कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शृंखलाबद्ध हत्या,फेला परेनन् अपराधी

नगर क्षेत्रमा शृंखलाबद्ध रुपमा आपराधिक घटना भइरहदा पनि प्रहरी प्रशासनले सुरक्षामा चासो नदेखाएको भन्दै मोरङको पथरी शनिश्चरेमा स्थानीयको प्रदर्शन, दिनभर तनाव
विनोद भण्डारी

विराटनगर — मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा शृंखलाबद्ध रूपमा आपराधिक घटना भइरहँदा पनि प्रहरी प्रशासनले सुरक्षामा चासो नदेखाएको भन्दै स्थानीयले प्रदर्शन गर्दा मंगलबार दिनभर तनाव भयो  । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका थिए  ।

शृंखलाबद्ध हत्या,फेला परेनन् अपराधी

प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेर भीड तितरवितर पारेको थियो ।

प्रदर्शनकारीले पथरी नगरपालिका र उद्योग वाणिज्य कार्यालयमा ताला लगाएर यातायात अवरुद्ध गरेका थिए । स्थानीयले सोमबार पनि प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप हुुँदा प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्यास प्रयोग गरेको थियो ।

प्रदर्शनकारीका प्रतिनिधि, प्रहरी नायब उपरीक्षक नवराज ढुंगाना र नगर प्रमुख दिलीपकुमार राईबीच भएको वार्तापछि यातायात सञ्चालन भएको थियो । घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्ने र दोषी पत्ता लगाई कानुनी कारबाही गर्ने सहमति वार्तामा गरिएको थियो ।


पथरी शनिश्चरे १ त्रिवेणी चोकको साझा लाइनमा डेरा गरी बस्ने एसआरएस कस्मेटिक एन्ड गिफ्ट हाउस सञ्चालिका रिना बस्नेतको गत शनिबार रहस्यमय मृत्यु भएको थियो । प्रहरीले गम्भीर रूपमा अनुसन्धान नगरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।

स्थानीयवासी सडकमा उत्रिएपछि प्रहरीले रिनासँग पटकपटक टेलिफोन सम्पर्कमा रहँदै आएका सुन्दर हरैचा ३ का कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । वैशाख ६ गते राति पथरीमा भएको सांगीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे फर्किएकी बस्नेत भोलिपल्ट बिहान आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रूपमा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला परिनसकेको बताउँदै आएको छ । तर स्थानीय र उनका आफन्तले नियोजित हत्या भएको दाबी गरेका छन् ।

रिनाका जेठाजु दुर्गाबहादुर बस्नेतले कसैले उनको टाउकोमा प्रहार गरी हत्या गरेको दाबी गरेका छन् । रिनाको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आएको छैन । रिनाका पति सन्तोष वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।

शृंखलाबद्ध आपराधिक घटना हुँदा पनि प्रहरी प्रशासनको अनुसन्धान फितलो भएको र शान्ति सुरक्षामा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ । पथरी नगरकी उपप्रमुख यमुना विष्ट बा“स्तोलाको अगुवाइमा संविधानसभा सदस्य चण्डीप्रसाद राईसहितका जनप्रतिनिधिको टोलीले इलाका प्रहरी चौकीका प्रमुख निरीक्षक कमल बजगाईंलाई गम्भीर हुन सुझाएको थियो । बजगाईंले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि वास्तविकता बाहिर आउने बताए ।

यसअघि नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरी शनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकामा चोट लागेको र घोप्टो परेको अवस्थामा राति सडकमा शव फेला परेको थियो ।

त्यसअघि सुस्त मनस्थितिकी रमा बरालको पथरी बजार क्षेत्रको पीपलबोट चोकमा शव फेला परेको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा वनमा पथरी शनिश्चरे १ का २५ वर्षीय गोविन्द दर्नालको पनि हत्या भएको थियो । त्यही स्थानमा अर्का एक अज्ञात व्यक्तिको पनि हत्या भएको थियो । ती घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

त्यस्तै नगरको जिरीखिम्ती टोलभन्दा पश्चिम उत्तरको जंगलमा झापाकी एक महिलाको शव फेला परेको थियो । पथरी प्रहरीकै कार्यक्षेत्रभित्र कानेपोखरी जंगलमा भारतीय एक महिलाको शव पनि हत्या गरेको अवस्थामा फेला परे पनि कोही पक्राउ परेका थिएनन् । नगरमा एकपछि अर्को शंकास्पद हत्या भए पनि प्रहरीले अनुसन्धानमा गम्भीरता नदिएपछि प्रहरी प्रशासनविरुद्ध सडकमा उत्रिनुपरेको स्थानीयले बताए ।

पथरी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हर्ट नामक संस्थाको अगुवाइमा स्थानीयले प्रहरी र नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाउँदै पथरी उद्योग वाणिज्य संघकी पूर्वउपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिएको छ ।


उनीहरूले सुन्दरहरैंचाका एक युवाले रातिसम्म बारम्बार फोन गरेको रिनाका छोरा साइमनले जनाए पनि उनलाई अनुसन्धानको दायरामा नल्याइएकोप्रति स्थानीय आक्रोशित बनेका थिए । त्यसपछि प्रहरीले नेपाललाई नियन्त्रणमा लिएको थियो । सुन्दरहरैंचा घर भएका प्रेमी भनिएका नेपालले राति अबेरसम्म आमालाई फोन गरेको र उनी दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले बताउँदै आएका छन् ।

प्रकाशित : वैशाख ११, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?