लोकप्रिय  बन्दै जडीबुटीको वाइन

जडीबुटी जन्य केसरी, चुथ्रो, ऐसेलु, ठेकीफललगायतबाट वाइन तयार
चन्द्र कार्की

(तेह्रथुम) — जंगली वन पाखामा त्यसै खेर गइरहेका काँडेदार फल संकलन गरेर तयार पारिएको वाइन नेपाली उपभोक्तामाझ लोकप्रिय  बनेको छ । केही वर्षअघि सम्म विदेशी वाइनले ओगटेको स्थानीय वजार अहिले तेह्रथुम र संखुवासभाको सीमा तामाफोकको टुटेमा मकालु वाइन इन्डष्ट्रिजले उत्पादन गरेको हिंवा र सावा ब्रान्डको वाइनले लिन थालेको छ । 

लोकप्रिय  बन्दै जडीबुटीको वाइन

स्थानीय जंगलमा पाइने रैथाने कच्चा पदार्थ संकलन गरेर प्रशोधनपश्चात तयार पारिएको यो वाइन यस क्षेका बजारमा मात्र हैन काठमाडौं, पोखरा हुँदै युरोपिय मुलुकसम्म जाने गरेको छ । जडीबुटी जन्य फलफूल केसरी, चुथ्राे, ऐसेलु, ठेकीफल लगायतका १० भन्दा बढी लेकाली फलफूल संकलन गरेर तयार पारिएको वाइनले राम्रो बजार पाएको उद्योगका सञ्चालक आश्रय श्रेष्ठले बताए ।


काम विषेश वा व्यस्तताले जंगलमा गएर यी जंगली फलफूलको स्वाद चाख्न नपाएकाहरूले समेत घरमै वसेर फलफूलको स्वादमा वाइन पिउन पाएको सञ्चालक श्रेष्ठले बताए । घरमै बसेर जंगली फलफूलको स्वादमा स्वदेशी वाइन पिउन पाएपछि गाउँदेखि सहरसम्म र पहाडदेखि तराईसम्म नै यसका पारखीहरू बढिरहेको संचालक श्रेष्ठले बताए ।


उद्योगको उत्पादन हिंवा ब्रान्डको माग अत्याधिक आएको र यो वाईन उपभोक्तामाझ निकै लोकप्रिय भएपछि उद्योगले महिला र आयस्रोत कम भएका उपभोक्तालाई केही गरी केही सस्तो मूल्यको सावा व्रान्डको वाइन पनि बजारमा ल्याएको छ । जंगलमा पाइने सवै प्रकारका फलफूललाई मिश्रण गरेर उत्पादन गरिएको यो वाइन समेत उपभोक्ताले मन पराएको सञ्चालक श्रेष्ठले बताए ।


नेपाली र विदेशी उपभोक्ता माझ आफ्नो उद्योगले उत्पादन गरेको वाइन निकै लोकप्रिय भएपछि उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालन गर्न लगानी बढाइएको उद्योगले जनाएको छ । नयाँ प्रविधिबाट सञ्चालन गर्न जर्मन प्रविधिका उपकरण समेत जडान भइसकेको संचालक श्रेष्ठको भनाइ छ ।


दुई दशकअघि सुरु उद्योगमा अहिले तेह्रथुम सहित संखुवासभा र धनकुटाको जंगलमा उत्पादन भएका जंगली फलफूलको खपत हुने गरेको छ । उद्योगले स्थानीयसँग वाषिर्क ३ करोडको हाराहारीमा जंगलमा संकलन गरीएको ऐसेलु, चुथ्रो लगायतका काँडेदार फल खरिद गरिरहेको जनाएको छ । जंगलमा खेर गएको फल संलकनपछि उद्योगलाई बिक्री गरेर स्थानीयले पनि रामै्र आमदानी गरेको स्थानीय भीम गुरुङले बताए । आगोको प्रयोग विना प्राकृतिक प्रविधि अपनाएर तयार पारीने वाइनमा ४ प्रतिशत मात्र अल्कोहलको मात्रा रहने गरेकाले पनि धेरैले यसलाई पेय पदार्थको रूपमा समेत प्रयोग गर्छन् । जंगली फलफूलको कच्चा पदार्थमा उत्पादन निर्भर रहने गरेकाले उत्पादनमा भने तलमाथी हुने गरेको सञ्चालक श्रेष्ठले बताए । खेर जाने जंगली फल संकलन गरेर स्वादिलो पेय पदार्थको रूपमा गाउँमै वाइन उत्पादन सुरु भएपछि उद्योग आसपासका सयौं गाउँलेले प्रत्यक्ष/अप्रत्यक्ष रोजगारको अवसर पाएका छन् । 'अहिले उत्पादनभन्दा माग बढी छ,' सञ्चालक श्रेष्ठले भने, 'जंगलमा जुन मात्रामा फलफूल फल्छ, त्यति नै मात्रामा वाइन उत्पादन हुन्छ ।' चिसो हावापानीमा उत्पादन भएका फलफूलबाट तयार पारिएको वाइन स्वस्थकर समेत भएको उद्योगको दावी छ । पछिल्लो समय सहर वजारका महिलाहरूमा वाइन पिउने संस्कार -कल्चर) बढदै गएकाले पनि नेपाली बजारमा वाइनको खपत बढी हुन थालेको उद्योगले जनाएको छ ।


नेपाली बजारमै माग धान्न नसकेको हिंवा वाइनको विदेशी बजारबाट समेत माग आएकाले उत्पादनलाई बढाउन भौतिक पूर्वाधार निर्माणको काम भइरहेको सञ्चालक श्रेष्ठले बताए ।


त्यसका लागि उद्योगको क्ष्ामता बढाउने, भवन निर्माण गर्ने, जग्गा खरिद गर्ने, नयाँ र आधुनिक उपकरण भित्र्याउने लगायतका काम भइरहेको छ । सुरुमा वाषिर्क ९० बोतल क्षमताबाट उत्पादन सुरु गरेको उद्योगले अहिले वाषिर्क ३ लाख बोतल वाइन उत्पादन गर्दै आएको जनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?