१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फड्को मार्दै इटहरी

जितेन्द्र साह

इटहरी, सुनसरी — जुँगाको रेखी राम्ररी नबस्दै जागिर गर्दै पढ्नलाई माधव भट्टराई सुनसरीको इटहरीमा पाइला राखे । निरन्तरको अथक श्रमपछि उनी हार्डवेयर पसल एवं रंग कारखानाका मालिक नै भए । एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) उत्तीर्ण उनी बिहान कलेज पनि पढाउँछन् ।

फड्को मार्दै इटहरी

हाल ३३ वर्षको उमेरमा पाइला टेकेका भट्टराईको इटहरी उपमहानगरपालिकाको बीपी चोकस्थित पसलदेखि केहीभित्र पट्टी आफ्नै घर छ ।

उनी सुनसरीको बराहक्षेत्र नगरपालिकाको कालाबञ्जरा बस्तीबाट आएका हुन् । 'दुई मुख्य सहर धरान र विराटनगर माझको इटहरी बजार हेर्दाहेर्दै व्यापार एवं पढाइको केन्द्र बन्यो,' भट्टराईले भने । यहाँ शिशु कक्षादेखि उच्च तहसम्म झन्डै दुई सय शैक्षिक संस्था छन् ।

भट्टराईले २०६६ सालमा बीपी चोकदेखि धेरै भित्र प्रतिधुर ३ लाख रुपैयाँमा किनेको घडेरीको मूल्य अढाई गुणा बढेको छ । इटहरीको मुख्य चोकमा त प्रति धुर १५/२० लाख रुपैयाँमा पनि जग्गा पाउन मुस्किल पर्छ । निरन्तर मिहिनेत गर्नेका लागि प्रशस्त अवसर भएर अन्ततः इटहरीबासी बनेको भट्टराईले बताए ।

'किनमेलका लागि यहाँकाले अन्यत्र जानु पर्दैन, सहज यातायातले गर्दा वरिपरिका गाउँ एवं नगरपालिकाबासी पनि यही आउँछन्,' उनले भने । झन्डै ३ लाख जनसंख्या भएको इटहरीमा रमाउने भट्टराई एक्ला नागरिक होइनन् । संखुवासभा, झापा र काठमाडौंमा समेत घर भएका उनका मित्र युवराज काफ्लेले यहाँ पाइला राखेपछि अन्यत्र जानै सकेनन् । अध्ययनका क्रममा तीन वर्ष काठमाडौं बसेका उनले इटहरी मोह छाड्नै नसकेको बताए ।

केही वर्षअघि २२ लाख ५० हजार रुपैयाँमा किनेको जग्गाको मूल्य चार गुणाले बढेकोमा काफ्ले मख्ख छन् । यस उपमहानगरमा यातायात तथा ट्राफिकलगायतका केही प्रदेश स्तरीय कार्यालय पनि छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पनि यहाँ भएकाले दिनहुँ १०/१२ जना बयानका लागि आउने गरेको स्थानीय बताउँछन् । 'बयान दिन आउने पनि स्थानीय होटेल/लजमा बस्ने हुनाले भ्रष्टाचार पर्यटन पनि बढेको छ,' कवि एवं स्थानीय सञ्चारकर्मी विराट अनुपमले भने ।

सारा मुलुकसँग जोड्ने पूर्वी नेपालको यातायात तथा व्यापारको केन्द्र बिन्दु बनिरहेको इटहरीले एक्कासि यति धेरै विकास गरेको होइन । 'भूकम्प, द्वन्द्व र मधेस आन्दोलनले बनेको सहर हो यो,' अनुपमले भने, 'उल्लेखीय विकास पाँच वर्ष भित्रै भएको हो ।' धरानदेखि दक्षिण र विराटनगरको उत्तरमा यो सहर पर्छ ।


अनुपमको अनुसार २०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरानबासी सुरक्षित बसाइकालागि इटहरी झरे, २०७२ को भूकम्पपछि केही काठमाडौंबासीले वैकल्पिक बसोबासका लागि यही थलोलाई रोजे । लगातारको मधेस आन्दोलनबाट पीडितले सुरक्षित बासका लागि इटहरीलाई स्थायी ठेगाना बनाएको उनले अनुभव सुनाए ।

'देशलाई जोड्ने यातायात सञ्जालसँग जुरमुराएको होटेल व्यवसायले बेजोड भूमिका खेल्यो,' उनले भने । अहिले यहाँ एक पाँच तारे होटेल निर्माणाधीन छ । प्रदेश १ कै सबैभन्दा पहिलो मल यहाँ नै बनेको हो । अहिले यहाँ चार मल, १० पार्टी प्यालेस, सबै खाले ३० वटाभन्दा बढी होटल/रेष्टुरेन्ट एवं स्तरिय खाले पाँच क्याफे छ । यहाँ चार मेडिकल कलेज बन्ने भएको छ ।

'यहाँ क्याफे संस्कृतिको नीकै विकास भएको छ,' अनुपमले भने, 'भेट, संवाद र छलफलका लागि क्याफेमै आमन्त्रण गर्ने चलन छ ।' एक दशकअघिसम्म यहाँ दुई मात्र होटेल रहेको व्यवसायी काफ्लेले बताए ।

'यातायातको विस्तारसँगै यहाँबाट पूर्वको कुनै पनि पर्यटकीय थलोमा सहजै जान सकिने हुनाले यो घुमफिर गर्न आउनेको प्राथमिकतामा पर्छ,' उनले भने, 'यहाँबाट मुलुकभर जहाँ पनि ओहोरदोहोर गर्न सजिलो भएकाले दिनहुँ होटेलहरू भरिभराउ हुन्छ, सुविधाको दृष्टिकोणले अन्यत्रभन्दा महँगो पनि छ ।'

