कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

निर्माण क्षेत्रमा सक्रिय महिला मजदुर

सन्दर्भ : मजदुर दिवस
सुम्निमा चाम्लिङ

धरान — निर्माण क्षेत्रका काममा अधिकांश पुरुष डकर्मी भेटिन्छन् । महिला सहयोगीको भूमिकामा देखिन्छन् । निर्माण क्षेत्रमा सहयोगीको भुमिकालाई महत्त्वपूर्ण मानिन्छ । वर्षौदेखि निर्माण क्षेत्रमा बिताएका महिलासमेत डकर्मी नबनी अवकाश पाएका छन् । महिला डकर्मी बनेको विरलै पाइन्छ ।

निर्माण क्षेत्रमा सक्रिय महिला मजदुर

केही वर्षअघिसम्म महिला डकर्मीको रूपमा स्वीकार गर्न अप्ठ्यारो मान्ने समाज अचेल महिला डकर्मीलाई विश्वास गर्न थालेका छन् । धरान १७ नमुना बस्तीकी २५ वर्षीया सीमा बयलकोटी डकर्मी हुन् । कक्षा २ सम्म मात्र अध्ययन गर्न पाएकी सिमालाई डकर्मी बन्छु भन्ने कहिल्यै लागेन । डकर्मी बन्नुअघिको उनको कथा बेग्लै छ ।


बुवा मुटुको बिरामी । दुई जना बहिनी र भाइ । निर्माण क्षेत्रबाट आउने आमाको कमाइले घरखर्च धान्न मस्किल भएपछि उनले घर निर्माण क्षेत्रमा प्रवेश गरेकी थिइन् । कामको सुरुका दिनहरूमा अग्ला अग्ला घरमाथि इँटा बोकेर पुरर्‍याउनु, घामपानी नभनी बालुवा छान्ने काम गर्नु उनका लागी कम गाह्रो थिएन ।


'घामपानीमा काम गर्दा जीउ ढल्न खोज्थ्यो । मसला बनाउदा हात पटपट हुन्थ्यो । इँटा बोक्दा कपाल झरेर पातलो भएको थियो ।' उनी भन्छिन्, 'सुरुका दिन सम्झँदा दुःख लाग्छ । तर आज यही कामबाट चिनाउन पाउँदा भने खुसी लाग्छ ।'


सीमा अचेल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म घर बनाउने काममा व्यस्त हुन्छिन् । घर निमार्णको क्रममा इँटा लगाउनु, रड बाँध्नु, पर्खाल टाल्नु उनको दैनिकी हो । उनी गएको ठाउंमा महिला मिस्त्रीले काम गरेको भन्ोर हेर्ने गरेको बताउँछिन् । मजदुरी गरेको एक वर्षपछि उनले मिस्त्रीको काम सुरु गरेकी हुन् । 'मिस्त्रीले गरेको काममा मन लगाएर हेर्थे । काममा सघाउँदा खुसी लाग्थ्यो । रहरको कारण विस्तारै मिस्त्री बन्न सके ।'


डकर्मी पेसालाई थप निर्खाने उनको इच्छा छ । पुरुष मिस्त्रीहरूको हौसलाको कारण मिस्त्री बन्न सफल भएको उनी बताउँछिन् । महिला मिस्त्री धरानमा सीमा मात्र एक्लो भने होइन । आजभोलि धरानका महिलाहरू डकर्मी पेसामा आकषिर्त हुने क्रम छ । 'घर बनाउने काममा महिला मिस्त्रीहरू देख्दा खुसी लाग्छ । अझै धेरै केटी मान्छेहरू डकर्मी बनोस् भन्ने लाग्छ,' उनी भन्छिन् ।


उनले मिस्त्रीको काम थालेको सुरुका दिनमा समाजले खासै पत्याएनन् । तर अहिले भने त्यही समाजले उनलाई गुहार माग्ने गरेको छ । उनी घरको पहिलो मिस्त्री मात्र होइन । धरानमा डकर्मी महिलाहरूको नाम लिँदा नछुट्ने नाम हो । 'केटाहरूले मात्र मिस्त्रीको काम गर्न सक्छ भन्ने सोचको कारण केटीहरूले आँट गर्न सकेको छैन । काम एउटै हो । मेहनत साथ सिक्न सकिन्छ ।' उनी भन्छिन् । सुरुका दिनमा मजदुरी गर्दा दैनिक ३ देखी ४ सय रुपैयाँ पाउने गर्थीन् ।


हाल मिस्त्री भएपछि दैनिक ९ सयदेखि १ हजारसम्म ज्याला पाउने गरेकी छिन् । न्युनतम मासीक २० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छिन् । मिस्त्री भएपछि आम्दानी समेत दोब्बर बढेको छ । परिवारको घरखर्चमा सघाउन पाउँदा खुसी लाग्ने उनी बताउँछिन् । पेसाको सम्मान भएकोमा थप हौसला मिलेको उनले बताइन्् । डकर्मी बन्न चाहने महिलाहरूलाई आफूले जानेको सीप लगाउने उनको ठूलो इच्छा छ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?