प्रहरी हिरासतमा बालकको हत्या भएको दाबी 

पर्वत पोर्तेल

विर्तामोड — इलाका प्रहरी कार्यालय विर्तामोडको हिरासतमा राखिएका बालकको शंकास्पद मृत्युलाई उनका परिवारले हत्या भएको दाबी गरेको छ ।  मोबाइल चोरीको आरोपमा गत चैत २९ गते पक्राउ परेका मेचीनगर ६ काँकडभिट्टाका १५ वषर्षीय किरण कार्कीढोली (दर्जी) लाई म्याद नथपी हिरासतमा राखिएको हो ।

'गैरकानुनी ढंगबाट थुनामा राखेर मृत्यु हुनु गम्भीर कुरा हो', राष्ट्रिय मानवअधिकार आयोग विराटनगरका प्रमुख मोहनदेव जोशीले भने, 'यस विषयमा हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ ।'


गत वैशाख १ गते राति हिरासतमै उनको मृत्यु भएको थियो । प्रहरीले किरण हिरासतको वाथरुममा झुन्डिएको जनाएको छ । तर, उनको मृत्यु झुन्डिएर नभएर प्रहरीको चरम यातनाबाट भएको किरणका बुवा रमेश कार्की डोलीले दाबी गरे । 'शरीरका निलडाम र चोटहरु हेर्दा छोरो झुन्डिएको हैन बरु कुटेरै मारिएको हो', भावुक हुँदै रमेशले भने । उनका अनुसार प्रहरीले किरण पक्राउ परेको विषयमा कुनै जानकारी गराएको थिएन । मृत्युपछि वैशाख २ गते बल्ल जानकारी गराइएको थियो ।


इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी हेम बस्नेतसँगै उनी मेची अञ्चल अस्पताल भद्रपुर पुग्दा किरणको पोस्टमार्टम भइसकेको थियो । 'घटना ढाकछोप गर्न डीएसपी सुवास खड्काले कार्यालयका प्रहरीलाई निर्देशन दिएका थिए', स्रोतले भन्यो, 'प्रहरीले घटनास्थलको सम्पूर्ण प्रमाणहरु नष्ट गरेको छ । सीसीटीभी पनि हटाएको छ ।'

मानव अधिकार सञ्जाल तथा शान्ति कार्यक्रम (प्याग) झापाका अध्यक्ष तथा अधिवक्ता अर्जुन बस्नेतले गैरकानुनी हिरासतमा बालकको मृत्यु हुनु गम्भीर अपराध भएको बताए । उनका अनुसार बालबालिकालाई हिरासतमा राख्दा जिल्ला अदालतका न्यायाधीशलाई मौखिक जानकारीसम्म गराउनु पर्ने व्यवस्था छ । तर, प्रहरीले उल्टै म्याद नथपी बालकलाई हिरासतमा राखेको देखिन्छ ।


अञ्चल अस्पतालका चिकित्सक शिशिर शिवाकोटीले पोष्टमार्टम गरेका हुन् । पोस्टमार्टम रिपोर्ट आएको छैन । मृतकका बुवा रमेशले छोरा वाथरुममा झुन्डिएर मर्‍यो भनेर जर्वजस्ती शव बुझाएको आरोप लगाए ।


डीएसपी खड्काले बालकले हिरासतमा आत्महत्या गरेको दाबी गरे ।


तर, मृतक परिवार डिएसपी खड्काको भनाई मान्न तयार छैन । 'आत्महत्या गरेको मान्छेको घाँटीमा कुनै चोट पटक या दाग देखिँदैन', मृतकका भिनाजु शुरेस दर्जीले भने, 'जिउभरी चोटैचोट थियो ।' उनका अनुसार मृतकसँगै हिरासत परेको इलामका अर्का बालकले प्रहरीको कुटाइबाट किरणको मृत्यु भएको बताएका थिए । ती बालकलाई प्रहरीले घटना गोप्य राख्न भन्दै २ गते नै छाडेको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?