कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बस्तीमा बाँदरको उपद्रो

धनकुटा — बारीमा मकै छर्दै गरेको बेला बाँदरले हातैबाट खोसेर बिउ नै लगेपछि धनकुटा ४ का एक कृषक छक्क परे । गोरु जोतेर मकै छर्न लाग्दा बाक्लो वस्तीको बीचमा रहेको बारीमा बाँदरले बिउ खोसेर लगेको कृषक दुर्गा श्रेष्ठले बताए । 

वर्षौदेखि ग्रामीण क्षेत्रका स्थानीयले बाँदरबाट सास्ती खेप्नु परेकामा पछिल्लो समय धनकुटा बजार आसपासका बस्तीमा पनि ‘बाँदर आतंक’ नै हुने गरेको स्थानीय बताउँछन् । बढो बाँदरको सास्ती अन्त्य गर्न अघिल्लो वर्ष धनकुटा नगरपालिकाले लागि १० लाख बजेट नै विनियोजन गरेको थियो ।


तर, उक्त प्रयास निरर्थक सावित भएको स्थानीयको भनाई छ । ‘बारीमा फलफूलदेखि अन्न, तरकारी बालि नष्ट गर्दै आएका बाँदर पछिल्लो समय घरघर पसेर आतंक मच्चाउन थालेको छ’, श्रेष्ठले भने, ‘यस्तै हो भने के उब्जाउनु के खान ु?’ त्यसो त, धनकुटाका ग्रामिण क्षेत्रका सर्वसाधारण विकासका योजनासंगै बाँदर नियन्त्रणको माग लिएर जनप्रतिनिधिसामु धाउने गरेका छन् ।


धनकुटा ६ आत्मारा गाउँका धनप्रसाद राई त बाँदर आतंकबाटै बसाइँ नै सरुॅ कि कसो गरौं भनेर रुमल्लिएको बताउँछन् । उनलाई गाउॅघरमा सडक, खानेपानीको मात्र चिन्ता छैन, सबैभन्दा ठूलो चिन्ता बाॅदरले दिएको सास्तीबाट कसरी उन्मुक्ति पाउँने भन्ने रहेको बताए । उनले यति सास्ती खेपेका छन् कि, गत वर्ष आफ्ना जनप्रतिनिधि सामु बाँदर बिरुद्ध उजुरी नै दर्ता गरेका थिए ।


‘बिहान उठेदेखि बेलुकीसम्म अरू काम छोडेर बाँदर लखेट्न बारीमा टिन ठटाएर बस्नुपरेको छ’, उनले भने ‘बालीनाली पनि रहँदैन, हातमुख जोड्ने बाटो नै बाँदरले खोसिदेला भन्ने पिरलोमा छौं ।’ अधिकांस गाऊँमा बाँदरबाट सर्वसाधारण आक्रान्त बनेको देब्रेबासका चत्र रानाले बताए ।


स्थानीयले बाँदर लखेट्न नै घरमा जनशक्ति तयारी अवस्थामा राख्दै आएको उनको भनाइ छ । धनकुटा नगरपालिका ६ हर्कटारका रनपाल राईले १६ रोपनी जग्गामा बाॅदरले उदण्ड मच्चाएपछि बालीनाली नै लगाउन नपाएको गुनासो पोखे ।


बाँदर आतंकको गुनासो चुलिएपछि नगरपालिकाले बाँदर पक्रन सिपालु जनशक्ति ल्याएर केहि समय अभियान नै थालेको थियो । ६ नं.वडाले त आर्थिक वर्ष २०७४/०७५ मा वडा परिषदबाट नै ‘बाँदर स्थानान्तरण कार्यक्रम’ कै शिर्षक पारित गरेर यससम्बन्धी कार्य सुरु गरेको थियो ।


बाँदर पक्रन छुट्याएको रकम अपुग भएपछि थप ५ लाख विनियोजन गरिएको नगरपालिका स्रोतले जनाएको छ । अघिल्लो वर्ष धनकुटाबाट कम्तिमा ६ सय बाँदर अन्यत्र स्थानान्तरण गरिएको दाबी गरिएको छ । तर, त्यत्तिको संख्यामा स्थानान्तरण गरिएको भए पछिल्लो अवस्था अझ बढ्दो रूपमा नहुने स्थानीयको गुनासो छ । धनकुटा नगरपालिका २, ३, ४, ५ र ६ वडामा बाँदरबाट स्थानीयले बढी सास्ती खेप्नु परेको छ ।


अघिल्लो वर्षको नियन्त्रण प्रयासले केहि कमि भएको कचिन्डेको निरोज पोखरेलले बताए । तर, विगतको भन्दा फरक प्रजातिको बाँदर देखापरेको उनको भनाइ छ । पक्रिएका बाँदर कहाँ लगेर छोडिएको थियो भन्ने कसैलाई पत्तो छैन ।


यहाँबाट अन्यत्र लगिएपनि अन्यत्रका बाँदर फेरि यहाँका जंगलमा ल्याएर छोडिएको स्थानीयको आशंका छ । भारतको उत्तर प्रदेशबाट बाँदर ८ जना व्यक्ति ल्याइएको थियो । उनीहरूलाई बाँदर पक्रिएबापत प्रतिबाँदर १ हजार ५ सय रुपैयाँ दिइएको थियो ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?