५ सम्मका स्कुल बालकक्षामा सीमित

आनन्द गौतम

(ताप्लेजुङ) — आठराई त्रिवेणी गाउँपालिकाको गणेश आधारभूत विद्यालयले अब बालकक्षा मात्रै सञ्चालन गर्नुपर्ने भएको छ । कक्षा ५ सम्मको स्वीकृति रहेको हाङपाङको यो विद्यालयलाई नयाँ शैक्षिक सत्रसँगै कक्षा घटाएर बालकक्षा मात्रै सञ्चालन गर्ने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको हो । 

२०७५ चैत २५ को गाउँ शिक्षा समितिको सिफारिसलाई सोही दिनको गाउँ कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । फूलबारी को पिपलबोटे आधारभूत विद्यालयलाई पनि गाउँपालिकाले कक्षा ३ सम्ममात्रै सञ्चालन गर्न भनेको छ । यहाँ ५ कक्षासम्मको अनुमति दिइएको थियो र त्यहीअनुसार सञ्चालन हुँदै आएको थियो । २०५२ सालमा स्थापना भएको विद्यालयले ०६० सालमा ३ देखि ५ कक्षासम्मको अनुमति पाएको प्रधानाध्यापक शंखर भट्टराईले बताए । स्थापनाको २३ वर्षपछि गाउँ कार्यपालिकाले नयाँ कक्षाको विषयमा निर्णय गरेको हो ।


सिंहवाहिनी र फूलबारी मात्रै होइन गाउँपालिकाका सबै वडाका गरी ११ विद्यालयको कक्षा घटाउने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकालेे सबैभन्दा बढी हाङपाङका विद्यालयको कक्षा घटाइएको छ भने एउटा बालविकास केन्द्रलाई विद्यालयमा गाभिएको छ । पटकपटकको अनुगमन, विद्यार्थी गणना र बालबालिकालाई असर पर्ने नपर्ने अध्ययन गरेर यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले बताए । उनका अनुसार यो निर्णय यहि शैक्षिक सत्रदेखि लागू हुन्छ र विद्यालयलाई त्यही अनुसारको जानकारी गराइ सकिएको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेका अनुसार जनता आधारभूत विद्यालय निगुरादिन, फूलवारीको पिपलबोटे, भगवती र पञ्चकन्या, हाङपाङको सिंहवाहिनीलाई ३ कक्षासम्म मात्रै चलाउने निर्णय गरिएको छ । जनता, किराातेश्वर, र बिस्मुरेलाइ १ सम्मको मात्रै अनुमती दिइएको छ । यी विद्यालयमा ३ कक्षा सञ्चालनमा थिए । नेशुमको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई ५ को मात्रै अनुमति दिइएको छ । यहाँ ८ कक्षासम्म सञ्चालनमा थियो । यहि वडाको पोरक्मी आधारभूतलाई पनि १ सम्म र समुदायमा सञ्चालित जनज्योती बालविकास केन्द्रलाई शिक्षकसहित पोरक्मीमै गाभ्ने निर्णय भएको छ । न्यौपानेले यो एक आर्थिक वर्षका लागि भएको र विद्यार्थी संख्या बढे अर्को आर्थिक वर्षमा फेरि कक्षा थप गर्न सकिने दावी गरेका छन् ।


गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ज तथा आठराई त्रिबेणी गाउँपालिकाको शिक्षा नियमावली २०७५ को नियम १८ बमोजिम यो निर्णय गरेको हो । यो नियमावलीमा विद्यालय र कक्षा कोठामा विद्यार्थी संख्याको अनुपात निर्धारण गरिएको छ । एक शिक्षक बराबर ३० विद्यार्थी हुनुपर्ने उल्लेख गरिएको छ । पिपलबोटेका प्रधानाध्यापक भट्टराईले गाउँपालिकाको निर्णयका विषयमा छलफल गर्न बुधवार व्यवस्थापन समितिको बैठक बोलाएको बताएका छन् । उनले नियमावलीमा ३० जना विद्यार्थी उल्लेख भए पनि त्यसको १० प्रतिशत विद्यार्थी भए कक्षा चलाउने उल्लेख भएकाले नियमावली र निर्णय बाझिएको दावी गरे ।


गाउँपालिकाका अनुसार जनतामा १९, भगवतीमा २८, पञ्चकन्यामा ३२, बिसमुरे र किँरातेश्वरमा १६-१६, गणेशमा १७ जना विद्यार्थी थिए । राष्ट्रिय आधारभूतमा भने दक्ष शिक्षकको समेत अभाव देखिएको गाउँपालिकाले जनाएको छ । कक्षा घटाएका विद्यालयमा अध्ययनरत विद्यार्थीले अर्को विद्यालय जान बढीमा १५ देखि २५ मिनेटसम्म मात्रै हिँड्नुपर्ने भएकाले विद्यार्थीलाई कुनै समस्या नहुने न्यौपानेले बताए ।

प्रकाशित : वैशाख ४, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?