ग्रामथान बन्यो मुलुककै पहिलो बालविवाह मुक्त गाउँपालिका

देवनारायण साह

मोरङ — ग्रामथान गाउँपालिका मुलुकमा पहिलो बालविवाह मुक्त गाउँपालिका भएको छ । मङ्गलवार वडा ६ र ७ लाई बालविवाह मुक्त घोषणा भएसँगै उक्त गाउँपालिका बाल विवाह मुक्त भएको हो । कूल ७ वटा वडा रहेको ग्रामथानका वडा नम्बर १ देखि ५ सम्म गत आर्थिक वर्षमा नै बालविवाह मुक्त घोषणा भइसकेको थियो ।

ग्रामथान बन्यो मुलुककै पहिलो बालविवाह मुक्त गाउँपालिका

ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको विकास र संरक्षणले मात्रै गाउँपालिकाको परिवर्तन सम्भव भएकाले लगानी बढाएको बताए ।


‘आदिवासी, विपन्न, गरिब बाहुल्य हाम्रो गाउँपालिकामा सानै उमेरमा बालबालिकालाई विवाह गरिदिने चलन थियो,’ उनले भने, ‘सानै उमेरमा विवाह गरिदिँदा पढाइबाट वञ्चित हुनुका साथै अपरिपक्व उमेरमा नै जिम्मेवारी बढ्ने, बच्चा जन्माउनाले शरीर कमजोर हुने लगायत समस्याले आर्थिक, सामाजिक रूपमा कमजोर बन्ने जस्ता असर हुन थियो ।’


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद पौडेलले करिब ४ हजारभन्दा बढी घरधुरी रहेको ग्रामथानका ७ वटै वडाका प्रत्येक घरधुरीले आ आफ्ना परिवारमा बाल विवाह नगर्ने भन्दै प्रतिबद्धता पत्रमा स्वेच्छाले हस्ताक्षर गरेको बताए ।


‘यसअघि यस गाउँपालिका अन्तर्गतका तेतरीया गाविस मुलुकमै पहिलो बालमैत्री गाविस घोषणा भएकोले पनि यस क्षेत्रका सर्वसाधारण बालबालिकाको सवालमा बढी सचेत देखिन्छन्,’ उनले भने, ‘त्यसैले प्रत्येक वडालाई बालविवाह मुक्त गर्न सहज भएको हो ।’

प्रकाशित : वैशाख १७, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?