निजी विद्यालय छाडेर सामुदायिकमा

कान्तिपुर संवाददाता

धनकुटा — डेढ घण्टाको उकाली ओराली काटेर विद्यालय धाउँदै आएकी ४ कक्षामा अध्ययनरत ९ वर्षीया मुना कार्की अब केहीबेरमैै विद्यालय पुग्ने भएकी छन्  । घरैनजिकबाट आफ्नै विद्यालयको बस चल्न थालेपछि उनलाई सजिलो भएको हो  ।

टुनीबोटे गाउँदेखि विद्यालय धाउँदा अब विगतको जस्तो घण्टौ समय खर्चिन नपर्ने भएपछि उनी दंग छिन् । उनीमात्र होइन महालक्ष्मी नगरपालिकाको जीतपुरस्थित जनता माध्यमिक विद्यालयका अधिकांश छात्रछात्रा, अभिभावक र शिक्षकमा खुसी छाएको छ । सामुदायिक विद्यालयमा जिल्लामै स्कुल बससेवा सञ्चालन गर्ने पहिलो विद्यालय बनेको छ, जनता माध्यमिक विद्यालय । विगतमा झन्डै डेढ घण्टा पैदल हिडेर विद्यालय जाने गरेकी ५ कक्षाकी छात्रा दिपाश्ना अधिकारीलगायत पनि खुसी छन् ।


विद्यालयले आइतबारदेखि औपचारिक रूपमा बस सञ्चालन थालनी गरेको विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले जताए । विद्यार्थीमा लेखपढ गर्ने बढी समय उपलब्ध हुने र आतेजाते गर्न सहज बनाउन बस खरिद गर्नुपरेको उनी बताउँछन् ।

शिक्षा विभागबाट जिल्लाकै उत्कृष्ट नमुना जिल्लाको रूपमा चयन गरेपछि प्राप्त गरेको रकम सदुपयोग गरेर २५ लाख रुपियाँमा गाडी किनेको उनले जानकारी दिए । विभागले प्रविधिमैत्री विद्यालय सञ्चालन गर्न यस वर्ष डेढ करोड रुपियाँ उपलब्ध गराएको प्रधानाध्यापक भट्टराईले जनाए ।

उक्त रकममध्ये भन्सार छूट सुविधाबाट बस किनिएको छ । उक्त विद्यालयमा ७ किलोमिटर पैदल दूरीबाट समेत विद्यार्थी पढ्न जाने गरेका छन् । विगतमा विद्यालयबाट घर पुग्दा सा“झपख मात्र पुगिने गरेको र बिहान हतार गरेर विद्यालय जानु पर्दा लेखपढ गर्ने समय कम हुने गरेको छात्रा दिपाश्नाले बताइन् ।


‘अब बस चढेर सबै साथीसँग विद्यालय जान पाइने भएपछि खुसी लागेको छ’, उनले भनिन्, ‘घामपानीको पनि चिन्ता नहुने, छिट्टै घर पुग्न पाइने भएपछि पढ्न लेख्न धेरै समय मिल्ने भएको छ ।’

५ कक्षाका छात्रा युवराज सुवेदीले पनि अब डेढ घण्टा टाढा पैदल हिडेर विद्यालय धाउनु नपर्ने भन्दै खुसी व्यक्त गरे । बढीमा १० मिनेटमै गाडीबाट विद्यालय पुग्न सकिने उनले बताए । अधिकांश ग्रामिण बस्ती समेटेर बनाइएको नगरपालिकाका मध्यक्षेत्रका बालबालिका उक्त विद्यालयमा पढ्न जाने गरेका छन् । स्थानीय ढोडे, टुनिबोटे, आन्दु्रकलगायत गाउँका बालबालिका बस सेवाबाट बढी लाभाम्वित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण तुम्बाले बताए ।


दृश्य सामग्रीबाट पठनपाठन, बस सेवा र तालिमप्राप्त विषयगत शिक्षकबाट पढाइ थालिएपछि उक्त विद्यालयमा निजी विद्यालयबाट समेत ह्वात्तै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक भट्टराईले बताए । यसै शैक्षिक सत्रमा हालसम्म ३५ भन्दा बढी विद्यार्थी निजी विद्यालय छाडेर भर्ना भइसकेको उनले बताए । उक्त विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : वैशाख ११, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्

चित्र र मूर्तिलाई संगीत

कान्तिपुर संवाददाता

काठमाडौं — चित्र, मूर्ति अनि संगीत । कलाका यी भिन्नभिन्नै माध्यमले दिने आनान्द भने एउटै । नेपाल आर्ट काउन्सिलमा सोमबार दिउँसो गायिका सुजाता वर्माले जब ‘रंगीचंगी फूलमा भवरा गीत सुनाउँछन् ...’ दर्शक/श्रोताले यस्तै महसुस गरे । सिर्जना कलेज अफ फाइन आर्टसले काउन्सिलमा गरिरहेको ‘सिर्जना अ कलेक्सन आर्ट सो २०१९’ कला प्रदर्शनीलाई साथ दिन सुजाताले शास्त्रीय सांगीतिक प्रस्तुति दिएकी हुन् ।

