२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘मुन्धुम ट्रेल’ पदमार्ग सुरु

डम्बरसिं राई

खोटाङ — ‘मुन्धुम’ किराती मिथकअनुसार संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । यसैलाई पदमार्गका रुपमा विकासित गरेर पर्यटन प्रवर्द्धनको सुरुवात भएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभालाई आधार बनाएर ‘मुन्धुम ट्रेल’ पदमार्ग तय गरिएको छ ।

कैलाशबाट झरेको दूधकोसी नदीमा स्नान गरेर विश्वप्रसिद्ध हलेसी, किरात उत्पत्तिको ऐतिहासिक थलो तुवाचुङ–जायजुम, पर्यापर्याटनको केन्द्रविन्दु रुपाकोट हुँदै तीन हजार एक सय ६५ मिटर अग्लो टेम्केडाडाँ, तीन हजार तीन सय ५० मिटर अग्लो मैयुडाँडा, चार हजार एक सय ५५ मिटर अग्लो सिलिचुङडाँडा, तीन हजार सात सय ५० मिटरको सालपा पोखरी लगायतका रमणीय गन्तव्य तय गरिएको छ ।


यो पदमार्ग करिब एक सय किलोमिटरको हुने छ । यसका लागि दुई साता जति लाग्ने छ । यो पदमार्ग किराती समुदायको बसोबास गर्ने ठाउँहरूमा भएकाले किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम ट्रेल नाम राखिएको पर्यटन अभियान्ता रमेशकुमार राईले बताए ।


यो पदमार्ग किराती समुदायका लागि महत्वपूर्ण भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको राईले सुनाए । हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउँने पर्यटकहरूका लागि डाडैडाडाँ थकानको महसुस समेत नहुने गरी हिँडिरहुँ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमशृङ्खला र तराईका भू–भागहरू समेत अवलोकन गर्न सकिने छ ।


ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाँडाहरूको शीर छिचोल्दै विभिन्न प्रजातिका गुराँस, विविन्न जडीबुटीहरू तथा घना जंगलहरू अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र लोपोन्मुख तथा विभिन्न जङ्गली जनावरहरूसंग लुकामारी खेल्न पाइने छ ।


सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाइ छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’


राईले भने ‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’ यो पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले ५० लाख, पर्यटन बोर्डले १० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले ५० लाख गरी यो वर्ष एक करोड दश लाख बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा यो क्षेत्रमा सूचना पार्टी, विभिन्न संकेतहरू राख्न सुरु गरिएको छ ।


यसका साथै हाँसपोखरी नागीमा पाहुना घर समेत बन्दै गरेको राईले सुनाए । यसको प्रचार प्रसार र पर्यटकहरूलाई आकर्षित गर्न पहाडी उच्च भागमा हुने साहसिक प्रतियोगिताहरू (अल्ट्रा म्याराथुन, स्काई रेस, माउण्टेन साइक्लिङ, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्यारा ग्लाइडिङ गर्ने गरी पाँच करोड ८५ लाखको बजेट प्रस्ताव सहित गुरुयोजना बनाइएको राईले सुनाए ।


यो पदमार्ग आसपासका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतका पर्यटनविद्हरू सहभागितामा मुन्दुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलनसमेत गरिएको छ । सम्मेलनमा सहभागीहरले ‘सुनको अण्डा पार्ने कुखुरा’ को संज्ञा दिँदै यसको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित : वैशाख १५, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?