१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुर्खाको चिनो इनार

गाउँसँगै सहर–बजारमा पनि खोलानाला, नदी, पोखरी र इनारकै पानी उपयोगमा ल्याइन्थ्यो । अब भने सहरी क्षेत्रमा इनार फेला पार्नै कठिन छ ।
जितेन्द्र साह

बूढीगंगा, मोरङ — घरको छेवैमा झन्डै १५ धुर जग्गामा इनार छ । सुरक्षाका लागि दुई फलामे ढोकासहित कलात्मक गोलाकार पर्खाल निर्माण गरिएको छ । पर्खालमाथि लहरे फूलका गमला राखिएका छन् ।

पुर्खाको चिनो इनार

ठीक पछिल्तिर बाँसको घेराबार गरिएको पुरानो युग झल्काउने शैलीको स्नानघर छ । परिवारजनले भने इनार एवं स्नान घरलाई प्रयोग गर्न छाडेको ३ दशक भइसक्यो ।


‘चापाकल र धाराको आगमनसँगै यो प्रयोगविहीन भयो,’ मोरङको बूढीगंगा गाउँपालिकाका ६० वर्षीय भुवनेश्वर मण्डलले भने, ‘पुर्खाको चिनोका रूपमा राखेका छौं ।’ उनका हजुरबुबाले यो इनार बनाएका थिए । शिलालेखअनुसार २०११ सालतिर यसको जीर्णोद्धार भएको देखिन्छ ।


बूढीगंगा गाउँपालिका–३ बाँसबारीसिनबारी बस्तीस्थित उनको निवासमा इनार हेर्न टाढाटाढाबाट पनि आउँछन् । यो विराटनगर सीमासँग जोडिएको प्राचीन बस्ती हो । ‘घरको शोभाका लागि यसको वरिपरि बगैंचा लगाउँछु, चारैतिर पिलर ठड्याएर छानो बनाउँछु, पुरानै शैलीमा एउटा डन्डीमा बाल्टिन झुन्ड्याउँछु,’ मण्डलले भने, ‘वर्तमान र भावी पुस्ताका लागि पनि यो दर्शनीय हुन्छ ।’ मण्डलका छोरा ३५ वर्षीय राजा (मनोज बाबु) लाई पाँच वर्षको उमेरसम्म इनारमा नुहाएको याद छ । ‘विद्यालय जाने बेलामा आमाले यहीँ नुहाइदिनुहुन्थ्यो,’ उनले भने । यसको संरक्षण गर्ने आफ्नो पनि चाहना रहेको राजाले बताए ।


‘दुलही भएर भित्रिँदा ३५ वर्षअघिसम्म पानीका सबै काम यही हुन्थ्यो,’ आमा ५६ वर्षीय श्यामोदेवीले भनिन्, ‘चापाकल गाडेपछि इनारको प्रयोग कम हुन थाल्यो, धारा पनि जोडेपछि त पुरै बिर्सियौं, नचलाउँदा यो कुवाको पानी गन्हाउन थाल्यो ।’


खानेपानीको अन्य विकल्प नहुँदा बर्सेनि श्रमिक बोलाई चुनढुंगाले इनार सफा गरेर पानी पिउने गरेको परिवारजनले बताए । तर, आधुनिक परिवेशमा समेत इनारको धार्मिक एवं सांस्कृतिक महत्त्व अझै कम भएको छैन । ‘इनारको मूल फुटेर आउने पानीलाई कोइला माता (जलकुमारी) भनेर प्रत्येक पर्वमा पूजा गर्छौं, जलकुमारी भनेको गंगा माता हो,’ श्यामोदेवीले भनिन्, ‘हरेक वर्षको १४ वैशाखमा यहाँ थान पूजा गर्छौं ।’