‘संगीत सुन्दै गर्दा पनि मस्तिष्कमा दृश्य आउन सक्छ, त्यस्तै दृश्यको माध्यम चित्रमा पनि रंगहरूको लय हुन्छ, संगीत हुन्छ,’ सुजाताको गायकीको प्रशंसा गर्दै शास्त्रीय संगीतका गुरु रमेश पोखरेलले भने, ‘दुवैले दिन आनन्द हो । हामी आनन्दित भयौं ।’

सुजाताको गायन र शास्त्रीय संगीतको बारेमा बोलका पोखरेलले शास्त्रीय संगीत भन्नेबित्तिकै भारतीय संगीत भन्ने बुझाइ अपूरो रहेको तर्क गरे । ‘भर्खरै सुजाताले गाएको गीत हाम्रै पहाडको आवाज जस्तो लाग्छ,’ पोखरेलले प्रस्ट पार्दै भने, ‘यो हाम्रो सभ्यताको संगीत हो ।’ उनले शास्त्रीय संगीत नेपालीको पनि मौलिक संगीत हो भनी स्थापित गर्न लाग्नुपर्ने बताए ।

पोखरेलले सभ्यताको कुरा गर्दैगर्दा मूर्तिकार चन्द्रश्याम डंगोलले नेपाली सभ्यता चिनाउन आफूले परम्परागत मूर्तिकला गर्दै आएको बताए । प्रदर्शनीमा मूर्तिकार डंगोलले चैत्य, सिंह, गरुड र कछुवाको मूर्ति राखेका छन् । डंगोल भन्छन्, ‘हाम्रो परम्परागत कलाले नै नेपाललाई विश्वमा चिनाएको छ, हामीले सवर्द्धन गर्दै जानुपर्छ ।’ त्यस्तै चित्रकार कृष्ण मानन्धरको ‘ट्री सिरिज’ मा थुप्रै मौसमको प्रभावलाई विभिन्न चित्रहरूमार्फत प्रस्तुत गरिएको छ । उनले विभिन्न मौसममा फेरिने रूखका रूपहरू देखाएका छन् । उनी भन्छन्, ‘मैले रूखको माध्यमबाट जीवनलाई पूर्णतामा प्रस्तुत गर्न खोजेको छु ।’

सुजाताको एकल गायन भनिए पनि दर्शकले कर गरेपछि पोखरेल पनि नगाइरहन सकेनन् । माहोल झनै संगीतमय बन्यो । उनले ‘चैत मास बेली फुल्यो ...’ बोलको सेमी क्लासिकल गीत सुनाए । ‘गीत गाउनुपर्ने मान्छेलाई प्रिन्सिपल बनाइदिएका छन्,’ उनले बीचबीचमा किस्सा सुनाउँदै दर्शकलाई थप रोमाञ्चित बनाएका थिए । सुजाताले राग दुर्गामा आफ्नै पिता संगीत साधक विनय वर्माको कम्पोजिसन रहेको ‘रंगीचंगी फूलमा भवरा गीत सुनाउँछन्, ...’ सँगै राग वागेश्वरीमा चतुरंगी प्रस्तुत गरिन् ।

उनलाई तबलामा टंकन दास, हार्मोनियममा श्री केसी र तानपुरामा गायिका सुगमा गौतमले साथ दिए । वैशाख ६ गतेदेखि सुरु भएको प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, प्रिन्ट, फोटोग्राफी, डिजिटल आर्ट, संगीत, नृत्य र भोकल पर्फरमेन्सको सामूहिक प्रदर्शनी जारी छ ।

प्रदर्शनीमा अग्रज चिक्रकार शशीवित्रम शाहको ‘द कल्की’, वत्सगोपाल वैद्यको ‘दश अवतार’, मदन चित्रकारको ‘प्रज्ञा–द ट्रान्ससेन्डेन्टल नलेज’ कृष्ण मानन्धरको ‘ट्री सिरिज’, श्यामलाल श्रेष्ठको ‘फेस्टिभ मुड’ लगायतका चित्र देख्न सकिन्छ । यस्तै, शारदामान श्रेष्ठ, सौरगंगा दर्शनधारी लगायतका कलाकारको प्रतिस्थापन कला, चन्द्रश्याम डंगोललगायतको मूर्तिकला अवलोकन गर्न सकिन्छ ।

