थुम्का थुम्कामा चिया बगान

विप्लव भट्टराई

इलाम — थुम्का थुम्कामा मौलाएको चियाबगानले भरिएको पानीटार पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । इलामको पर्याय बनेको चियाले कन्याम, अन्तु, इलाम बजार मात्र हैन पानीटारले पनि चियाकै आकर्षणले पर्यटक तान्न थालेको हो ।

थुम्का थुम्कामा चिया बगान

देउमाई नगरपालिका–३ मा रहेको रमणीय चियाबारीले जो कोहिको मन छुने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको यो क्षेत्र प्रसार प्रचारको अभावमा भने अझै पनि पछि परेको छ । इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान साढे चार सय रोपनीमा फैलिएको छ ।


‘अझै पनि पानीटारको विषेशता बारे धेरैलाई थाहा छैन,’ देउमाई–३ का वडाध्यक्ष दावा तामाङले भने, ‘तर पनि आगन्तुक थपिदै गएका छन् ।’ चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदानले पनि धेरैको रोजाइमा पानीटार पर्न थालेको हो । झट्ट हेर्दा कन्यामको झल्को दिने पानीटार क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान हो ।


पर्यटक तान्न सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । देउमाई नगरपाालिकाको मंगलबारे भन्दा ३ किलोमिटर टाढाको पानीटार आसपास होमस्टे व्यवस्थापन पनि सुरु भएको छ ।


पानीटारसहित त्यस क्षेत्रका धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन् । ‘सडकको अवस्था सुधार हुँदै गएकाले पनि यस क्षेत्रमा आउनेहरू थपिँदै गएका छन्,’ मंगलबारेस्थित होटल भिन्तुनाका सञ्चालक विक्रम श्रेष्ठले भने, ‘पानीटार, गुफाथुम्की, जटेश्वरधामलगायत क्षेत्रमा आउने आगन्तुकका लागि हामीले ठूलै लगानी गरेका छौं ।’


पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्त्वपूर्ण छ ।


जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका छन् । पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन् । दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र छन् । यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने स्थानीय सुवास घिमिरेको भनाइ छ । पानीटार क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थालाई थप गर्नुपर्ने देखिएको छ ।


चियाबारीभित्र ठाउँठाउँमा बस्न र रमाइलोका लागि गोलघरहरू निर्माण गरिएको छ । सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ । झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको चाम बढ्दै गएको छ ।


मेचीराजमार्गको लामो फेरोको विकल्पमा करिब ५६ किलोमिटरमा झापाको बिर्तामोडबाट सिधै पानीटार पुग्न सकिन्छ । यो सडक पक्की भए पानीटारसँगै यस क्षेत्रका समग्र पर्यटन स्थलमा पर्यटक बढ्नेमा स्थानीय आशावादी देखिन्छन् ।

प्रकाशित : वैशाख १५, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?