१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

ढाका कपडा 'पहिचानको उद्यम’

मौलिक संस्कार, संस्कृति र पहिचानलाई जोगाउने उद्देश्य
सुम्निमा चाम्लिङ

इटहरी — व्यापार, व्यवसाय तथा उद्यम गर्नेहरू अधिकांशको उद्देश्य मुनाफा कमाउने र सम्पत्ति जोड्ने मात्र हुन सक्छ । यसक्षेत्रका थोरैले मात्र आफ्नो समुदाय र मुलुकको मौलिक पहिचानलाई उद्यमको रुप दिएर देश, विदेशमा फैल्याउने र त्यसैबाट आम्दामी पनि गर्ने उदेश्य राखेको पाइन्छ ।

ढाका कपडा 'पहिचानको उद्यम’

उद्यमी र व्यवसायीका भीडमा त्यस्ता सोच भएकाहरू निकै कम पाइन्छ । २८ यस्तै सोच भएकी हुन् २८ वर्षीया यमुना तुम्सा लिम्बु । उनले उद्यमीबीच बेग्लै परिचय बनाएकी छन् । धरान–१२ चतरा लाइनमा चौबिसे सम्यक ढाका बुटिक सञ्चालन गर्दै आएकी धनकुटा चौविसेकी यमुनाको सोच फराकिलो छ ।


आफूले सञ्चालन गर्दै आएको उद्यमलाई ‘नेपालको पहिचान’ मान्छिन् । आफ्नो मौलिक संस्कार संस्कृति र पहिचानलाई जोगाउनुपर्दछ भन्ने मान्यता राख्ने उनले ढाका उद्योग स्थापना गर्छु भन्ने सोचेकी भने थिइनन् । ढाका उद्योग सञ्चालन गर्नुअघि समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै थिइन् । ढाका सञ्चालन गर्नुअघिको उनको कथा यस्तो छ ।


दुई वर्ष अघि लिम्बु जातीको मुख्य चाड चासोक तङनामको समयमा ढाकाको मेख्ली लगाउने उनको सोच अपुरो रह्यो । मेख्ली लगाउने अपुरो इच्छालाई व्यवसायमा परिणत गरिन् । तिन महिना ढाका बुन्ने तािलम लिईन् । ढाका तालिम दिनु अघि उनले कक्षा १२ को परीक्षा सकाएपछि रिजल्ट आउने समयमा कुरुसले बनेको सामानहरू र सिलाइको ज्ञान हासील गरेकी थिइन् । जसले गर्दा उनलाई ढाका बुन्न सजिलो भयो ।


आधारभूत ज्ञान पाएपछि विभिन्न बुटाहरू बनाउन सजिलो हुने उनको अनुभव छ । अहिले उनी झारपात,फूल, हरेक चिजमा बुटाहरू देख्ने गर्छीन् । चाहेको भए उनले आर्कषक जागिर खान सक्थिन् । तर उनी भने मौलिकतालाई जोगाउँदै आर्थीक उपार्जन गर्ने अठोटका साथ लागिपरिन् । महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागी ढाका बुन्न सिकाउने गर्छिन् ।


ढाका उद्योगलाई आधुनिकीकरण गरेर उत्पादन गर्न सके युवाहरूलाई आर्कषण गर्न सकिने उनको बुझाइ छ । उनको उद्योगमा ढाका साडी, रुमाल, टाई, चप्पल, ब्याग, गलबन्दी, टोपी, लिम्बु जातिको पहिरन (मेख्ली, तागाबा दौरा सुरुवाल, सिलामसाक्मा) साथै लिम्बु गरगहना लगायत अर्डर अनुसारको सामानहरू उत्पादन हुने गरेको छ । न्यूनतम ५० रुपैयाँदेखि २५ हजार रुपैयाँको सामाानहरू रहेको छ । काठ वा बासको तानको प्रयोग गरेर बनाईएको ढाका मौलिकतासंगै जोडिएका कारण पनि यसको माग बढ्दै गएको उनको भनाइ छ ।


१ लाख रुपैयाँ लगानीमा दुईवटा तान, धागो र एउटा मेशिन खरिद गरी सुरु गरेको व्यवसाय अहिले २० लाख बढी लगानी बनाउन सफल भएकी छिन् । ढाका उद्योगबाट अपेक्षा भन्दा राम्रो आम्दानी भएको उनले बताइन् । अर्डर धेरै हुने भएकाले काम थेग्न समेत मुस्किल हुने गरेको उनको भनाई छ ।


उनका अनुसार बजारमा ढाकाको माग अनुसार उत्पादन गर्न सकिएको छैन । उनले उत्पादन गरेको ढाका कपडा विदेशमा समेत खपत हुने गरेको छ । ढाका बुन्ने अन्य महिलाहरूले समेत न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयासम्म आम्दानी गर्दै आएका छन् । ढाकाको माग उच्च भएपनी आवश्यक कच्चापदार्थ पूर्वमा नपाइने भएकाले राजधानी पुग्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भनिन्, ‘कच्चा पदार्थको अभावमा अर्डर अनुसारको काम गर्न सकेका छैनौ । जनशक्तिको पनी अभाव छ ।’ हातले बुन्नुपर्ने हुनाले ढाकाको सामानको मूल्य केही बढी हुने गरेको उनी बताउँछिन् ।


विपन्न महिला, एकल महिलालाई विशेष छुट प्रदान गरी तालिम दिँदै आएको बताइन् । आगामी दिनमा थप उत्पादन बढाउने र प्रचारप्रचार गर्दै यस क्षेत्रलाई निरन्तरता दिने उनको योजना छ । ढाका कपडाको लोकप्रियता फैलँदैं गएर अन्तर्राष्ट्रिय बजार बढ्नेमा उनी ढुक्क छिन् । राज्यले समेत ढाका उद्योगका लागी प्रोत्साहन स्वरुप अनुदान तथा ऋणहरू सहज रूपमा उपलब्ध गराए यस क्षेत्रमा थप प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?