वर्षेनी दुई हजार घरको नक्सा पास हुनु र दुई हजार घरको निर्माण हुनुले पनि मुलुकबासीको इटहरीप्रति बढ्दो आकर्षणलाई प्रष्ट्याएको मेयर द्वारिकलाल चौधरीले जनाए । उनको अनुसार सहरीकरणमा इटहरीले धरान र विराटनगरलाई उछिनेको छ ।

इटहरी बजार क्षेत्रको उत्थानले गर्दा वरिपरि पनि विकासको प्रतिस्पर्धा सुरु भएको छ ।

एकम्बा, खनार, पकली तथा हासपोसा गाविसलाई समावेश गरी २०७१ को १८ मंसिरमा इटहरीलाई उपमहानगरपालिका घोषणा गरिएको हो । मुख्यतः ब्राह्मण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान तथा थारुको बाहुल्य यो उपमहानगरमा ३३ हजार ७ सय ९४ घरपरिवार बसोबास गर्छन् ।

'इटहरी चोकसँगै वरिपरिको क्षेत्रको विकास यही ४/५ वर्षभित्र भएको हो,' इटहरी खनार बजारका युवा व्यवसायी सरोज बस्नेतले भने, 'इटहरी बजारसँगै दाँज्न त मिल्दैन तर खनार बस्तीले पनि काँचुली फेरेको छ ।' अढाइ दसक अघि र पछिको दृश्यलाई नै हेर्ने हो भने इटहरीले विकासमा फडो मारेको प्रदेश १को आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले बताए ।

'अढाई दसकअघि यहाँ पहिलो पटक जागिरको क्रममा आउँदा झुपडीहरू मात्र थियो,' स्याङ्जा भिर्कोट नगरपालिका ५ का पौडेलले भने । उनी त्यतिखेर एक गैरसकारी संस्थामा आबद्ध थिए । त्यसपछि सीटीईभीटीको जागिरे भएर दोस्रो पटक २०५८ मा आउँदा चोकमा दुईचार पक्की घर भएको उनले सम्झे ।

'अहिले पक्की घर, सपिंग मल, व्यावसायिक गृह, रेष्टुरेन्ट, क्याफे र होटेल मात्र देखिन्छ,' पौडेलले भने, 'बहुसंख्यक बासिन्दा पुर्खौली रूपले धनाढ्य होइनन्, सबैतिरबाट यहाँ झरेर श्रमबाट समृद्धितर्फ अग्रसर भएकाहरू हुन्, सरकारले पनि हातेमालो गर्दै बढीभन्दा बढीका लागि रोजगारको सिर्जना हुने वातावरण सिर्जना गर्नुपर्छ ।'

अबको १० वर्षपछि इटहरीले काठमाडौंपछिको ठूलो सहर एवं सबैभन्दा ठूलो ब्यापारिक केन्द्रको गरिमा पाउने होटेल एसोसिएसन इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । 'धेरैले उसै पनि अहिले इटहरीलाई नै प्रदेश १ को राजधानी मानिरहेकै छन्,'उनले भने, 'एक दसकपछि त देसकै दोस्रो राजधानी बनिसक्छ ।'

यो उपमहानगरका १५ हजार ब्यापारीहरूमा ६० प्रतिशत स्थानीय र ४० प्रतिशत विराटनगर तथा धरानका छन् । 'किमाथांका मार्ग खुलेपछि भारत, चीन र बंगलादेशसम्मका नागरिककालागि यो मुख्य पर्यटकीय तथा व्यावसायिक हब हुनेछ,' पराजुलीले भने ।

उनको अनुसार मोनोरेलको अवधारणा, तालतलैया फनपार्क तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको योजना अघि बढिसकेको छ । इटहरीको आफ्नै २७ कठ्ठा जग्गामा तीन अपार्टमेन्ट बनाइने सम्भावना कर्मचारी कर्मचारी सञ्चय कोषको विराटनगर शाखाका प्रमुख वीरेन्द्र पौडेलले व्यक्त गरेका छन् ।

'प्रदेश १ भरि नै अध्ययन भइरहेको छ, खोजे र रोजे जस्तो जग्गा अहिलेसम्म नभेटिएकाले इटहरीलाई प्राथमिकतामा राखेका छौं,' उनले भने, 'बोर्डबाट पारित भएपछि यो कार्यले गति लिनेछ ।' कर्मचारी सञ्चय कोषले पोखरामा बनाएको १ सय २० घरलाई नमूना आवास योजनाका रूपमा लिइन्छ ।

'यस्तै थुप्रै लगानीकर्ताहरू अवसरले भरिपूर्ण इटहरीमा नै केही गर्न चाहन्छन्,' होटेल व्यवसायी पराजुलीले भने, 'निजी क्षेत्रका लगानीकर्ताहरू दिगो राजनीतिक स्थिरताको पर्खाइमा छन्, उनीहरू यहाँ ठूलाठूला योजनामा लगानी गर्न तम्तयार छन् ।' पूर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण राजमार्गको संगम भएकोले लगानीको दृष्टिकोणले यो न्यून आर्थिक जोखिम भएको क्षेत्र मानिन्छ । 'भौगोलिक दृष्टिकोणले हिमाल, पहाड र तराई भेककै बासिन्दालाई यसले समेटेको छ,' मेयर चौधरीले भने ।

प्रकाशित : वैशाख २१, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?