विज्ञान संकायमा विद्यार्थी अभाव

पाँचथर — जिल्लाको एक मात्र विज्ञान विषय पठनपाठन हुने फिदिम उच्चमाविमा विद्यार्थीको संख्या कम देखिएको छ । कक्षा ११ मा ११ जना र १२ मा ८ जना मात्र विद्यार्थी विज्ञान विषय पढिरहेका छन् ।

अरू विषयमा विद्यार्थी संख्या ठिकै भए पनि विज्ञान संकायमा भने विद्यार्थी संख्या कम रहेको शिक्षक रामप्रसाद ओझाले बताए । पढ्न आएका विद्यार्थी पनि विज्ञानभन्दा अन्य विषय पढ्न रुचाउने गरेका छन् ।


एक दुई दिन विज्ञान कक्षामा बसे पनि सँगै आएको साथीले के पढ्छ त्यतैतिर जाने गरेकाले विज्ञान विषयमा विद्यार्थी कम रहेको प्रध्यानधापक विनोद ठाकुरले बताए । यहाँ २०६९ सालदेखि विज्ञान कक्षा सञ्चालन भएको हो । २२ लाख लागतमा फिजिक्स, केमेस्ट्री, बायोलोजीको छुट्टाछुट्टै प्रयोगशाला तथा पाठ्यपुस्तक अनुसारको शैक्षिकस्रोत र साधन भए पनि विद्यार्थीको आकर्षण भएको पाइँदैन ।


शिक्षक ओझाका अनुसार विद्यार्थीहरू कम्ती भए पनि सत प्रतिशतविद्यार्थीहरू पास हुने गरेका छन् । हाल भएका कक्षा १२ का ८ जना विद्यार्थीमध्ये कोही पनि विद्यार्थीले ग्रेड सिस्टममा बि प्लसभन्दा कम अंक नल्याएको उनले बताए ।


यसै विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरू सजिना धमला र रन्जु खनालले सबै सुविधा भए पनि होस्टल नहुँदा समस्या भएको बताए । शुल्कमा विद्यालयले छुट गरिदिएकाले आफूहरूलाई पढ्न सहज भएको उनीहरूको भनाइ छ ।


कतिपय साथीहरू विज्ञान विषय पढ्नकै लागि अन्यत्र जाने गरेको उनीहरूले बताए । जिल्लाका धेरै विद्यार्थीले विज्ञान विषय पढ्ने गरे पनि अधिकांश सुविधासम्पन्न क्षेत्रमा गएर अध्ययन गरिरहेको पाइएको शिक्षकहरूको भनाइ छ । यसलाई रोक्न फिदिम माविले यस वर्षबाट विद्यालयहरूमा गएर प्रचार गर्ने रणनीति बनाएको शिक्षक ओझा बताउँछन् ।


आफ्नो घरबाट धाउन सक्ने अवस्था नभएको र अर्काकोमा लगेर राख्दा असहज हुने भएकाले छोरीलाई अन्यत्र लगेर पठाउन बाध्य भएको फालेलुङ गाउँपालिका अभिभावक हरिप्रसाद अधिकारीले बताए । उनले छोरीलाई विराटनगरमा पढाइरहेका छन् ।


कक्षा ९ देखि सिभिल इन्जिनियरिङ

पछिल्लो समय प्रविधिक तथा व्यावसायिक शिक्षामा राज्यले जोड दिएपछि फिदिम उच्चमाविमा पनि कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गरिने भएको छ । यस वर्ष ९ कक्षाबाट सुरु भएकामा १२ कक्षासम्म पुर्‍याइने जनाइएको छ ।


कक्षा १२ सम्म विद्यार्थीले पढेपछि ओभरसियर वा त्यससरहको जनशक्ति उत्पादन हुने राज्यकै रणनिति रहेकाले यस वर्षबाट कक्षा सञ्चालन गरेको प्रध्यानधापक ठाकुरको भनाइ छ ।


अन्य विषयमा चाप

जिल्लाका नाम चलेका निजी विद्यालय नजिकै भए पनि तिनको तुलनामा तेब्बर विद्याथी उक्त उच्च माविमा पढिरहेका छन् । एउटै कक्षामा १ सय ८० जनासम्म पठन पाठन गराउनुपर्ने अवस्था छ । शिशु कक्षाबाट कक्षा १२ सम्म नेपाली र अग्रेजी माध्यममा पठन पाठन हुने गरेको छ ।


हाल कक्षा १ देखि ५ सम्म अग्रेजीमा मात्र पठनपाठन हुन्छ । त्यस्तै ६ देखि ८ सम्म अंग्रेजी माध्यम र नेपाली गरेर ३ वटा सेक्सन छन् । कक्षा ९ मा भने तीन सेक्सनले पनि नभ्याउने अवस्था भएपछि आफ्नै विद्यालयका कक्षा ८ का विद्यार्थीलाई पनि प्रवेश परीक्षा लिनुपर्ने बाध्यता विद्यालयमा छ । कक्षा ११ र १२ मा पनि स्रोत र साधनले नभ्याउने विद्यार्थीहरू जिल्लाका विभिन्न क्षेत्रबाट आउने भएकाले प्रवेश परीक्षा लिने गरेको विद्यालयले जनाएको छ ।


–ज्ञानु घिमिरे

प्रकाशित : वैशाख ९, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?