको घरको प्रमुख महिलाले उक्त पूजामा 'साजी माता' र 'तिस्ताबुरी माता' को पूजा गर्छन् । महिलाले घाटोसरी पूजामा माटोका दुइटा घाटो -घडा) बनाउँछन् । दुईमध्ये एउटा घडालाई ढेनी -अविवाहित या सन्तान नभएकी महिला) र अर्कोलाई छुवाती -सन्तान भएकी महिला) का रूपमा पूजा गर्छन् । घडालाई भान्सा कोठाभित्र चुलाको छेउमा प्रतिस्थापन गर्ने चलन छ ।


खोलाको पवित्र बालुवा ल्याएर घडा राखिन्छ । घाटोसरी माताको आहवान घाटोसरी गीत गाएर गर्ने गरिन्छ । गाजल र अबिरको लामो टीका लगाएर घडामा भगवानको बास भएको विश्वाससाथ पूजाअर्चना गर्ने चलन छ ।

सोही क्रममा परिवारका सदस्यलाई घाउँ खटिरा नआओस्, दु:ख विराम नहोस्, सुस्वास्थ्य, दीर्घायु, अनजानमा भएका गल्तीहरूको क्षमायाचना गर्नुसाथै परिवारमा सन्तान प्राप्ति, सुख, समृद्धिको कामना एवं भाकल पनि गरिन्छ । भाकल पूरा भए अर्को वर्ष उक्त परिवारले थप एउटा घडा थपेर पूजा गर्ने चलन छ । घाटोसरी मातालाई फूल, चनाभुजा, दालको बरी -पकौडा), अठिया कोला, हरियो आँपसहित बैशाख २ गते 'काद सिरुवा' को बेलुका नजिकैको खोला/नदी किनारमा घाटोसरी गीत गाउँदै पूजाअर्चना गरी विसर्जन गर्ने चलन छ । घाटोसरी पूजा सबै राजवंशी परिवारले गर्ने गर्छन् । यो पूजा अनिवार्य गर्नुपर्ने भएकाले सोमबार जिल्लाका राजवंशी महिलाहरूले विभिन्न स्थानमा सामूहिक घाटोसरी पूजा कार्यक्रमको आयोजना समेत गरेका थिए ।


कनकाई नगरपालिका ९ घैलाडुब्बाका महिलाहरूले विरिङ नदीमा, बाह्रदशी गाउँपालिकाका महिलाहरूले घाग्रा खोलामा, बिर्तामोड नगरपालिकाका महिलाहरूले आन्धुवा खोलामा, भद्रपुरका महिलाहरूले मेची र देउनिया खोलामा, कचनकवल गाउँपालिकाका महिलाहरूले स्थानीय जमुना, घाग्रा खोलामा, गौरीगञ्जका महिलाहरूले गेउरिया, रामचन्द्र र बनियानी खोलामा, शिवगञ्जका महिलाहरूले कनकाई नदीमा घाटोसरी माताको पूजा गरेका छन् ।

घाटोसरी माताको विसर्जनपछि एकआपसको 'प्रसाद' बाँडीचुडी खोला किनारमै खाने चलन छ । सिरुवा पर्वसँगै घाटोसरी पूजा राजवंशी जातिको महत्वपूर्ण सांस्कृतिक धरोहर भएकाले यसको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउँन सामूहिक घाटोसरी पूजाको आयोजना गर्ने क्रम बढदै गएको घैलाडुब्बाका अरुण राजवंशीले बताए ।


'वर्षभरि परिवारमा कुनै आपतविपत नहोस्, परिवारका सबैको स्वास्थ्य राम्रो होस् तथा परिवारमा कुनै कुरा आवश्यक छ भने त्यो पूरा होस् भन्ने कामना गर्दै घाटोसरी माताको पूरा गर्ने चलन छ,' घेराबारीकी ६० वषर्ीया बसन्ती राजवंशीले भनिन्, 'सिरुवा हाम्रो प्रमुख तथा पवित्र चाड भएकाले यो चाडमा गरेको पूजा लाग्ने विश्वास छ ।' राजवंशी महिलाहरू समूह बाँधेर एक हप्ताअघिदेखि गाउँगाउँ डुलेर घाटोसरी गीत गाउने पनि गर्दछन् । सोमबार नै राजवंशीहरूले घाटोसरी पूजापछि राति आआफ्नो घरमा 'चातर' -आफ्नो घरको चारैतिरको सिमाना) बाँधेका छन् । कुल पुजारी ल्याएर कुल देवताको पूजा गरेर चातर बाधेका हुन् । चातर बाँध्दा घरपरिवारमा वर्षभरी दुष्ट आत्माको प्रवेश नहुने तथा कसैले खराब मनशायले तन्त्रमन्त्र गरे त्यो छेकिने जनविश्वास छ ।

प्रकाशित : वैशाख ४, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?