कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगविहीन जमिनमा कृषि अनुसन्धान केन्द्र

विप्लव भट्टराई

इलाम — आँखाले भ्याएसम्म नाङगो मात्र देखिने माइजोगमाई र सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी क्षेत्रको रौनक अचेल छुट्टै छ । उत्तरी जौबारीमा रहेको आलु विकास केन्द्र ३ दशकपछि सञ्चालनमा आउँदा त्यस क्षेत्रमा चहलपहल बढेको हो ।

प्रयोगविहीन जमिनमा कृषि अनुसन्धान केन्द्र

आलुसहित विभिन्न सागसब्जीको विजन उत्पादन गर्ने क्रमले बाँझो जमिनको उपयोग गरी अनुसन्धान केन्द्र सञ्चालनमा छ । किसानलाई उन्नत आलुको विउ वितरण गर्ने र प्राविधिक सेवा प्रदान गर्ने उदेश्यले साविक जमुना, जोगमाई र प्याङ गाविसमा रहेको ८ हजार ४ सय रोपनी जमिन र भौतिक संरचना २०४२ सालदेखि उपयोगबिहीन थियो ।


यही क्षेत्रलाई उपयोग गर्दै आलुसहित विभिन्न जातको सागसब्जीको विजन उत्पादन गर्ने र अनुसन्धान गर्ने उद्देश्यले बागवानी र राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क) ले केही वर्षदेखि काम थालेका हुन् । यहाँ उत्पादित आलुको विउ जिल्लाका विभिन्न स्थानका कृषकले व्यावसायिक खेतीमा उपयोग गर्न लैजाने गरेका छन् । स्थानीयको पटक/पटकको मागपछि केन्द्र सञ्चालनमा आएको हो ।


२९ सय मिटर आसपास रहेको यो क्षेत्रमा उत्पादन हुने आलुको विउ जुनसुकै हावापानी र भूगोलमा पनि खेती गर्न सकिने विज्ञको भनाई छ । लामो समयसम्म प्रयोगमा नआएकाले यस क्षेत्रको जमिन प्रयोगबिहीन थियो । वन जंगल पनि नहुर्किएको अवस्थामा यो जिमिनमा कृषि अनुसन्धान केन्द्र वनाउनु पर्ने या जडिवुटी खेती र अनुसन्धान केन्द्र स्थापना गरिनु पर्ने सरोकारवालाको भनाई थियो ।


वागवानीले यो वर्ष १ सय ४० मन आलु रोपेको छ । आलु गोदामसहित कार्यालय र क्वाटर भवन समेत निर्माण गरेको वागवानीले आधुनिक प्रविधिमार्फत खेती गर्दै आएको छ । नार्कले पनि भवनसहित भौतिक पूर्वाधार निर्माण गरेर अनुसन्धानलाई प्रभावकारी बनाउँदै लगेको छ ।


केन्द्र सञ्चालनमा आएपछि छाडा गाईबस्तु नियन्त्रण, त्यहाँ रहेका गोठ हटाउने तथा ढुंगा गिटी, जडिबुटी र वन पैदावार निकाल्न नदिन स्थानीयलाई सचेत गराइएको थियो । प्राविधिकसहितको टोलीले विउ आलु उत्पादनका लागि बेड बनाउने, पुराना भवनलाई बारबेरा लगाउने र नयाँ संरचना निर्माण गर्नेलगायत काम भइरहेको छ ।


दुवै केन्द्रले हरेक वर्ष खेतीयोग्य जमिन निर्माणलाई तिव्रता दिएका छन् । ठूलो मात्राको जमिन र करोडौं रुपैयाँका पूर्वाधार नष्ट भएको अवस्थामा नयाँ ढंगले कृषिको केन्द्र आएपछि खेती प्रविधिमा सुधारले हुनेमा स्थानीय पनि आशावादी छन्,' स्थानीय थुक्तेन लामाले भने, 'यसलाई अझै प्रभावकारी ढंगले सञ्चालन गरेर यस भेकका कृषकको आय आजर्नमा समेत बृद्धि गर्ने खालका कार्यक्रम ल्याउनु पर्छ ।'


भारतको दार्जिलिङ सीमावर्ती यो क्षेत्रमा व्यावसायिक ढंगले आलु र सागसब्जी उत्पादन गर्न सके बजार अभाव छैन । दार्जिलिङसँग सिधा यातायात सम्पर्क जोडिएकाले उत्पादित हरेक वस्तु दार्जिलिङदेखि सिलीगुडीसम्म पनि सहज ढंगले पुग्ने गरेको छ । जिल्लाका उत्तरी गाउँको व्यापारिक केन्द्रसमेत जौवारी भएकाले त्यस भेकका वासिन्दाले यो केन्द्रवाट प्रत्यक्ष फाइदा लिन सक्ने अवस्था छ ।


२०२४ सालमा आलु विकास केन्द्र निर्माण सुरु भएर २०३४ सालदेखि सञ्चालनमा आएको थियो । केही वर्षपछि नै केन्द्र बन्द भएपछि त्यहाको जमिन उपयोगबिहीन भयो भने दर्जनभन्दा धेरै भवन भग्नावशेष भएका छन् । जमिन र भौतिक संरचनाको पुन प्रयोगका लागि ६ पटकसम्म सरकारले अध्ययन गरेको थियो ।


कन्चनजंघा, सगरमाथालगायत हिमशृंखलासँगै नेपाल र भारतका अनेकन स्थान देख्न सकिने यो क्षेत्र जैविक विविधताले पनि महत्वपूर्ण छ । कृषि अनुसन्धान केन्द्र प्रभावकारी भए यहाँको पर्यटन व्यवसायले पनि गति लिने स्थानीय कुमार बस्नेतको भनाई छ ।

प्रकाशित : वैशाख २०, २०७६ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?