नयाँ कार्यको थालनी गर्दा पनि इनारको पूजा गर्ने गरेको उनले बताइन् । उक्त टोलका चारमध्ये एक इनार पुरिएको देखिन्छ । एउटाको पानी गर्मीमा स्थानीयले प्रयोग गर्छन् । अन्य दुईवटा भग्नावशेष भइसकेका छन् । ती सबै २००० देखि २०११ सालको बीचमा जीर्णोद्धार भएको थियो । ‘धारा आएपछि नाम मात्रकै प्रयोग भइरहेको छ,’ ५० वर्षीय कपिलदेव राजवंशीले भने ।


उनको बारीमा हजुरबुबाले बनाइदिएको इनार छ । गर्मीमा इनारबाट फ्रिजको जस्तो चिसो र मिठो पानी आउने भएकाले जोगाइराखेको उनले सुनाए । राजवंशीसहित छिमेकी १० घरका ७० जनाले गर्मीयाममा इनारकै पानी प्रयोग गर्छन् । ‘गलगाँड भएकाले यहाँको पानी खाँदा निको हुने जनविश्वास छ,’ उनले भने, ‘यो समस्याबाट पीडित दिनहुँ दुई/चार जना पानी लिन आउँछन् ।’


स्थानीयका अनुसार २०४५ सालको भुइँचालोमा जमिनमुनिका मूल फुटेर इनार बाहिरसम्म पानी आएको थियो । ‘इनारमा पानीसँगै बालुवा भरिएको छ, एकपटक सबै बालुवा पन्छाएर मूल खोल्छौं,’ राजवंशीले भने, ‘वरिपरि घेराबार हालेर संरक्षण गर्ने योजनामा छु ।’


पानीको पर्याप्त सुविधा नभएका बेला गाउँसँगै नगर, सहर र बजारमा पनि खोलानाला, नदी एवं पोखरीसँगै इनारकै पानी उपयोगमा ल्याइन्थ्यो । तर सहरी क्षेत्रमा भने अब इनार फेला पार्नै कठिन छ । विराटनगर महानगरपालिका–५, कोचाखालमा बाटो छेउको ६६ वर्ष पुरानो इनारमा सडक विभागको डोजरले माटो भरेको छ । स्थानीय ७५ वर्षीय महावीर दासका अनुसार २० वर्ष अगाडिसम्म नुहाउन र चौपायालाई पानी खुवाउन स्थानीयवासी यही इनारमा आउँथे ।


‘घरघरै चापाकल नहुँदा पानी लिन यही आउँथ्यौं,’ उनले भने, ‘त्यो जमानामा टाढा–टाढाबाट पानी लिन आउने यो टोलको दुईवटै इनार पुरिएर बस्ने थलो बनेको छ ।’ स्थानीयहरू पुरिएको र भग्नावशेषमा परिणत इनार वरिपरि भेला भएर बिहान–साँझ गफ गरिरहेका भेटिन्छन् ।


भूमि तथा मालपोत कार्यालयको नक्सामा पनि इनार अंकित भएको स्थानीयले बताए । ‘अझैं यी इनारलाई प्वाइन्ट मानेर वरिपरिको जग्गा नापिन्छ,’ दासले भने । इनार नहुँदा धर्म र परम्परामा पनि असर परेको छ । ‘स्थानीयले भारतबाट गंगाजल ल्याउँदैनथे, गंगाझैं पवित्र मानेर इनारको पूजा गर्थे, यहींको पानीलाई गंगाजलसरह मानेर पूजा विधिमा प्रयोग गर्थे,’ उनले भने ।


आदिवासी एवं मधेसी समुदायको बिहे अगाडिको विशेष विधि मटकोरमा गंगास्वरूपमा इनारको पूजा गर्ने चलन रहेको स्थानीय ४७ वर्षीया अम्बिका दासले बताइन् । ‘बिहेको मौसममा इनारको महत्त्व बढ्छ,’ उनले भनिन्, ‘पहिला–पहिला सत्यनारायण भगवानको पूजामा इनारकै पानीलाई गंगाजल मानेर चढाइन्थ्यो ।’


