प्रहरीबाट ‘सुरक्षाभन्दा सास्ती बढी’

सुम्निमा चाम्लिङ

ईटहरी — इटहरी क्षेत्रका होटल व्यवसायीले सुरक्षा निकायले अनावश्यक दुःख दिने गरेको गुनासो गरेका छन् । होटल व्यवसायीले आचार संहित पालना गरेपनि प्रहरीबाट सास्ती पाएको उनीहरूले आरोप लगाए । 

होटल व्यवसायी संघको आयोजनामा शुक्रबार भएको अर्न्तक्रियामा सहभागीले प्रशासनले असहयोग गरेको गुनासो गरे । होटल व्यवसायलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । संघका अध्यक्ष जीवन पराजुलीले होटल व्यवसायीलाई प्रशासनले नकारात्मक रूपमा लिने गरेको बताए ।


प्रशासनले व्यवसायीलाई अनावश्यक छापा मार्ने, सञ्चालकलाई अनुसन्धान नगरी पक्राउ गरी दुःख दिने गरेको छ ।’ उनले भने, ‘प्रहरीले मार्गनिर्देशन गर्ने हो । अनावश्यक दुःख दिएका कारण पर्यटकसमेत बस्न नमान्ने अवस्था छ ।’ होटलमा हुन सक्ने नकरात्मक क्रियाकलापप्रति संघले अनुगमनलाई तिव्रता दिएको छ ।


आपराधिक गतिविधि न्युनीकरणका लागी संघ प्रहरीलाई साथ दिन तयार रहेको उनले बताए । यद्यपि प्रहरीले समेत आफ्नो व्यवहारमा सुधार ल्याउन आवश्यक रहेको उनीहरूको बुझाई छ । होटल व्यवसायी संघका अनुसार यो सहरमा मात्र साना तथा ठुला गरी करिब ४ सयको हाराहारीमा व्यावसाय पुगिसकेका छन् ।


इटहरीमा हाल १० बजेसम्म होटल सञ्चालन गर्ने अनुमति छ । संघका अनुसार इटहरी पूर्वको मुख्य प्रवेशद्वार भएकाले रातको ११ बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ । बाह्य तथा आन्तरिक पर्यटक टाढाबाट आउने भएकाले चाँडै होटल बन्द हुँदा बासको समस्या हुने गरेको उनीहरूको बुझाइ छ ।


इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले प्रहरीलाई प्रतिपक्षीको रूपमा नलिन आग्रह गरे । होटलमा आश्रय लिएर आपराधिक क्रियाकलाप, मानव बेचबिखन र आर्थिक चलखेल हुन सक्ने भएकाले प्रहरीले

छापा मारेको उनको भनाइ थियो । प्रदेश १ को कानुनविद् तथा मस्यौदा समितिका संयोजक सदस्य रेवतरमण भण्डारीले होटल व्यवसायी र प्रहरी दुवैको सहकार्यमा आपराधिक घटना नियन्त्रण गर्न सकिने बताए । अपराध रोकथाम र नियन्त्रण गर्नु राज्यको दायित्व भएको बताउँदै उनले भने, ‘अपराध नियन्त्रण गर्नु प्रहरीको कर्तव्य हो । तर पर्यटकको मौलिक हकलाई भने बिर्सनु हुँदैन ।’ होटल सञ्चालन गर्दा व्यवसायीले समेत आफ्नो कर्तव्यलाई पालना गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?