२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नगरका विद्यालयमा स्थानीय पाठ्यक्रम

अर्जुन राजवंशी

विर्तामोड — झापाको बिर्तामोड नगरपालिकाले नगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । ‘आचरण सचेतना’ शिक्षा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य गरिएको हो ।

नगरका विद्यालयमा स्थानीय पाठ्यक्रम

विद्यार्थीलाई घरपरिवार, छरछिमेक, साथीभाई, आफन्त, शिक्षक, आफूभन्दा ठूला र सानासंगको बोलीबचन, मानभाव, व्यवहार सिकाउन ‘आचरण सचेतना’ शिक्षा लागू गरेको नगर शिक्षा अधिकृत युवराज पाण्डेले जानकारी दिए । उक्त शिक्षाबाट विद्यार्थीलाई सभ्य र संस्कारी बनाउन सकिने उनको विश्वास छ ।


‘समाजमा विकृति बढ्दै गएको छ । बालबालिकाको बोलीबचन, बानी व्यवहार विग्रिदै गएको छ,’ पाण्डेले भने, ‘नयाँ पुस्ताका ७/८ बर्षका बालबालिकालाई यो शिक्षा दियौं भने भविष्यमा गलत बाटोमा जानबाट उनीहरूलाई रोक्न सकिन्छ । हाम्रो समाजअनुसार संस्कारी बनाउन सकिन्छ ।’


पाठ्यक्रममा व्यावहारिक शिक्षासंगै धार्मिक ज्ञान, संस्कार, संस्कृति, परम्परागत रितीरिवाज, धार्मिक सहिष्णुता, बाटो प्रयोग गर्दा अपनाउनुपर्ने ट्राफिक नियम, जैविक खानाको महत्व तथा विषादीयुक्त खानाबाट हुने नोक्सानीलगायत विषयवस्तुहरूलाई समेटेको उनले बताए ।


पाठ्यक्रमअनुसार विद्यार्थीलाई प्रयोगात्मकसहितको शिक्षा प्रदान गरिने छ । नगरभित्र १८ सामुदायिक र ५२ संस्थागत (निजी) विद्यालय छन् । ती सबै विद्यालयका कक्षा ३ र ४ का विद्यार्थीलाई ‘आचरण सचेतना’ शिक्षा दिनका लागि अहिले दुई सय पाठ्यक्रम र करीब १० हजार पाठ्यपुस्तक छपाईको क्रममा छ ।


‘आचरण सचेतना’ पाठ्यक्रममा पोषण, स्वास्थ्य, योग, स्थानीय लोकबाजा, सञ्चार, प्रविधि, वातावरण, प्राकृतिक प्रकोप, प्रदुषण नियन्क्रण, व्यत्तित्व विकासबारे पनि शिक्षा प्रदान गरिने फाठ्यक्रम निर्माण तथा लेखन समिति सदस्य एवं स्रोत व्यत्ति केशरबहादुर खवासले बताए ।


‘नैतिकवान र सभ्य समाज निर्माणका लागि यो पाठ्यक्रम निकै महत्वपूर्ण छ,’ खवासले भने, ‘प्रयोगात्मक रूपमै विद्यार्थीलाई शिक्षा दिन सकिने गरी पाठ्यक्रम निर्माण गरिएकाले यो शिक्षा प्रभावकारी र नतिजामुखी हुनेमा हामी विश्वस्त छौं ।’ पाठ्यक्रमका कारण विद्यार्थीले आफ्नो घर, गाउँ र समाजको तथ्यांकगत जानकारी राख्न सक्ने उनले बताए । नगरपालिकाले सामुदायिक विद्यालयहरूलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने छ ।


नगरभित्रका संस्थागत विद्यालयले भने पाठ्यपुस्तक छपाईको लागत तिरेर पुस्तक लान सक्ने व्यवस्था गरेको अधिकृत पाण्डेले बताए । सामुदायिक र संस्थागत दुवैमा ‘आचरण सचेतना’ पाठ्यक्रम नेपाली भाषामै अध्यापन हुने उनले बताए । यो विषयका लागि छुट्टै शिक्षकको आवश्यकता नपर्ने उनले बताए । ‘हामीले विद्यालयमा भएकै शिक्षकलाई तालिम दिएर यो विषय पढाउन सक्ने बनाउने छौं’ उनले भने, ‘विद्यार्थीले बुझ्न र सिक्न सक्ने गरी प्रोजेक्टरको प्रयोग, स्थलगत अवलोकन तथा भ्रमण पनि गराउने छौं ।’


विद्यालयमा पढेका तथा सिकेका कुराहरूलाई आफ्नो दैनिक जीवनमा लागू गराउन विद्यार्थीसंगै अभिभावकलाई पनि आचरण सचेतनाको ज्ञान दिने पाण्डेले बताए । यस क्रममा नगरपालिकाले मोहनमाया मावि, शुक्रराज आधारभूत विद्यालय र लक्ष्मी नारायण प्राथमिक विद्यालयका अभिभावकलाई नैतिक तथा व्यवहारिक ज्ञान दिने कार्य सम्पन्न गरेको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?