गुराँसे जंगलको यात्रा, तोङबा र सुकुटी खान्की

चन्द्र कार्की

तेह्रथुम — बास बस्दै वसन्तपुरमा हिउँ खेल्न आउँ कि 
घाम झुल्किएको हेर्न मेन्छ्यायेम डाँडा जाउँ कि
दर्शन गर्न चैत्य गुम्वा सिद्धकाली पाथीभरा
भारी बिसाई थकाई मार्नु हेर्दै चौकी हराभरा 
शान्त स्वच्छ निर्मल गुफा पोखरीको पानी 
धर्तीमा एउटा यही हो गुराँसको राजधानी..

गुराँसे जंगलको यात्रा, तोङबा र सुकुटी खान्की

आकर्षक पर्यटकीय गन्तव्य चौकी, गुफापोखरी अनि वसन्तपुरका नाममा यस्ता धेरै लोकभाकाका गीत, कविता अनि गजल सिर्जना भएका छन् । यिनै स्थानलाई आधार वनाएर धेरै लेखकले आफ्ना सृजनाहरूमा यी पर्यटकीय क्षेत्रको वर्णन गर्दै आएका छन् । सर्जकहरूले यिनै सेरोफेरोमा रहेर यस स्थानको बयान गरिरन्छन् । पछिल्लो समय यी स्थानको चिनारी अर्को थपिएको छ ।


यस क्षेत्रको मौलिक चिनारी दिने गरी कोदोबाट बनाइएको तोङबा र मासुको सुकुटी यस क्षेत्रमा घुम्न आउनेहरूको रुचिको खान्की बन्दै गएको छ । तराईको अत्याउने गर्मीबाट केही समय भए पनि छलिन चार घण्टाको सवारी साधनको यात्रापछि बाह्रै महिनाजसो चिसो रहने ठाउँ वसन्तपुर आइपुग्छन् । यहाँबाट शुरु भएको उनीहरूको यात्रा थप एक दिनअघि संखुवासभाको गुफा बजारसम्म पुगेर रोकिन्छ । यी स्थानसम्म आएका पारखीहरूको खान्की यहाँको तोङबा र सुकुटी हुने गर्छ ।


अधिकांश समय बादलले ढाक्ने यी स्थानमा आएकाहरू यस क्षेत्रको प्राकृतिक सौन्दर्य देखेर भुतुक्कै हुन्छन् । अघिल्लो वर्ष जस्तो योपटक जंगल नै राताम्मै हुनेगरी गुराँस नफुले पनि जति फुलेका छन्, ती फुलले यहाको सौन्दर्य झनै रमाइलो बनाएको छ ।


स्थानीयहरू तोङबालाई जाडो भगाउने ‘भित्रीकोट’ भनेर ठट्टा गर्छन् । पदयाक्राका त्रममा घरी घरी भुर्इँकुहिरो खुल्दा पारीपटी देखिने कुम्भकर्ण, मकालु, कञ्चनजंघा र ठूलो क्षेत्रफलमा फैलिएको गुराँस वनको दृश्यको अवलोकन गर्ने अवसर यहाँ आएकहरूलाई जुर्ने गर्छ ।


वसन्तपुरदेखि गुफा बजारसम्मको पदयात्रामा निस्कीएकाहरूले प्रत्येक जसो साना ठुला होटलमा काठका भाँडामा पित्तल र तामाले मोरेर बनाइएका कलात्मक भाँडा देख्न सक्छन् । यी भाँडाहरू तोङबाकै लागि कुँदेर बनाइएका हुन् । पहिले सवारीसाधन नचल्दा यस भेगका वासिन्दाले धरानदेखि नुन लगायतका खाद्यान्न वोकेर ल्याउदा बास बस्नका लागि वसन्तपुर, चौकी र गुफामा वनाईएका गोठहरू अहिले आएर वर्षमा हजारौं पर्यटक तान्ने गन्तव्य बनेका छन् । पुर्वका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमका बासिन्दाले धरानदेखि पिठ्युमा नुन वोकेर आउँदा बास बस्ने स्थान भएकैले पछि आएर वसन्तपुर नाम रहन गएको वुढापाकाहरूको भनाइ छ ।


वसन्तपुरदेखि गुफा बजारसम्मको पदमार्गले कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आरोहण पदमार्गको प्रतिनिधित्व गर्छ । वसन्तपुरमा सुकुटीको साथमा तोङबा पिएर गएको जोकोही बेलुकी वास बस्ने बेलाको तोङबा पिउन रमणीय चौकी बजार पुग्छ ।


‘यो पदमार्गमा तोङबा नबनीने होटलनै छैनन्’ वसन्तपुरको याक होटलका सञ्चालक पेम्वा भोटियाले भने । तोङबा र सुकुटीकै कारण धेरै होटलहरू चलेको उनले बताए । यस क्षेत्रका याक, दार्जीलिङ, ताप्लेजुङ, मिलन, लालीगुराँस, बसन्तपुर भ्युलगायत नाम चलेका होटलहरूको मुख्य खान्की नै रसिलो तोङबा र सुकुटी हुने गर्छ । कोदोलाई उसिनेर मर्चा हालेर केही दिन गुम्स्याइन्छ । स्थानीय भाषामा यो कार्यलाई ‘ओथारा’ राख्ने भनिन्छ । त्यसपछि पित्तलले सजाइएको कलात्मक काठको भाँडामा पहिले गुम्स्याइएको कोदो हालेर तातो पानी हालेपछि रसीलो तोङबा तयार हुन्छ ।


चिसो मौसममा शरीर तताउने र गर्मीमा तिर्खा मेट्ने तोङबा नियमित पिउनेहरू शरीरलाई स्वस्थ राख्ने पेय पदार्थको रुपमा समेत लिने गर्छन् । त्यसैले यसअघि तोङबाको स्वाद थाहा पाइसकेकाहरू वसन्तपुर आइपुग्ने बित्तिकै चियाको सट्टा तोङबा नै पिउन थाल्छन् ।


दार्जीलिङको मध्य कागझोडाका बमबहादुर तामाङ वर्षमा एकपटक सुकुटीको साथमा तोङबा पिउन र यस क्षेत्रको प्राकृति सौन्दर्यमा रमाउन परिवारको साथमा आउँछन् । ‘यहाँ आएर तोङबा पिउनुको स्वादै छुट्टै छ’ कलात्मक काठको भाँडोमा लेकमा पाईने सानो बाँसको सुईरोले तान्दै तोङबाको स्वादको बखान उनले गरे ।


बसन्तपुरदेखि गुफा बजारसम्मको स्थानीय होटलमा बनाइएको स्वादिलो तोङबा र सुकुटीको स्वाद देशका ठूला राजनीतिक पार्टीका केन्द्रीय स्तरका नेता तथा उपल्लो तहमा रहेका कर्मचारीहरूले समेत बेलाबखत यहाँ आउँदा चाख्न भ्याएका छन् । भारतको बिहारबाट नजिकको दुरीमा रहेको यसक्षेत्रमा तोङबाको स्वादमा रमाउन आउनेहरूको जमात प्रत्येक दिनजसो देखिन्छ । तराईबाट आएकाहरू यहाँका बजारहरूलाई विश्रामस्थलका रूपमा लिने गर्छन् ।

प्रकाशित : वैशाख १४, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?