कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेलागडीलाई पर्यटकीय क्षेत्र बनाइँदै

हल्दिबारी गाउापालिकाकै लगानीमा लोकतान्त्रिक सहिद स्मृति पार्क निर्माणको तयारी, यसका लागि चालु आवमा १० लाख बजेट छुट्याइयो
अर्जुन राजवंशी

बिर्तामोड — सिमसारसहितको जंगललाई हल्दिबारी गाउँपालिकाले पर्यटकीय क्षेत्र बनाउन थालेको छ । वडा २ मा रहेको भेलागडी सामुदायिक वनलाई गाउँपालिकाले 'लोकतान्त्रिक सहिद स्मृति पार्क' बनाउन थालेको हो ।

भेलागडीलाई पर्यटकीय क्षेत्र बनाइँदै

९१.५६ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा 'गाउँ गौरव' आयोजनाको रूपमा गाउँपालिकाले पार्क बनाउने कार्यलाई अघि बढाएको हो । गाउँपालिकाको दोस्रो गाउँसभाबाट 'हल्दिबारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धि' को नारालाई अघि बढाएको छ । उक्त नाराअन्तर्गत सोही गाउँसभाले भेलागडी वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने निर्णयसमेत गरेको थियो ।


निर्णयअनुसार अहिले वन क्षेत्रमा पर्यटकीय स्थाल बनाउने कार्य धमाधम भइरहेको छ । वनभित्र १९.७ हेक्टर क्षेत्रफलमा सिमसार रहेको छ । लोकतान्त्रिक सहिद स्मृति पार्क निर्माणका लागि प्रदेश १ सरकारले चालु वर्ष एक करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले ससर्त पुँजीगत अनुदानबापत उक्त रकम उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।


पार्क निर्माणका लागि चालु वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले पार्क निर्माणका लागि ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपैयाँको लागत स्टिमेट स्वीकृत गरेको छ । उक्त आयोजनालाई गाउँपालिकाको आफ्नै स्रोतबाट निर्माण गर्नेगरी बहुवर्षीय योजनाका रूपमा स्वीकृत गरेको घिमिरले बताए ।


जंगललाई पर्यटकीय स्थलको रूपमा विकास गराउन भेलागडी सामुदायिक वन उपभोक्ता समूह र गाउँपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार वन उपभोक्ता समूहले नगद र श्रमदान गरी कुल लागतको १० प्रतिशत लगानी गर्नुपर्ने समूहका अध्यक्ष नारायणप्रसाद लुइँटेलले बताए ।


पार्कभित्र पर्यटकका लागि २६ वटा टहरा निर्माण गर्ने, २५ वटा सोलार बत्ती जडान गर्ने, एक सय ८५ फिट लम्बाइको आकर्षक काठको पुल निर्माण गर्ने, पार्क अवलोकनका लागि भ्यू टावर निर्माण गर्ने, सभा हल, प्ले ग्राउन्ड, एप्रोच रोड, पानीको फोहोरा, लोकतान्त्रिक आन्दोलनका क्रममा बेपत्ता तथा सहादत प्राप्त गरेका हल्दिबारीका सहिदहरूको सालिकलगायत निर्माण गर्ने योजना रहेको अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले जनाए । पार्कअन्तर्गत अहिले सडक तथा काठको पुल निर्माण गर्ने कार्य चलिरहेको छ ।


सिमसार क्षेत्रलाई स्थानीय रैथाने जातको अन्धाबाम माछाको प्रजननस्थलको रूपमा विकास गर्न खोजेको अध्यक्ष लिङ्देनले बताए । 'सम्भावना बोकेको यस जंगललाई हल्दिबारीकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,' उपाध्यक्ष डम्बर गिरीले भने, 'पर्यावरण र जैविक विविधतालाई संरक्षण गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्न सके हल्दिबारीको समग्र विकासमा यसले ठूलो टेवा पुग्नेछ ।'


भेलागडी जंगल छिमेकी बिर्तामोड नगरपालिका ८ र भद्रपुर नगरपालिका १० को संगमस्थल हो । जंगल नजिकैबाट हर्चना र देउनिया खोला बग्ने गर्छ । जंगलभित्र साल, टिक, मसला, लालीकाठ, करम, जमुनालगायतका रूखबिरुवा रहेका छन् । जंगल क्षेत्रको संरक्षण तथा पर्यटकीय स्थललाई व्यवस्थित गर्न २५ सय मिटरको चक्रपथसमेत निर्माण गर्न लागेको घिमिरेले बताए ।

प्रकाशित : वैशाख २९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?