महानगर विराटनगरको यो बस्तीका अधिकांश घरमा चापाकल मात्र छ । अझै पनि धाराको पाइपलाइन घरघरै पुगिसकेको छैन । ‘मैले पनि झन्डै १२ वर्ष कुवाकै पानी खाएँ,’ स्थानीय ३६ वर्षीय परमानन्द पासवानले भने । उनले आफ्ना सन्तानलाई भने इनारबाट कसरी पानी आउने गरेको बारेमा थाहा नभएको बताए ।


केही स्थानीयले अब यो इनारको औचित्य समाप्त भएकाले भत्काएर दामासाहीले इँटा बाँड्ने भनेका छन् । केहीले भने पुरिएको इनारलाई फलैंचाको स्वरूपमा विकास गरी विश्राम स्थल बनाउने धारणा राखेका छन् । ‘विश्रामस्थल बनाउँदा उचित हुन्छ, स्थानीय एवं आगन्तुकलाई बस्ने ठाउँ हुन्छ,’ कोचाखालका ३४ वर्षीय पवन कामतले भने, ‘नयाँ पुस्ताले पनि यहाँ पहिला इनार थियो भनी सम्झिराख्छन् ।’ दुई सन्तानका पिता उनले यसका लागि स्थानीयको हस्ताक्षरसहित वडा कार्यालयमा निवेदन दिने बताए ।


चापाकल तथा धाराको प्रवेशसँगै इनार पुरिँदै र हराउँदै गएको विराटनगरका स्थानीय राजु श्रेष्ठले बताए । धेरै त सडक विस्तारमा मासिए । पानीको आधुनिक विकल्प भेटिएपछि परिवारजनले समेत घरभित्रका इनार पुरेर त्यो ठाउँमा अन्य पूर्वाधार निर्माण गरे । उनले भने, ‘अहिले खोज्दा पनि भेटिन्न । भएका पनि ओझेलमा छन् ।’ जग्गाको बढदो मूल्यसँगै इनारलाई घडेरीमा सम्याइएको छ ।


नगर र ग्रामीण क्षेत्रका अधिकांश इनार बारी, झाडी, पराल एवं फोहोरले ढाकिएका छन् । ‘कतैकतै मात्र इनारको पानी प्रयोग भइरहेको पाइन्छ,’ श्रेष्ठले भने । तर, केही परिवारजनले सम्झनाका लागि भए पनि पुर्खाको धरोहर सम्झी इनारको संरक्षण गरिरहेका छन् । उनका अनुसार दक्षिण भारतमा भौडी भनिने इनारको सरकारी सहुलियतमै निर्माण एवं संरक्षण हुने गरेको छ ।


विराटनगरस्थित भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले २०४५ देखि २०७२ सम्म स्यालो ट्युबेल वितरण गरेको थियो । उक्त कार्यालयले अहिलेसम्म झापामा ५ हजार १ सय ३४, मोरङमा ४ हजार ३ सय ५८, सुनसरीमा ३ हजार ९ सय ८ र इलाममा ७० स्यालो ट्युबेल वितरण गरेको छ । ‘ट्युबेलको चलनसँगै इनार हराएको हो,’ डिभिजन कार्यालयका जलस्रोतविद् मनोज बिष्टले भने । स्थानीय र समाजसेवीद्वारा अधिकांश यस्ता इनार निर्माण भएकाले यकिन तथ्यांक भन्न नसकिने उनले प्रस्टयाए ।


‘भूमिगत पानीको कम बहाव भएको ठाउँमा इनार उपयुक्त हुन्छ र बढी बहाव भएको थलोमा चापाकल,’ बिष्टले भने, ‘पुरानो समयमा विकल्प नभएकाले इनार खनिएको हुनुपर्छ ।’ पछिल्लो समयमा इनारको तुलनामा कम ठाउँ चाहिने एवं पानी तान्न धेरै श्रम नलाग्ने हुनाले स्यालो ट्युबेल लोकप्रिय भएको उनको ठम्याइ छ । ‘अहिले धेरै स्थानमा धाराले ट्युबेललाई विस्थापित गरेझैं यसअघि इनार विस्थापित भएको हो,’ उनले भने ।

प्रकाशित : वैशाख २८, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?