राधेश्याम मुल्मी, राजेश गौतम, शरद रञ्जित, अशोकमान सिं, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, निलम ताम्राकार, सुनील रञ्जित, गंगाधर सारु, प्रकाशरत्न शाक्य, सम्झना राजभण्डारी, भावना मानन्धर, मनीषलाल श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, विजय महर्जन, सुर्जमुनि शाक्य, दावा ओमु लामाका सिर्जना पनि प्रदर्शनीमा छन् । बिहीबारसम्म चल्ने प्रदर्शनीमा मंगलबार चर्या गीति नृत्य प्रस्तुत गरिनेछ भने बुधबार केही सदाबहार नेपाली गीतहरू र बिहीबार पर्फरमेन्स आर्ट प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

कलामा मनोचिन्तन
दुनियाँ रंगीन छ । एक युवकलाई भने रंगिन दुनियाँले पटक्कै छोएको छैन । ऊ आफैँभित्र हराएर सोचमग्न छ । अस्थिर मनले घरी प्रकृतिभित्र हराइरहेको छ भने घरी जंगली जनावरसँगै कुदिरहेको छ । प्रदर्शनीमा राखिएको कलाकार रोशन भण्डारीको एउटा चित्रले मानिसको मौन मानसिक चिन्तनको यस्तै भाव झल्काइरहेको थियो । प्रदर्शनीमा राखिएका भण्डारीका समकालीन चित्रहरू व्यावहारिक रूपमा अहिलेका मान्छेको मानसिक अवस्थाको चित्रण गर्ने
खालका छन् ।

‘अहिले मानिसको भीड जति बढिरहेको छ, त्यति नै उनीहरू एकान्तमा हराइरहेका छन् । शरीर एकठाउँमा हुन्छ, उसको मन र सोचाइ अर्कैतिर हुन्छ,’ भण्डारीले यही थिमलाई समातेर चित्र कोरेको बताए । चारकोल माध्यमका दुइटा क्यानभासमा पनि एउटामा एक महिला एकान्तमा मौन छिन् । उनको वरिपरि शान्त र मनोरम प्रकृति छ ।

त्यही प्रकृतिमा उनको शरीर स्थिर छ तर उनी आफैँभित्र अस्थिर देखिन्छिन् । त्यस्तै अर्को क्यानभासमा एक युवकको साथमा किताब छ तर उनको ध्यान अध्ययनतिर छैन । उनी प्रकृतिको प्राणी र चराचुरुंगीबारे सोचमग्न छन् । उनको मानसपटलमा उडेका, झोक्रिरहेका चराहरू आइरहेका छन् । भण्डारीका अनुसार मानिसको मनोविज्ञान र चिन्तनमा प्रकृतिको निकट सम्बन्ध रहन्छ ।

प्रकृति सुन्दर, मनोरम छ भने उसले त्यस्तै कुराको कल्पना गर्न थाल्छ । यदि कोलाहल र वातावरण अशान्त भएमा उसको दिमाग त्यतैतिर मोडिएर अनेक तरंगमा तरंगित हुन थाल्छ । उनी भन्छन्, ‘मानिसको जीवनलाई नजिकबाट नियाल्दा उसँग विभिन्न भोगाइ, सोचाई र चिन्तन हुन्छ । उसले ती सबै कुराहरू बाहिर नदेखाए पनि भित्र आफैँसँग सञ्चार गरेर ऊ मनकै माध्यमबाट विभिन्न ठाउँको यात्रा गरिरहेको हुन्छ । यही पक्षलाई नै मेरो क्यानभासमा उतार्ने कोसिस गरेको छु ।’

‘कुनै पनि विषयलाई कलामार्फत दुरुस्तै क्यानभासमा उतार्न कलाकार त्यही विषयवस्तुमा डुबेको हुन्छ,’ अर्का चित्रकार लक्ष्मण भुजेल भन्छन्, ‘मानसिक चिन्तन र अवस्थालाई क्यानभासमा उतार्न सजिलो छैन । आफूलाई बिर्सेर पात्रको मनोभावनाभित्र छिरेर वास्तविक तथ्य बोध गर्नुपर्छ र मानिसको जीवन पद्धतिलाई नजिकबाट नै नियाल्नुपर्छ ।’

प्रदर्शनीमा मानव र चिन्तनको सम्बन्धलाई प्रगाढ देखाउन कलाकार तारा तामाङको आमाको गर्भमा मौन रहेको एउटा शिशुको क्यानभासले अझै सघाउ पुर्‍याएको छ । मानव समाजमा महिलाको स्वरूप विभिन्न क्षेत्रमा महत्त्वपूर्ण छ भन्ने झल्काउने भावना मानन्धरले उतारेको क्यानभास त्यतिकै सुन्दर छ । बिहीबारसम्म चल्ने प्रदर्शनी अर्न्तगत मंगलबार सुलोचना गोपालीले चर्या गीति नृत्य प्रस्तुत गरेकी थिइन् भने बुधबार केही सदाबहार नेपाली गीतहरू र बिहीबार पर्फरमेन्स आर्ट प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT