धनकुटा फेरि आन्दोलित

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटालाई प्रदेश १ को राजधानी नबनाएको भन्दै धनकुटावासी मंगलबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । विरोध स्वरूप विभिन्न कार्यक्रमको घोषणा गरिएको छ । उनीहरूले बजारमा नारा जुलुस प्रदर्शन गर्दै कोसी राजमार्गको धरान धनकुटा सडक खण्डको जिरोप्वाइन्टमा यातायात बन्द गराए ।

धनकुटा फेरि आन्दोलित

धनकुटा राजधानी अभियान समितिको आहृानमा बन्द तथा साँझ ब्ल्याक आउट गराएका छन् । मध्यान्हदेखि एक घण्टा चक्का जाम गरिएको संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।


धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएकाले आन्दोलनको बाटो रोज्नु परेको श्रेष्ठको भनाई छ । विगत पाँच वर्षदेखि नै प्रादेशिक राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयले अघिल्लो वर्ष अस्थायी राजधानी विराटनगर घोषणा गर्दा समेत महिनौँ दिन आन्दोलन गरेका थिए ।


यसैबिच, सोमबार मात्र विराटनगरलाई स्थायी राजधानीको घोषणा गरिएपछि धनकुटालाई उपेक्षा गरिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।


धनकुटालाई पहाडी जिल्लाको प्रशासनिक सेवा उपलब्ध गराउन समेत जोड दिएका छन् । आन्दोलन परिचालन समितिका सदस्य विजयसन्तोषी राईले मन्त्रालय विभाग, सुविधासम्पन्न अस्पताल, पहाडी जिल्लालाई समेट्ने विभिन्न प्रकारका सेवा उपलब्ध गराउनुपर्ने बताए । धनकुटालाई समाप्त पार्ने काम भएकोले धनकुटावासीले वैशाख २३ लाई कालो दिनको रूपमा लिने उनको भनाई छ ।


यसै गरी, धनकुटा राजधानी अभियान समितिको बैठकले बुधवार पनि आंसिक बन्द तथा अन्य आन्दोलनका कार्यक्रम जारी राखिने निर्णय गरिएको अभियानका सदस्य सुजनभाई जोशीले बताए ।

प्रकाशित : वैशाख २४, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?