अवैध हतियार संकलन

कान्तिपुर संवाददाता

ताप्लेजुङ — प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तीन दर्जनभन्दा बढी अवैध हतियार संकलन गरेको छ । एकैदिन १० थानसम्म भरुवा बन्दुक संकलन भएका छन् । बिहीबार पनि प्रहरी टोली गाउँमै छ । यसअघि ११ थान बन्दुक संकलन गरिएको थियो ।

ताप्लेजुङको सिरिजंघा–६, मामांखेमा अवैध हतियार खोज्दै हिँडेको प्रहरी टोली । तस्बिर : आनन्द गौतम/कान्तिपुर 

प्रहरीले हालसम्म करिव तीन दर्जनभन्दा बढी हतियार संकलन गरेको छ । तर हतियार राख्नेलाई भने प्रहरीले नियन्त्रणमा लिदैन । अवैध हतियार राख्नेलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय वा ६० हजारदेखि १ लाखसम्म जरिवान वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

केन्द्रीय सरकारले नेकपा विप्लव समूहलाई समेत लक्षित गरी चैत्र १ गतेदेखि बैशाख ५ सम्म हतियार बुझाउन सर्वसाधारणलाई सुचना जारी गरेको थियो । प्राविधिक रूपमा नविकरण नगरिएका वा कागज पत्र हराएकै कारण कारवाहीमा पर्नु नपरोस् भनी यस्तो सूचना जारी गरेको थियो ।

प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाले राज्यको नीतिअनुरूप बरामद गरिएको र केही दिनमा यकिन विवरण सार्वजनिक गर्ने जानकारी दिए । पछिल्लो पटक बुधवार फक्तालुङ, आठराइ त्रिबेणी र सिरिजंघा गाउँपालिकाबाट बरामद गरिएको बताए । फक्तालुङ ३ सिंवाको प्रहरी चौकीबाट खटिएको टोलीले बाड्नं १ सिंवाबाट ३ थान बन्दुक बरामद गरेको थियो । आठराई त्रिबेणी गाउँपालिका १ निगुरादिनवाट खटिएको प्रहरीले त्यही वडाबाट १ थान र इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले बाँड्न २ फूलवारीबाट २ थान बन्दुक बरामद गरेको छ । यी जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रका वडा हुन् ।

जिल्लाको पूर्वी सिरिजंघाबाट ३ थान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको टोलीले दिउँसो ४ बजे बाँड्न ३ सिंकैचाको कुन्जरीबाट ३ थान बरामद गरेको थापाले जाकारी दिए । यहाका तुलाराम काङबाङले भने लाइसेन्स भएको १ थान प्रहरीलाई बुझाएका छन् ।

प्रहरीले कसैसँग भए अवैध हतियार बुझाउन सार्वजनिक सञ्चार माध्यम र इलाका तथा चौकिमार्फत सर्वसाधारण नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सबैसँग अनुरोध गरेको छ । निश्चित अवधि दिएर आह्वान गरेको प्रहरीले त्यो अवधिमा नभए कारवाही गर्ने चेतावनी पनि दिएको छ । यो क्रम जारिनै रहेको थापाले बताए ।

हतियार नियन्त्रणका लागि निर्वाचित जनप्रतिधिदेखि राजनीतिक दलका नेता तथा कार्यकर्तासम्म प्रयोग गरिएको प्रहरी स्रोतले जनाएको छ । यस्ता हतियार प्रहारबाट धेरैजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले सर्बदलीय सर्वपक्षीय बैठक बोलाएर अबैध हतियार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । प्रहरी नायव उपरीक्षक थापाले बन्दुकका कारण भइरहेको दुर्घटनाको अभिलेख प्रस्तुत गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुहान सुकेपछि बसाइँसराइ

कान्तिपुर संवाददाता

पाँचथर — कुम्मायक गाउँपालिका पानीका मुहान सुक्न थालेपछि स्थानीय बसाइँ सर्न थालेका छन् । यो आर्थिक वर्ष मात्र २५ घर गाउँबाट बसाइँ सरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

स्थानीय बसाइँ जान थालेपछि जमिन बाँजिएका छन् । तेह्रथुम जिल्लासँग सिमाना जोडिएको यो गाउँपालिका २ सय २९ वर्ग मिटरमा फइलेको छ । १६ हजारभन्दा बढी जनसंख्या रहेको यो गाउँपालिमा अहिले पुग नपुग १० हजार जनसंख्या रहेको अध्यक्ष चेम्जोङ बताउँछन् ।

सात वर्ष अघिबाट गाउँमा रहेका पानीका मुहान सुक्न थालेका हुन् । स्थानीय लेखनाथ खनाल गाउँका अधिकांश मानिस तराईमा बसाइँ सरेको बताउँछन् । प्रदेश सरकारले सुख्खा ग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको उक्त गाउँपनलिकालाई केन्द्र र प्रदेश सरकारबाट पानीको समस्या सामाधान गर्न डिप बोरिङ र तमोर लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेको भए पनि बसाइँ सराइको क्रम भने रोकीएको छैन ।

गाउँपालिकाका सिम्म्रा, हात्तिपोखरी, हाङठुवा, आहाले लगायत क्षेत्रमा अहिले मानवविहीन हुने अवस्थामा पुगेका छन् । बस्ती पातलीयसँगै एक दुई घरहरूले लगाएका अन्न बाली समेत जङगली जनवारको आहारा हुन थालेको हाङठुवाका किसान रविलाल ढुङगानालेबताए । सुन्तोलाको व्यावसायिक खेती गर्दै आएका कुम्मायक ४ का नरेन्द्र सम्बाहाम्फे अब के खेती गर्ने भनने चिन्तामा छन् ।

सुख्खा लागेसँगै सुन्तोलाका बोट सुक्न थालेका छन् । अघिल्ला वर्षहरूमा ५०–६० हजारको सुन्तोला बेचेको वताए । सुन्तोला मात्र होइन यस क्षेत्रमा मुख्य कृषिउपज मकै, कोदो, धान, बदाम पनि फल्न छोडेका छन् ।

बसाइँ सर्ने क्रमलाई कसरी रोक्न सकिन्छ भन्ने योजना बनाइ रहेको अध्यक्ष चेम्जोङले बताए । डिप बोरिङबाट तत्काल खानेपानी समस्या समाधान गरे पनि सिँचाइको विकल्प समेत खोजिएको उनले वताए । तमोर खोलाको पानीलाई लिफ्टिङ गरी वितरण गर्ने काम अन्तिम चरणमा पुगे पनि त्यसले सिचाइ गर्न कठिन हुने उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष सिता आचार्यले खानेपानी र सिँचाइका लागि स्थानीय सरकारले पहल गरी रहेकाले गाउँ नछोड्न स्थानीयलाई आग्रह गरिन् ।

ज्ञानु घिमिरे(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT