‘हिरासतमा मृत्यु त्रुटिपूर्ण’

कान्तिपुर संवाददाता

विर्तामोड — झापा मेचीनगर ६ काकडभिट्टाका १५ वर्षीय बालक किरण कार्कीढोली (दर्जी) को हिरासतमा मृत्यु भएको १० दिनपछि झापाका राजनीतिक नेतृत्वले मुख खोलेका छन्  । राजनीतिक दलका अगुवाले मंगलबार हिरासतमा मृत्यु हुनु नै त्रुटिपूर्ण रहेको बताए  ।

नेपाली कांग्रेसका नेता देउमान थेबेले हिरासतमा बालकको मृत्यु हुनु दुःखद् रहेको बताउँदै सिंगो पार्टी संवेदनशील बनेको बताए । उनले पत्रकारहरूले सम्प्रेषण गरेको सूचनाका कारण हिंसा भड्किन सक्ने भन्दै समाचार नलेख्न पत्रकारलाई निर्देशन दिएका थिए । तर, छलफलमा सहभागी पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले थेबेको भनाइप्रति आपत्ति जनाउदै पत्रकारलाई समाचार लेख्नै रोक लगाउने अधिकार दलका नेताहरूलाई नभएको बताएका थिए ।


कांग्रेसका सभापति उद्धव थापाले पनि हिरासत मृत्यु घटनालाई पार्टीले गम्भीरताका साथ लिएको भन्दै बालक हिरासतमा किन मर्न बाध्य भयो, छानबिनबाट सत्यतथ्य बाहिर आउने जनाए । नेकपाका नेता देवेन्द्र दाहालले हिरासतमा मान्छे मारिनु राम्रो नभएको भन्दै कसरी घटना भयो, प्रहरीको त्रुटि कहाँ भयो भनेर खोजी गरिनुपर्ने बताए । नेकपाका जिल्ला सचिव विजय साम्पाङले घटना ज्यादै संवेदनशील रहेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गर्न नहुने बताए । अधिकारकर्मी टीका मग्रातीले इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी सुवास खडकालाई निलम्बन, दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति लगायतका माग राखेका थिए । तर, त्यसबारेमा दलहरूले चासो दिएनन् । बरु प्रहरीकै पक्षमा कुरा राखे । अधिकारकर्मी विष्णु खरेल, रूपक खनाल, वीरु दर्नाल, छविलाल विश्वकर्मालगायतले प्रहरीका विभिन्न गतिविधिले घटना शंकास्पद देखिएको बताएका थिए ।

मानव अधिकार आयोग आएन
घटना भएको १० दिन बित्दा पनि राष्ट्रिय मानव अधिकार आयोगको कुनै प्रतिनिधि नआएको भन्दै अधिकारकर्मीहरूले आपत्ति जनाए । दलित अधिकारकर्मी टीका मग्रातीले यस्तो गम्भीर घटनाको अध्ययनका लागि आयोग गम्भीर नबनेको बताए । घटनालगत्तै स्थलगत अवलोकन गर्न सक्दा सत्य तथ्य कुरा बाहिर ल्याउन सघाउन पुग्ने मग्रातीले बताए । आयोगको प्रदेश कार्यालयका प्रमुख मोहनदेव जोशीले भने प्रहरीसँग कागजात मगाएर अध्यनन सुरु गरेको जनाए ।

‘हामी फिल्ड मात्रै आउन नसकेको हो, अध्ययन सुरु भइसकेको छ,’ उनले भने । यसैबीच नया“ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र लेखक खगेन्द्र संंग्रौलाले घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बस दुर्घटना'

डीआर पन्त

डडेल्धुरा — भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।


३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यवसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् भने ५ जना सख्त घाइते छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा बझाङ तल्कोट-४ का ४४ वर्षीयका धनबहादुर घर्ती , केदारसिंह गापा-५ का २५ वर्षीय नरेन्द्र गुरुधामी , तल्कोट-५ का ५५ वर्षीया कलशी देवी गुरुधामी ,केदार गापा-५ का हरुली बोहरा, भारत बिहारका २५ वर्षीय मोहम्मद नसीर रहेका छन्।

ट्रफिक प्रहरी प्रमुख कृष्ण किरण चन्दले दिएको जानकारी अनुसार अत्याधिक भारका कारण दुर्घटना भएको हो। ना६ख १८३१ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ५ बजेतिर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

धनगढीबाट मंगलबार साँझ ४ बजेतिर हिँडेको बस १३ घण्टा पछि डडेलधुराको साहुखर्क पुगेको देखिन्छ। अत्तरियादेखि ४ घण्टामा पुग्न सकिने दुर्घटनास्थल पुग्न निकै समय लागेको बसका यात्रु बझाङ कोटभैरवका धर्मसिंह रोकायाले बताए। उनले भने, 'व्यवसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको समानको विषयमा विवाद हुँदा अत्तरियामा मात्र ३ घण्टा बस रोकिएको थियो। अत्तरियामा रहेका ट्रफिक प्रहरीसँग सेटिङ मिलाएपछि राति अबेर बस हिँडेको थियो।'

प्रकाशित : वैशाख ११, २०७६ १०:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT