विद्यालयलाई नमुना बनाइँदै

विद्यालयलाई नमुना बनाएर लाने भन्दै स्थानीयवासी नै अग्रसर भएपछि हामीले गर्नुपर्ने सबैखाले सहयोग गरिरहेका छौं : उपमेयर
अर्जुन राजवंशी

बिर्तामोड — पढाई स्थगित हुने अवस्थामा पुगेको बिर्तामोड नगरपालिका ९ स्थित सहिद लक्ष्मी प्राथमिक विद्यालय जोगाउन स्थानीय अभिभावक जुटेका छन्  । विद्यार्थी संख्या कम भएपछि मर्ज वा पढाई स्थगित गर्न लागिएको विद्यालयलाई अभिभावकको पहलमा ‘नमुना’ बनाउन थालिएको हो  ।

विद्यालयलाई नमुना बनाइँदै

०६६/६७ अघि विद्यालयमा विद्यार्थी संख्या ७० बढी थियो । तर, विद्यालय व्यवस्थापनको कमजोरी र पढाईको गुणस्तर खस्किदै गएपछि उक्त संख्या गत बर्ष ३७ जनामा झरेको थियो । विद्यार्थी संख्या न्यून भएपछि नगरपालिकाले विद्यालयबाट ४ र ५ को कक्षा कटौती गर्ने निणय गरेको थियो । आसपास अर्को विद्यालय छैन । बस्ती बाक्लो छ ।

विद्यालय अगाडिको बाटो हुँदै दैनिक १० वटा बोर्डिङ स्कुलका बस चल्छन् । तर, सीमान्तकृत सन्थाल र विपन्न राजवंशीका छोराछोरीलाई उक्त विद्यालयमा पढाउनुको विकल्प छैन । अभिभावकको आग्रह र पहलमा जनप्रतिनिधि, नगरपालिका र विभिन्न दाताको सहयोगमा अहिले नमुना विद्यालय बनाउने कार्य भइरहेको छ । ‘विद्यालयलाई नमुना बनाएर लाने भन्दै स्थानीयबासी नै अग्रसर भएपछि हामीले गर्नुपर्ने सबैखाले सहयोग गरिरहेका छौं,’ नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंले भनिन् ।

अभिभावक र स्थानीय जुटेपछि अहिले संघीय बजेटबाट १६ लाख र नगरपालिकाबाट ९ लाख रुपैयाँको लागतमा दुई कोठे विद्यालय भवन निर्माण गरिदैछ । वडा ९ कार्यालयको २ लाख तथा स्थानीय प्रकाश बुढाथोकीलगायतका युवाको सहयोगमा ५ लाख रुपैयाँको लागतमा पक्की घेराबार गरिदैंछ ।

विद्यालयमा रंगरोगन गरिएको छ । बाल कक्षा सजाउने कार्य भइरहेको छ । विद्यालयमा एलइडी टिभी, विभिन्न खेल सामग्री, अन्य शैक्षिक सामग्री खरिद गर्ने कार्य पनि भइरहेको प्रधानाध्यापक वीरेन्द्र बुढाथोकीले जानकारी दिए । यो बर्ष विद्यालयमा विद्यार्थी संख्या एक सय पुर्‍याउने लक्ष्य राखिएको छ ।

बुधबारसम्म ८४ विद्यार्थी भर्ना भइसकेको नगर शिक्षा अधिकृत युवराज पाण्डेले बताए । नमुना विद्यालय बनाउन विद्यालयमा गोरखाबाट आएका ‘शैक्षिक यात्री’ अर्जुन भट्टले २ महिनायता निःशुल्क सेवा गरिरहेका छन् । उनले विद्यालयको शैक्षिक वातावरण मिलाउने, नमुना विद्यालयका लागि आवश्यक सूचकांक पूरा गर्ने गरी मापदण्ड बनाउने, शिक्षकलाई तालिम तथा परामर्श दिने, विभिन्न दाताको खोजी गर्ने, विद्यालय परिसरभित्र अपनाउनुपर्ने अनुशासनको पालना गराउनेलगायत कार्य गरिरहेका छन् ।

भट्टले उक्त विद्यालयलाई नमुना बनाउने गरी दुई बर्षसम्म निःशुल्क सेवा गर्ने बचन दिएको अधिकृत पाण्डेले बताए । विद्यालय ०५१ मा स्थापना भएको थियो । ‘गर्दा हुन्छ भन्ने मनोबलका साथ गाउँको गुम्न लागेको विद्यालयलाई जोगाउन लागिपरेका छौ,’ स्थानीय प्रकाश बुढाथोकीले भने, ‘सांसद, नगरका जनप्रतिनिधि, स्थानीयबासी, अभिभावक सबैको पहल र क्रियाशीलतामा विद्यालयलाई नमुना बनाउने गरी भौतिक निर्माणका काम गरिरहेका छौं । आशा गरौं अबदेखि शैक्षिक गुणस्तर पनि सुधार होला ।’ उनले अन्य सबै पक्ष ठीक भएपनि पढाई गुणस्तरीय नभएकै कारण विद्यालय खारेजीसम्मको अवस्थामा पुगेको सुनाए ।

विद्यार्थी जुटाउन घरदैलो
पाँचथर (कास)– विद्यार्थी जुटाउन हिलिहाङ गाउँपालिकाले झर्ना योजना कार्यक्रमअन्तर्गत घरदैलो कार्यत्रम सञ्चालन गरेको छ । कतिपय बालबालिका विद्यालय बाहिरै रहेको र कतिपयले बीचमा कक्षा छाड्ने गरेकाले अभिभावकसँग छलफल गर्न घरदैलो कार्यक्रम गरिएको हो ।गाउँपालिका अध्यक्ष भवानीप्रसाद लिङदेनका अनुसार गाउँपालिकाभरि ४४ विद्यालय सञ्चालन भए पनि विपन्न अभिभावकका छोराछोरी अझै पनि पढन आउन नपाएकाले घरदैलो कार्यक्रम गरिएको हो ।

पहिलो चरणमा प्रध्यानधापकसहितको टोली स्थानीयका घरदैलोमा पुग्ने छन् दास्रो चरणमा गाउँपालिका प्रमुखसहितका जनप्रनिनिधि घरघर गएर विद्यालयबाट बञ्चित बालकालिकालाई भर्ना गर्ने उदेश्य रहेको जनाइएको छ । गाउँपालिकाका अधिकांश विद्यार्थी सुरुमा विद्यालयमा भर्ना हुन आए पनि बीचमा कक्षा छाड्ने प्रवृत्ति बढेपछि पालिकाले अभिभावकसँग छलफल थालेको छ । पाउँपालिकाका १७ विद्यालयमा अग्रेजी माध्यममा पठनपाठन भइरहेको छ ।

यसपालिबाट गाउँपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पहिलो चरणमा कक्षा नर्सरी र कक्षा १ मा पठनपाठन गरिने भएको छ । यसका लागि शिक्षकलाई १० दिनको तालिम दिइने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले बताए ।

प्रकाशित : वैशाख १७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?