धिमालले गरे दान्कावाराङ पूजा

प्रकृति पूजक यिनीहरू हिन्दु धर्ममा जस्तै शिव मान्छन् 
वैशाखको पहिलो साता पूजा
कान्तिपुर संवाददाता

बिर्तामोड — सधैंको वर्षझैं यसपालि पनि बिर्तामोड ५ को निचाझोडा जंगलमा भेला भए धिमाल । बालबच्चादेखि पाका दिनभर दन्कावाराङ पूजामा रमाए । प्रकृति पूजक यिनीहरू हिन्दु धर्ममा जस्तै शिव मान्छन् । शिवलाई धिमाल भाषामा दान्कावाराङ भन्छन् ।

झापा बिर्तामोड– ५ को निचाझोडा क्षेत्रभित्रको प्राचीन गढमा दन्कावाराङ पूजा गरिँदै  । तस्बिर : पर्वत पोर्तेल/कान्तिपुर

अर्थात् दान्कावाराङ यिनीहरूको कुल देवता हो । वैशाखको पहिलो साता उनीहरू दान्कावाराङ पूजा गर्छन् । यही मेसोमा पुर्खालाई सम्झिन्छन् । पुरानो वर्षलाई विदाइसँगै नयाँ वर्षलाई स्वागत गर्छन् । निचाझोडा क्षेत्रभित्र धिमालको प्राचीन गढ छ ।

भर्खरै मन्दिर पनिबनाएका छन् । धिमालहरू आफ्नो कुल देवतालाई पोथी (भुनी) सुंगुर बली दिन्छन् । त्यसलाई प्रसादको रूपमा बाडिने गरिन्छ । वन क्षेत्रभित्र धिमाल सेनाको प्राचीन गढ थियो भन्ने इतिहास छ । त्यसै स्थानमा ऐतिहासिक पोखरी छ । यसलाई गोह्री भन्ने गरिन्छ ।

प्रसिद्ध इतिहासकार वीएच हड्सनलेआफ्ना पुस्तक ‘एस्से अन कोच बोडो एन्ड धिमाल ट्राइव्स’ र हेमिल्टनले ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ नामक पुस्तकमा यो स्थानको उल्लेख गरिएको छ । पुस्तकमा डेढ हजार वर्ष पहिले कोशीदेखि सिलिगुडी भारत नजिकको महानन्द नदीसम्मको भूभाग धिमालहरूको राज्य रहेको उल्लेख छ ।

नेपाल एकीकरणताका धिमाल र गोर्खाली सेनावीच कोशीको चतरामा ७ दिन लामो युद्ध भएको र त्यही युद्धताका यसै क्षेत्रमा ठूलो धिमाल बस्ती रहेको बताइएको छ । युद्धको त्रासका कारण ज्यान बचाउन पोखरीमा लुकेका धिमाल बाहिर निस्कन नपाएर मारिएका थिए । उनीहरूलाई एक त्रान्त्रिकले ज्यान बचाउन पोखरीमा अलप पारेका थिए । तर, त्रान्त्रिक नै युद्धमा मारिएपछि हजारौं धिमाल त्यही पोखरीभित्रै अलप भएको किंवदन्दी रहेको पात्र धिमालले बताए ।

‘अदृश्य रूपमा रहेका हजारौं धिमालहरू हाल समेत त्यही पोखरीमै रहेको विश्वास हाम्रो छ’, धिमाल ऐतिहासिक गढ संवर्द्धन समितिका अध्यक्ष लक्ष्मी धिमालले भने । धिमाल समुदायका लेखक सोमधिमालका अनुसार ‘मधेसका लिम्बू’ पनि भनिन्छ धिमाललाई । उनीहरू पूर्वी तराईका भूमिपुत्र हुन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

अवैध हतियार संकलन

कान्तिपुर संवाददाता

ताप्लेजुङ — प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तीन दर्जनभन्दा बढी अवैध हतियार संकलन गरेको छ । एकैदिन १० थानसम्म भरुवा बन्दुक संकलन भएका छन् । बिहीबार पनि प्रहरी टोली गाउँमै छ । यसअघि ११ थान बन्दुक संकलन गरिएको थियो ।

ताप्लेजुङको सिरिजंघा–६, मामांखेमा अवैध हतियार खोज्दै हिँडेको प्रहरी टोली । तस्बिर : आनन्द गौतम/कान्तिपुर 

प्रहरीले हालसम्म करिव तीन दर्जनभन्दा बढी हतियार संकलन गरेको छ । तर हतियार राख्नेलाई भने प्रहरीले नियन्त्रणमा लिदैन । अवैध हतियार राख्नेलाई ६ महिनादेखि १ वर्षसम्म जेल सजाय वा ६० हजारदेखि १ लाखसम्म जरिवान वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

केन्द्रीय सरकारले नेकपा विप्लव समूहलाई समेत लक्षित गरी चैत्र १ गतेदेखि बैशाख ५ सम्म हतियार बुझाउन सर्वसाधारणलाई सुचना जारी गरेको थियो । प्राविधिक रूपमा नविकरण नगरिएका वा कागज पत्र हराएकै कारण कारवाहीमा पर्नु नपरोस् भनी यस्तो सूचना जारी गरेको थियो ।

प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाले राज्यको नीतिअनुरूप बरामद गरिएको र केही दिनमा यकिन विवरण सार्वजनिक गर्ने जानकारी दिए । पछिल्लो पटक बुधवार फक्तालुङ, आठराइ त्रिबेणी र सिरिजंघा गाउँपालिकाबाट बरामद गरिएको बताए । फक्तालुङ ३ सिंवाको प्रहरी चौकीबाट खटिएको टोलीले बाड्नं १ सिंवाबाट ३ थान बन्दुक बरामद गरेको थियो । आठराई त्रिबेणी गाउँपालिका १ निगुरादिनवाट खटिएको प्रहरीले त्यही वडाबाट १ थान र इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले बाँड्न २ फूलवारीबाट २ थान बन्दुक बरामद गरेको छ । यी जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रका वडा हुन् ।

जिल्लाको पूर्वी सिरिजंघाबाट ३ थान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको टोलीले दिउँसो ४ बजे बाँड्न ३ सिंकैचाको कुन्जरीबाट ३ थान बरामद गरेको थापाले जाकारी दिए । यहाका तुलाराम काङबाङले भने लाइसेन्स भएको १ थान प्रहरीलाई बुझाएका छन् ।

प्रहरीले कसैसँग भए अवैध हतियार बुझाउन सार्वजनिक सञ्चार माध्यम र इलाका तथा चौकिमार्फत सर्वसाधारण नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सबैसँग अनुरोध गरेको छ । निश्चित अवधि दिएर आह्वान गरेको प्रहरीले त्यो अवधिमा नभए कारवाही गर्ने चेतावनी पनि दिएको छ । यो क्रम जारिनै रहेको थापाले बताए ।

हतियार नियन्त्रणका लागि निर्वाचित जनप्रतिधिदेखि राजनीतिक दलका नेता तथा कार्यकर्तासम्म प्रयोग गरिएको प्रहरी स्रोतले जनाएको छ । यस्ता हतियार प्रहारबाट धेरैजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालयले सर्बदलीय सर्वपक्षीय बैठक बोलाएर अबैध हतियार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको थियो । प्रहरी नायव उपरीक्षक थापाले बन्दुकका कारण भइरहेको दुर्घटनाको अभिलेख प्रस्तुत गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्