कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रोकिएका सडकका काम सुचारु

अर्जुन राजवंशी

बिर्तामोड — संघ र प्रदेश सरकार विच सहमति भएपछि दश महिनादेखि निर्माण रोकिएका जिल्लाका १३ वटा सडकमा काम सूचारु हुने भएको छ । राज्य पुर्नसंरचनापछि यी सडकको दायित्व प्रदेश र संघीय सरकार कसले ब्यहोर्ने भन्ने अन्यौलता थियो । 

रोकिएका सडकका काम सुचारु

मंसिर–पुसमै सम्पन्न हुनुपर्ने सडकको निर्माण कार्य गत साउनदेखि अवरुद्ध भएको थियो । लामो छलफलपछि १३ मध्ये ९ वटा सडकको संघीय तथा ४ वटा सडकको प्रदेश सरकारले दायित्व ब्यहोर्ने सहमति जुटेको छ ।

जिल्लाको दक्षिणी भेकका जनताका लागि निकै महत्वपूर्ण रहेका ९ वटा सडकको रोकिएको निर्माण कार्य यही महिनादेखि सुरु हुने सडक डिभिजन दमकका प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनले भने,‘यी सडक निर्माणका लागि संघीय सरकारबाट पत्र प्राप्त भइसकेको छ । हामीले ठेकेदार कम्पनीहरूसंग छलफल समेत गरिसकेका छौं । उहाँहरूमध्ये केही साथीहरूले काम पनि सुरु गरिसक्नु भएको छ ।’

लखनपुर–मंगलबारे–मयूरभिट्टा–शिवगञ्ज १६ किलोमिटर सडक निर्माण हुने भएको छ । उक्त सडक गजुरमुखी निर्माण कम्पनी इलामले ठेक्का लिएको छ । सडक २५ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७३ माघ २४ मा ठेक्का लागेको थियो । सडक ७ करोड ५० लाखमा ठेक्का लागेको हो । तर, बजेट अभावमा सडक निर्माणको काम ९ महिनादेखि अवरुद्ध थियो । गजुरमुखी निर्माण कम्पनीले नै बालुबारी–पाठामारी ७.१ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको छ । उक्त सडक ३० महिनामा निर्माण गर्नेगरी ०७३ माघ २४ मा ठेक्का लागेको थियो । निर्माण कम्पनीले ११ करोड २१ लाखमा ठेक्का पाएको हो ।

पाठामारी–बालुबारीकै ९ सय मिटर सडक कालोपत्रे गर्ने ठेक्का बाम्ती भण्डारी निर्माण सेवाले पाएको छ । एक करोड ८२ लाखमा ठेक्का लागेको उक्त सडक ०७४ असार २९ मा सम्झौता भएको थियो । सडक ०७५ मंसिर २९ मा सम्पन्न गर्नुपर्ने थियो । दमक–सेतुमारी ७ किलोमिटर कालोपत्रे गर्ने काम पनि सूचारु हुने भएको छ । उक्त सडक रौताहा आरके जेभी सुनसरीले २४ महिनामा निर्माण गर्ने गरी ०७३ पुस १ मा ठेक्का पाएको थियो । सडक तीन करोड ९४ लाखमा ठेक्का लागेको हो ।

गौरादह–मिलनचोक–फकिरदिप–खजुरगाछी–फत्तेपुर १०.७ किलोमिटर सडक कालोपत्रे हुने निश्चित भएको छ । उक्त सडक खण्डको ७.६ किलोमिटर लामा बाम्ती वर्ल्डवाईड जेभीले सात करोड ६० लाखमा तथा ३.१ किलोटिर बाम्ती भण्डार निर्माण सेवाले तीन करोड ६३ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको छ । लामा–बाम्तीले ३० महिनामा निर्माण गर्नेगरी ०७३ माघ २४ मा तथा बाम्ती–भण्डारले ०७५ असोज २९ मा सम्पन्न गर्नेगरी ०७४ असार २९ मा निर्माण सम्झौता भएको थियो ।

गौरादह–बैगुनधुरा–कोरोबारी ७.६ किलोमिटर सडक कालोपत्रे, कृष्णमन्दिर–बेलडाँगी ७ किलोमिटर सडक कालोपत्रे, धरमपुर–मंगलबारे–बस्नेत टोल ४.६ किलोमिटर सडक कालोपत्रे र पथरिया–सुकुनाडिघी–बगान हुँदै घेराबारीसम्मको सडकको अवरुद्ध काम सूचारु हुने गरी संघीय सरकारबाट बजेट प्राप्त भएको यादवले जानकारी दिए ।

ठेक्का लागेपछि निर्माण कम्पनीले सबै सडकमा निर्माण कार्य अघि बढाएका छन् । सडक निर्माणका लागि नाला खन्ने, पुरानो कालोपत्रे भत्काउने कार्य सम्पन्न गरेका छन् । निर्माण कार्य चलिरहेकै बेला बजेटबारे अन्यौता उत्पन्न भएपछि निर्माण कम्पनीहरूले काम रोकेका थिए । निर्माणाधीन सडकको काम रोकिएपछि दैनिक उड्ने धुलो, धुवाबाट आजित स्थानीयबासी विरोधमा समेत उत्रिएका थिए । उनीहरूले केही सडकमा ढाट रोकेर आवागमन नै ठप्प पारेका थिए ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?