२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विकासले निम्त्यायो विनाश

धनकुटा — बिनाप्राविधिक सर्वेक्षण र गुणस्तरहीन सडक निर्माणले ग्रामीण क्षेत्रमा सुविधाभन्दा समस्या हुने गरेको छ । लामो समयदेखि जिल्लाको समग्र विकासमध्ये सवै निकायबाट सडक निर्माण प्राथमिकतामा पर्दै आएको छ । तर जति सडक खनिए पनि स्थानीयबासीले अहिलेसम्म एम्बुलेन्स सेवा समेत घर दैलोबाट पाउन सकेका छैनन् ।

वर्षौभरी जताततै सडक निर्माण मात्र भइरहेको देख्न सकिन्छ । यसरी खनिने सडकहरू प्राविधिक सर्वेक्षणभन्दा पनि पैसा र पहुँचका आधारमा निर्माण हुने गरेको जनगुनासो छ । जिल्लामा हाल १४ सय ५७ किमि सडक निर्माण भइसकेको छ । जसमध्ये अधिकांश कच्ची सडक छ । १०५ किमि मात्र कालोपत्रे सडक छ भने १९२ ग्राभेल छ ।


अधिकांश कालोपत्रे सडक सहर बजार क्षेत्रमा मात्र सीमित छ । कालोपत्रेमध्ये कोसी राजमार्गको धरान धनकुटा सडक खण्डअन्तर्गत भेडेटारदेखि हिलेसम्म र बाँकी हिले–वसन्तपुर सडकमा बाहेक उल्लेख्य छैन । यस्तै, धनकुटा नगरपालिकाका बजार क्षेत्रमा सीमित स्थानमा कालो पत्रे सडक बाहेक अन्यत्र स्तरीय सडक अभाव छ ।


जिल्लामा सात तहमध्ये ३ नगर र ४ गाउँपालिका छन् । दुई दशकअघि तत्कालीन जिल्ला विकास समितिका सभापति धर्मराज पौडेलको पालामा ‘सडक वर्ष’ घोषणा गरिएको थियो । त्यस बेला निर्माण थालिएका कतिपय महत्त्वपूर्ण सडकले अहिलेसम्म गति लिन नसक्दा लथालिंग छन् ।


दारेगौडा–चानुवा, उत्तरपानी–छिन्ताङ, सिधुवा–जीतपुर लगायतका सडकको त्यस बेला निर्माण सुरु भएका हुन् । अहिले पनि ति सडकहरूमा सवारी साधन सञ्चालन हुन कठिनाइ छ । जेनतेन हिउँदमा सवारी साधन सञ्चालन भए पनि वर्षात्मा ती सडक प्रायः ठप्प हुने गरेको स्थानीय विष्णु श्रेष्ठ बताउँछन् ।


चार दशकअघि नगर घोषणा भएको धनकुटा नगरपालिकाका अधिकांश ग्रामीण बस्तीमा स्तरीय सडक छैनन् । नगरको मुख्य चोकबाट नजिकै पर्ने आठपहरिया बस्ती रहेको सान्ताङ, याक्ते लगायतका गाउँ सामान्य कच्ची बाटोमा सीमित छ । वर्षौंपछि यस वर्ष उक्त गाउँका बल्ल साना गाडी पुगेको स्थानीय ७८ वर्षीय जीतबहादुर आठपहरियाले बताए । धनकुटा बजारबाट मुस्किलले चार किलोमिटर दूरीको धनकुटा नगरपालिका ८ स्थित याक्ते तथा तेत्रिदाङ गाउँमा एम्बुलेन्स पुग्न पनि कठिनाइ रहेको रितेश आठपहरियाले बताए ।


महालक्ष्मीले सडकमा ३५ करोड लगानी

महालक्ष्मी नगरपालिकाले एकै वर्षमा झन्डै ३५ करोड सडकमा खर्चिसकेको नगरप्रमुख पर्शुराम नेपालले बताए । नगरपालिका ७ स्थित एउटै वडामा सडक निर्माणको लागि यस वर्ष ५ करोड विनियोजन गरिएको छ ।


अधिकांस वडामा सडक सञ्जालले नजोडिएकोले सडकलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । चौबिसे गाउँपालिकाले लाप्से कुरुलेतेनुपा तथा राजारानी हंसमोरङ जोड्ने सडक निर्माणमा झन्डै दुई करोड रकम विनियोजन गरेको पालिका अध्यक्ष खजिन्द्र राईले बताए । सहिदभूमि र साँगुरीगढी गाउँपालिकाले पनि कुल बजेटको अधिकांस रकम सडकमा खर्चिएका छन् ।


सडकका लागि ५ लाखदेखि ५ करोडसम्म विनियोजन गरिएको छ । धनकुटा नगरले सडकमा खुद्रे बजेट बिनियोजन गरेको छ भने, महालक्ष्मीले एउटै सडकमा ५ करोड बढि लगानी गरेको छ । मुढेशनिश्चरे–डाॅडागाउॅ चानुवा सडक निर्माण भएसंगै अब कोसी पहाडी तीन जिल्लालाई मध्यपहाडी लोकमार्गले सबै भन्दा छोटो दुरीमा जोडेको छ ।


धनकुटा, संखुवासभा र तेह्रथुमको मुख्य पर्यटकीय तथा कृषिको मुढेशनिश्चरेदेखि धनकुटाको लेगुवाघाटसम्मको १२ किलोमीटर सडक खण्ड सञ्चालनमा आएको हो । उक्त सडकले अब धनकुटा, संखुवासभा तथा तेह्रथुम जिल्लालाई सजह रुपमा जोड्ने छ । ग्रामिण पुननिर्माण तथा पुनर्स्थापना आयोजना अन्तर्गत १६ करोड ८२ लाख रुपैयाॅको लागतमा सडक निर्माण भएको तत्कालिन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर दिपनारायण साहले जानकारी दिए ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?