२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

श्रीअन्तुमा घरबास

'पाहुनाले अर्गानिक खानेकुरा रुचाउने गर्छन्, भरसक आफ्नै बारी तथा स्थानीयस्तरमा उपलब्ध हुने खानेकुरा खुवाउने गरेका छौं'

इलाम, श्रीअन्तु — चारैतिर चियाबारीले हरियाली छाएको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा चिटिक्क परेका घरबास -होमस्टे) ले पाहुनालाई आकषिर्त गरेका छन्  । मन लोभ्याउने सत्कार र घरेलु वातावरणले यहाँ आउने पाहुनालाई झनै प्रभावित पार्छ  ।

श्रीअन्तुमा घरबास

डेढ दशकअघिसम्म फाटफुट मात्र रहेका घरबास पछिल्लो समय बढेको छ । सूर्योदय नगरपालिका ४ र ५ वडामा ४२ घरबास सञ्चालनमा छन् । सबैको मन मिलेकै कारण श्रीअन्तुको मनोरम वातावरणमा घरबास सुविधा फस्टाउँदै गएको होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आलेको भनाई छ ।

मगर, तामाङ लगायत जातिको मुख्य बसोबास रहेको अन्तुमा समावेशी ढंगले सबै समुदायको सहभागितामा होमस्टे सञ्चालनमा छ । सुरुमा धनकुमार आले मगर, एकराज घिमिरे, टेकबहादुर आले, राम घिमिरे, देव प्रधान, र अनु तामाङले होमस्टे थालनी गरेका थिए ।
पछिल्लो समय प्राय घरैपिच्छे यो सुविधा छ ।

खासगरी कात्तिकदेखि पुस महिनामा झुल्केघाम अवलोकन गर्न प्रसिद्ध श्रीअन्तु पछिल्लो समय होमस्टेले पनि चर्चा कमाउँदै गएको स्थानीय दिनेश आलेले बताए । होमस्टे सञ्चालक समेत रहेका आलेका अनुसार तराईमा गर्मी बढेपछि पनि श्रीअन्तुमा पाहुनाको भीडभाड हुन थालेको छ ।

खासगरी पाहुनालाई कसरी सत्कार गर्नुपर्छ भन्ने जानकार भएका स्थानीयले मौलिक संस्कृति र घरायसी वातावरण उपलब्ध गराएकै कारण आफूहरू सफल रहेको दावी गर्छन् । तर, सुरुमा खानाको परिकार र पाहुना आकर्षणबारे आवश्यक कलाकौशल नहुँदा अप्ठेरो महसुस गरेको स्थानीय अनु तामाङले बताइन् । आफ्नो भान्सामा जे पाक्छ त्यही खान दिने गरिए पनि पछिल्लो समय पाहुनाको माग अनुसार खाना उपलब्ध गराउन थालिएको छ ।

आवश्यक तालिम र सीपले पनि व्यावसायिक हुन सघाउ पुर्‍याएको अनु बताउँछिन् । 'पाहुनाले बढी अर्गानिक मौलिक खानेकुरा रुचाउने गर्छन्' उनले भनिन्, 'भरसक आफ्नै बारी तथा स्थानीय स्तरमा उपलब्ध हुने खानेकुरा दिने गरेका छौं ।' होमस्टेबाटै खर्च कटाएर मासिक ७० हजारदेखि एक लाखसम्म आम्दानी हात पर्ने स्थानीयले बताए ।

होमस्टेमा खासगरी कोदो, फापरको रोटी, सिस्नुको तरकारी, मकैको भात, गुन्द्रुक, सिन्की, तथा पेय पदार्थ बढी रुचाइने सञ्चालक कसुम आलेले बताईन् । आफैले खाने खाना पाहुनालाई दिँदा त्यसैबाट राम्रै आम्दानी मिलेको उनको भनाइ छ ।

तर, पछिल्लो समय ग्राहकले एटेज बाथरुम तथा अन्य खानेकुराको माग समेत गर्न थालेका छन् । ग्राहकको माग अनुसार व्यवस्थित सौचालय बाथरुम व्यवस्थापन गर्न वाध्य भएको स्थानीय कुमार आले बताउँछन् । श्रीअन्तुमा वाषिर्क औषत डेढ लाख पर्यटक होमस्टेमा बास बस्न जाने गरेका छन् । तर, सूर्योदय नियाल्ने सिजनमा सबैभन्दा बढी पर्यटक जाने होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमारले बताए ।

मनोरञ्जन र त्यस क्षेत्रको पर्यटकीय स्थलको जानकारीका लागी सूचना केन्द्र समेत अन्तु भन्ज्याङमा स्थापना गरिएको छ । पाहुनालाई स्वागत र बिदाई गरिने चलनले अपनत्व महसुस गराएको झापाबाट पुगेका दीपक काफ्ले बताउँछन् ।

तर, पछिल्लो समय होमस्टेको नाममा होटल र बारको झल्को दिने व्यवसायले पनि प्रश्रय पाएको पाहुनाको गुनासो छ । काफ्लेले होमस्टेका नाममा कंक्रिटका ठूला भवन र आधुनिक साजसज्जा तथा भोजन देख्दा होमस्टेको मौलिकपन ओझेलमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

प्रकाशित : वैशाख १८, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?