प्रदेशसभा सचिवमा पराजुली नियुक्त 

लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेशसभा सञ्चालन तथा प्रशासनिक नेतृत्वका लागि भन्दै बिहीबार प्रदेशसभा सचिवको नियुक्ति गरिएको छ । प्रदेशका प्रमुख सचिवले पाउने बराबरको सेवा सुविधा र तहसहित लामो समयसम्म निजामती सेवामा काम गरी सेवानिवृत्त हुनै लागेका गोपालप्रसाद पराजुलीलाई उक्त पदमा नियुक्त गरिएको हो ।

प्रदेशसभा सचिवमा पराजुली नियुक्त 

सभामुखको सिफारिसमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पराजुलीलाई प्रदेशसभा सचिवमा नियुक्त गरेका हुन् ।


पराजुली प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिव पदमा कार्यरत थिए । आउने भाद्र महिनामा उमेर हदका कारण सेवानिवृत्त हुन लागेका पराजुलीले राजीनामा दिएर आएका हुन् । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका पराजुली ४१ वर्ष पहिला निजामति सेवामा प्रवेश गरेका थिए । नियुक्तिसँगै बिहीबार नै प्रदेशसभा सचिवालयमा एक समारोहबीच सभामुख प्रदीपकुमार भण्डारीले पद गोपनियताको शपथ खुवाएका छन् । शपथ ग्रहणलगत्तै पराजुलीले पदभार ग्रहण गरे ।


नेपालको संविधानको धारा १९५ (१) अनुसार सभामुखले पराजुलीलाई यसअघि सचिवमा नियुक्तिको सिफारिस गरेका थिए । प्रदेशसभाले 'प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन' बनाएर प्रदेशसभा सचिवको नियुक्त गरेको हो । प्रदेश सभामा निजामति तर्फका सचिवसमेत रहने छन् ।


प्रकाशित : वैशाख १२, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?