१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुल नहुँदा ढुवानी महँगो

अरूण नदीमा पक्की पुल नहुँदा भोजपुर र संखुवासभाका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्
दीपेन्द्र शाक्य

संखुवासभा — अरुण नदीमा पुल नहुँदा उपभोग्य सामान ढुवानीमा समस्या भएको छ  । यसले गर्दा महँगो भाडा तिरेर जसोतसो ढुवानी गर्नुपरेको व्यवसायीले बताएका छन्  ।

त्यसरी ढुवानी गरिएपछि सामानको मूल्य बढी पर्ने गरेको छ ।


ढुवानी गरिएका सामान पुल वारपार गर्न भरियालाई महँगो मूल्य तिर्नुपरेको भोजपुर बुम्लिङटारका होटल व्यवसायी तारा थापाले बताइन् । ‘महँगो त छँदै छ, उनले भनिन्, ‘मनपरी भाडाले ढाड सेकेको छ ।’ पक्की पुल हुने हो भने घरमै सामान आइपुग्ने अवस्था छ । तर नदी तार्न मात्र खाँदबारीदेखि हेलुवाबेसीसम्मको दोहोरो भाडा तिर्नुपर्ने बाध्यता छ । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र संखुवासभाका सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । संखुवासभाको हेलुवाबेसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुादा समस्या भएको हो । झोलुंगे पुलको सहायतामा दुई जिल्लाका स्थानीय आवतजावत गर्छन् । सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका दैनिक उपभोग्य सामाग्री भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन् ।


झोलुंगे पुलको वारीपारी सडक समेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ । भोजपुरको बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर, पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिाडेका यात्रुहरू पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नु पर्ने बाध्यता छ  । संखुवासभाको सिलिचोङ गाउँपालिकाका स्थानीय पनि यहीँ पुलबाट हिँड्नुपर्छ । अरुण पारिको गाउँपालिका भनेर चिनिने साबिक बाला, शिसुवा, ताम्कु, माङ्तेवा र याफु गाबिसका स्थानीय सडक सञ्जालले जोडिए पनि पक्की पुल नहुँदा समस्या उस्तै छ । अध्ययनको क्रममा खाँदबारी बस्दै आएका सिसुवाकी कल्पना राई घर जाँदा हेलुवाबेसीमा अलपत्र पर्ने गरेकी बताउँछिन् ।


‘खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेसी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउादा हेलुवाबेशीमा नै बस्नु पर्छ’ उनले भनिन्, ‘पुल बनेको भए घरैसम्म पुगिने थियो ।’ माङ्तेवाका जयकुमार राई सदरमुकाम खाँदबारीबाट गाउँसम्म जाने सडक जोड्न ३ वर्षअघि कम्मर कसेर लागिपरेको सम्झन्छन् । स्थानीयको श्रमदान र स्थानीय निकायको सहयोगमा उनीहरूले ७ किमि सडक पनि खन्ने काम गरेको बताए । तर, सडक खनेको ३ वर्ष भइसक्दा पनि उनको मोटर चढ्ने रहर पुरा भएको छैन । ‘घरछेउमै सडक खनेर त लगियो तर, पुल नभएपछि यातायातका साधन ल्याउन सकिरहेका छैनौ’ उनले भने, ‘सडकमा लगानी गरेको श्रम र पसिना त्यसै खेर गयो ।’ उनीहरूले ३ बर्षअघि ७ किमि सडक खनेका थिए । सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक खनिए पनि अरुण नदीमा झोलुंगे पुल भएकाले प्रयोग विहीन भएको उनले बताए ।


सिसुवाखोला, बाला, ताम्कु र माङ्तेवा तथा भोजपुरको कुलुङ, चौकीडाँडा, खाटम्मा हुँदै सदरमुकाम जोड्ने सडक खनिएको हो । पक्कि पुल निर्माण नभएसम्म सडकमा गाडी कुदाउन नपाउने भयौं, उनले भने, ‘पक्की पुल निर्माणका लागि सदरमुकाम धाएको धायै छौं ।’


तीन वर्षअघि नै हेलुवाबोशीदेखि माङ्तेवा हुँदै ताम्कुसम्म जाने सडक खन्न थालिएको र अघिल्लो वर्ष नै माङ्तेवासम्म सडक पुगिसके पनि त्यसको कुनै प्रयोग हुन नसकेको उनले बताए । ‘सडक आफ्नै गाउँसम्म आइपुगे पनि सवारी साधन ल्याउन अरुण नदी बाधक बन्यो,’ उनले भने, ‘पुल बनाउन सके यहाँ उत्पादीत कृषि उपजले बजार पाउने थियो ।’


‘खाँदबारी बजारसम्म यहाँका सामग्री लगेर बेच्ने हाम्रो सपना अधुरै भयो’ माङ्तेवा जौलेटोलका कृषक पार्वती कुलुङले भनिन्, ‘स्थानीय निकाय र सडक विभागले छिट्टै पुल निर्माण गरिदिनुपर्‍यो ।’ सडक निर्माण गरिए पनि अरुणमा अनिवार्य पुल बनाउनुपर्ने हुँदा स्थानीय राजनीतिक दलले महत्वपुर्ण भूमिका खेल्नुपर्ने हेलुवाबेशी–ताम्कु सडक निर्माण समितिका पूर्वअध्यक्ष बालकिशोर कुलुङले बताए ।


‘यो वर्ष सडक ताम्कु गाविससमेत पुग्ने छ’ उनले भने, सडक निर्माण गरेर मात्रै के गर्ने ? अरुणमा पुल बन्ने टुङ्गो छैन ।’ स्थानीयको मागलाई ध्यानमा राखेर अरुणमा पक्की पुल निर्माणको योजना समेत ल्याइएको छैन । पुल बनाउने कुरामा योजना नहुँदा अस्थायी विकल्पको रुपमा फेरी सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको भोजपुर साल्पाशिलिछो गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले बताए ।

प्रकाशित : वैशाख २५, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?