१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

श्रम ऐन कार्यान्वयन गराउन नसक्नु सरकारको लाचारीपन: नेता केसी

अर्जुन राजवंशी

बिर्तामोड — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले चिया श्रमिकहरु एक महिनादेखि आन्दोलनमा रहेपनि सरकारले श्रम ऐन कार्यान्वयन गराउन नसक्नु यो सरकारको लाचारीपन भएको बताएका छन् ।

श्रम ऐन कार्यान्वयन गराउन नसक्नु सरकारको लाचारीपन: नेता केसी

उनले ऐन कार्यान्वयनका लागि श्रमिक सडक आन्दोलनमा रहेपनि सरकारले नदेखेजस्तो गर्नु दुःखद भएको बताए । उनले श्रमिकहरुका बारे धेरै हावादारी र भ्रमपूर्ण भाषण नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे ।


‘चिया श्रमिक ३३ दिनदेखि सडक आन्दोलनमा छन् । प्रधानमन्त्री भने अब श्रमिकले आन्दोलन गर्नु पर्दैन । हामीले ऐन बनाएर लागू गरिसकेका छौँ भन्छन्’ केसीले भने,‘प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्लाका श्रमिकको आन्दोलन नदेख्ने ? ऐन बनाए भनेर भाषण गर्ने, तर कार्यान्वयन गराउनेतिर ध्यान नदिने ?’ उनले प्रधानमन्त्रीको हावादारी र भ्रमपूर्ण कुराहरुले सरकारप्रतिको जनताको विश्वास गुमेर गएको बताए ।


बिहीबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले प्रधानमन्त्री ओलीलाई भाषणभन्दा काम गर्नेतिर ध्यान दिन सुझाव दिए । ‘हावादारी गफ गरेर काम देखाउनु पर्दैन । काम गर्नुस् जनताले आफैँ देख्छन्’उनले भने ।


केसीले सरकार भ्रष्टाचारी, भूमाफिया र अपराधीलाई संरक्षण दिने कार्यमा अघि बढेको आरोप लगाए । ‘सुन काण्ड, वाइडबडी, बालुवाटारको जमिन कब्जा, निर्मला हत्याजस्ता दर्जनौँ घटना भईसक्दासम्म सरकार किन चुप छ । किन कारबाहीतर्फ अघि बढ्दैन ?’उनले भने,‘किन भने सरकार भ्रष्टाचारी, भूमाफिया र अपराधीलाई संरक्षण दिन व्यस्त छ ।’


उनले बालुवाटारको जमिन प्रकरणमा जुन पार्टीको जोकोही संलग्न भएपनि सरकारले सबैलाई कारबाही गर्ने हिम्मत राख्नुपर्ने बताए । केसीले कांग्रेस महासमिति बैठकले पारित गरेका एजेण्डा पार्टी सभापतिले मानेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रकाशित : वैशाख १९, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?