कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजधानीका लागि ४ प्रस्ताव

प्रदेशसभा बैठक
‘प्रदेशका संरचना छरिँदैन’
लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ को स्थायी राजधानीका लागि आइतबार चारवटा प्रस्ताव दर्ता भएका छन्  । प्रदेश सभासचिवालयमा विराटनगरको पक्षमा २ र धनकुटाको पक्षमा २ प्रस्ताव दर्ता भएका हुन्  ।

स्थायी राजधानी विराटनगर र कार्यपालिका, ब्यवस्थापिकालगायत संरचना विराट विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने गरी सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्ताव गरेका छन् ।

उक्त प्रस्तावको समर्थकमा सांसद लिलम बस्नेत, राजकुमार ओझा, विजयकुमार विश्वास, सावीत्राकुमारी रेग्मी र यशोधा अधिकारी छन् । सत्तारुढ दल नेकपाकै धनकुटाका सांसद निरन राई प्रस्तावक र इन्द्रमणी पराजुली र कुसुम श्रेष्ठ समर्थक रहेको धनकुटा राजधानी बनाउनुपर्ने अर्को प्रस्ताव दर्ता भएको छ ।

यसैगरी विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गदै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रस्तावक रहेको अर्को प्रस्ताव दर्ता भएको प्रदेश सचिव गोपालप्रसाद पराजुलीले बताए ।


उक्त प्रस्तावको समर्थकमा कांग्रेसकै सांसद शिवनारायण गनगाई र संघिय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव छन् । यसैगरी कांग्रेसकै धनकुटाकी सांसद लिला सुब्बा प्रस्तावक र ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङगाम र संघीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा राजधानी हुनुपर्ने मागसहितको प्रस्ताव दर्ता भएको छ ।


प्रदेशसभा सचिवालयले प्रदेशको स्थायी राजधानी र नामकरणबारे प्रस्ताव आहान गरेको थियो । सत्तारुढ दलभित्रै नामको विवाद निकै चर्केपछि हाललाई थाँती राख्ने निर्णय नेकपाले गरेको थियो । मुख्यमन्त्री शेरधन राईले सबै दललाई मिलाएर एउटै प्रस्ताव लैजान प्रयास गरेका थिए ।

आइतवार दिनभर सर्वदलीय र पार्टीगत बैठक बसेका थिए । ५ बज्न केही समय बाँकी रहँदामात्र सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका संसदीय दलका बैठक बसेका थिए । हतारहतार बैठक सकेका दुबै दलले एकैपटक प्रस्ताव लिएर सचिवालयमा पुग्दा केहीबेर अस्तव्यस्त बनेको थियो ।


मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष कांग्रेस, समाजवादी फोरम लगाएतका दलहरू विच भएको वार्तामा कांग्रेसले विराटनगरलाई राजधानी तोकेर र अन्य प्रदेशका प्रसाशनीक संरचना बृहत् विराट क्षेत्रअन्तर्गतका विराटनगर, इटहरी र शुन्दरहरैंचा आसपासका क्षेत्रमा भन्ने शब्द राख्न आग्रह गरेको थियो ।

तर मुख्यमन्त्रीले कार्यापालीका, ब्यवास्थापीकालगायतका संरचनाहरू भन्ने शब्द राख्न आग्रह गरेका थिए । कांग्रेस र फोरमले त्यसलाई नमानेपछि दलहरूले आआफ्नै किसिमले प्रस्ताव दर्ता गराएका हुन् । नेकपाका प्रदेश सांसद एवं प्रदेशका इन्चार्ज भीम आचार्यले प्रदेशका संरचना एकै ठाउँमा राख्न नहुने भन्दै लबिङ गरेका थिए ।


मुख्यमन्त्री राई प्रदेशका संरचना नछरिने दाबी गर्छन् । ‘स्थायी राजधानी विराटनगर हो, प्रदेशसभा इटहरी वा अन्य जाने कुरा कदापी होइन,’ उनले भने, ‘बृहत् विराट क्षेत्रको अवधारणा ल्याएका छौं भविष्यमा स्याटलाइट सिटी निर्माण गरी त्यहाँ जान सक्छ ।’ कांग्रेसको अनुरोधमा वृहत विराट क्षेत्रको विराटनगर भन्ने शब्दलाई छाडेर सिधै प्रदेश १ को राजधानी विराटनगरमा रहने छ भन्ने प्रस्ताव दर्ता गरेको उनले बताए । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे बोलाइएको छ ।

राजधानी माग्दै धर्ना
विराटनगर– धरानलाई राजधानी बनाउन माग गर्दै धरानवासी आन्दोलित भएका छन् । राजधानीको माग गर्दै धरान उपमहानगरको नेतृत्वमा धरानका राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधिले आइतबार प्रदेश १ संसद भवनअघि धर्ना दिए । मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, विपक्षी दलका नेता राजीव कोइरालालाई धरान राजधानी बनाउनु पर्ने माग सहित ज्ञापनपत्र दिइएको छ । उक्त टोलीले केही समय ‘सिठ्ठी जुलुस’ पनि गरेको थियो ।

धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी धरानलाई प्रदेशको राजधानी घोषणा नगरे आन्दोलन जारी राख्ने बताइन् । धरानलाई राजधानी माग गर्दै धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख भण्डारीलगायते टोलीले संसद सचिवालय अगाडि नाराबाजी र धर्ना दिएको थियो ।

प्रकाशित : वैशाख २३, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?