गुराँस क्षेत्र राताम्य

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रका गुराँस वनले पर्यटक आकर्षण गर्दै
चन्द्र कार्की

तेह्रथुम — वसन्तपुरदेखि मिल्के भञ्ज्याङसम्मका लेकाली वन पाखा राताम्य बनेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र थरीथरीका गुराँस फुलले पर्यटक आकर्षण गरिरहेका छन् ।

गुराँस क्षेत्र राताम्य

तीन जिल्लाको संगमस्थल टिएमजे अर्थात गुराँसको राजधानी । नेपालमा पाइने ३२ प्रजातीका गुराँसमध्ये यस क्षेत्रमा २८ प्रजातीका पाइन्छ । गुराँस फुलले मात्र होइन, पोखरी, सुन्दर ग्रामीण पहाडी बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाइको रमणीय पदमार्गलगायतले गर्दा यो क्षेत्र मनमोहक बनेको संखुवासभाको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेपले बताए ।


वसन्तपुरबाट थोरै अघि बढेर टुटेदेउराली नपुग्दै मनोरम गुराँसको जंगलले स्वागत गर्छ । मकालु र कञ्चनजंघा हिमालको आधार शिविरलाई गन्तव्य वनाउने र अरुण र तमोर नदीको छालमा र्‍याफटिङ गरी आनन्द लिनेहरूलाई लोभ्याउन सक्ने प्राकृतिक सौन्दर्य पनि यो क्षेत्रमा छ । भारतको बिहार र दार्जीलिङबाट नजीकको दुरीमा रहेको यो क्षेत्रमा त्यहाका सौन्दर्यप्रेमीको चहलपहल केही वर्षयता बढेको छ ।


आन्तरिक तथा बाह्य पर्यटकले वसन्तपुरदेखि संखुवासभाको गुफा बजारसम्मका होटल र लजहरू भरिन थालेका छन् । वसन्तपुरमा सवारी साधन छोडेर उकालो लागेकाहरूको पदयात्राभर शुद्ध कोदोको तोङवा र सुकुटीको खान्की बिर्सीनसक्नुको हुन्छ । छुर्पी, गुराँसको जुस, ऐसेलु र चुथ्रोको वाईन यस क्षेत्रका चाख्नै पर्ने खान्की हुन् ।


बसन्तपुर गुफा हुदै ताप्लेजुङको साँघु हुँदै फुङलिङ बजारसम्म मोटर बाटो निर्माण भैरहेकाले पदयात्रा केही घटेको छ । गुराँस जंगलको बीच भाग भएर अहिले मदन भण्डारी लोकमार्ग धमाधम निर्माण भैरहेको छ । काठमाडौबाट ३५ मिनेटको हवाई यात्रापछि बिराटनगर आइपुगिन्छ । त्यहाँबाट चार घण्टाको सवारीसाधनको यात्रापछि गुराँसे वनको प्रवेशद्धार वसन्तपुर पुगिन्छ ।


यहाँबाट सुरु हुने टिएमजेमा २ सयभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइने गरेको वनस्पतिविद कमल मादेनले बताए । तँछाड मछाड गर्दै फुलेका प्राकृतिक गुराँस वनले पदयात्रा अवधिभर स्वागत गरिरहेझैं लाग्छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङका १९ स्थानीय तहमा फैलिएको अरुण र तमोर जलाधार क्षेत्रमा पर्ने टिएमजेमा गुराँसको सबै भन्दा अग्लो र होचो प्रजातिसमेत फुल्न थालेका छन् ।


‘धेरै प्रजातिका गुराँस एकै स्थानमा फुल्ने भएकाले यस क्षेत्रलाई हामीले गुराँसको राजधानी भनेका छौ‌ं’, ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेश भट्टराईले भने । यस क्षेत्रको गुराँस संरक्षणमा केही वर्ष अघिसम्म सहयोग गरिरहेको अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) का अनुसार टिएमजे क्षेत्रमा ८० हजार जनसंख्या वस्छन् ।


यस क्षेत्रमा गुराँसका रैथाने र नयाँ प्रजाती पनि भेटिनेक्रम जारी रहेको आईयुसिएनले सार्वजनिक गरेको एक तथ्याङकमा उल्लेख छ । १ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाईमा फैलिएको यो क्षेत्र जैविक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र सौन्दर्यको हिसाबले पनि उतिकै महत्वपूर्ण छ । टिएमजे क्षेत्रलाई यो बर्ष देखी विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले व्यवस्थापनको जिम्मा लिएको छ ।


चौकी बजार, एसियाकै लामो ह्यात्रुङ्ग झरना, जलजला पोखरी, लामपोखरी, रातपोखरी, पाँचपोखरी, चिचिलिंग पोखरी, विभिन्न गुफा अनी उच्च स्थानमा रहेका ताल तथा नागी र विभिन्न जात जातीको साझा सांस्कृतिक रहन सहनले पनि यस क्षेत्रमा आएका पर्यटकको मन जित्ने गरेको गुफा बजारमा रहेको मकालु होटलका सञ्चालक हरि खनालले बताए ।


गुराँस भूमि भएर पदयात्रा गर्नेहरूका लागि यो रुटमा रहेका बसन्तपुर, टुटेदेउराली, घुर्मीसे, पाँचपोखरी, चौकी, लामपोखरी, मंगलवारे, श्रीमाने, गुफा वजार लगाएतका स्थानमा बसोवास गर्ने विभिन्न जात जातिका पञ्चेवाजा, बालन नाच, गुरुङ नाच, संगीनी नाच, शेर्पा नाच, धान नाच, च्याब्रुङ नाच, लामा नाच तथा भजन कृतनको मनोरञ्जनले गर्दा पर्यटकले आफ्नो बसाइ अवधि अरु केही दिन लम्ब्याउने गरेका छन् ।


मानव चाप कम रहेको यस क्षेत्रमा पुग्ने जोकोही आफ्नो वसाई अवधी मनोरम गुराँस वनमा बिताउन लालायित हुन्छन् । सवारी साधनको यात्रालाई केही दिनका लागि चटक्कै छोडेर प्राकृतिक गुराँस वनको भ्रमणमा निस्किएकाहरू रमणिय गुराँस वनको सौन्दर्यमा केही समय भए पनि हराउँछन् । पर्यटन बिकास तथा प्रवर्द्धन समिति अध्यक्ष गोविन्द ढुंगाना यहाँको गुराँस वन संरक्षण गर्न सके पर्यापर्यटनको राम्रो सम्भावना रहेको बताउँछन् ।


यहाँका जीवजन्तु, चराचुरुंगी, वनस्पती, पुतली, फूल लगायत थुप्रै विशेषताको संरक्षण गरी विकास गर्नु आवश्यक रहेको ढुंगानाले बताए । यी काम भएमा टिएमजे क्षेत्रलाई गुराँस पर्यटनको मुख्य आधार बनाएर १ नम्वर प्रदेशमा पर्यटकका लागि पहिलो गन्तव्य स्थल बनाउन सकिने अध्यक्ष ढुंगानाको भनाइ छ ।


टिएमजे क्षेत्रको भ्रमणमा आउने पर्यटकले गुराँसको सौन्दर्य लिनेदेखि फूलबाट उत्पादन गरिएको जुस र वाइनको स्वादसमेत चाख्न पाउँछन् । यस क्षेत्रमा यात्रा गर्दा एउटै उचाईका रमणीय पहाड भएर यात्रा गर्नुपर्ने भएकाले उचाइ परिवबर्तनका कारण उत्पन्न हुने हाइअल्टिच्युडको समस्या हुँदैन ।

प्रकाशित : वैशाख २८, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?