२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय सञ्चालन

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा आइतबारदेखि प्रदेश नं. १ को मुख्यमन्त्रीको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका छन् । 

धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय सञ्चालन

साविकको क्षेत्रीय प्रशासन कार्यालयको भवनमा सम्पर्क कार्यालय रहेको छ । कार्यालय उद्घाटनका क्रममा मुख्यमन्त्री राईले सम्पर्क कार्यालयलाई आँखामा छारो हाल्ने ढंगले नखोलिएको भन्दै सम्पर्क कार्यालयमा नै मन्त्रिपरिषद्को बैठक यथासक्य चाँडो बस्ने बताए ।

'सम्पर्क कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेरै महत्त्वपूर्ण निर्णय हुने छ', उनले भने,'राजधानी जहाँ तोकिएपनि अन्यत्र जिल्लामा पनि अधिकार र सेवाकेन्द्र मार्फत सेवा केन्द्रित गरिँदै जाने छौँ ।'


सम्पर्क कार्यालयमा उपसचिव, शाखा अधिकृत, नायव सुब्बा तथा सूचना र प्राविधिक जनशक्ति रहने जनाइएको छ । हाल शाखा अधिकृत सहितको कर्मचारीबाट कार्यालयको काम सुचारु गरिएको राईले बताए । मुख्यमन्त्रीको कार्यालयले नीतिगत विषय, नागरिकको गुनासो सुन्ने तथा विकास निर्माण अनुगमन लगायतका कार्य गर्ने जानकारी दिइएको छ ।


मुख्यमन्त्री राईले आइतबार नै सम्पर्क कार्यालयको कार्यकक्षमा रहेर दुईवटा योजनामा तोक लगाएका छन् । यस्तै, भोजपुर जिल्लाका केही योजनाबारे जिल्लाबाट पुगेका सेवाग्राहि मार्फत जानकारी लिएका छन् ।


यसैबीच, मुख्यमन्त्री राईले आइतबार धनकुटा नगरपालिका-४ देब्रेबासमा यातायात व्यवस्था सेवा कार्यालयको समेत उद्घाटन गरेका छन् । केन्द्रले धनकुटा सहित तेह्रथुम, संखुवासभा र तेह्रथुम जिल्लाको यातायात सम्बन्धी सम्पूर्ण कार्य गर्ने जनाइएको छ ।


लामो समय धनकुटालाई राजधानी घोषणा गरिनु पर्ने माग राख्दै आएका धनकुटावासीलाई सान्त्वना दिन कार्यालय खोलिएको नभएर वास्तविक रूपमा सेवा दिन लागिएको राईको भनाई छ । यसैगरी राईले धनकुटामा प्रदेश स्तरीय मेडिकल कलेज स्थापना गर्ने आश्वासन दिए ।


कार्यालय उद्घाटन कार्यक्रममा संघीय सांसद राजेन्द्र राई, प्रदेश सांसद निरन राई, इन्द्रमणी पराजुली, कुसुमकुमारी श्रेष्ठ, बिना राई, जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, प्रदेश मुख्य सचिव सुरेश अधिकारी लगायतले सेवा केन्द्र मार्फत सहज रूपमा सेवा दिन लागिएको प्रति सकारात्मक रहेको बताए ।

प्रकाशित : वैशाख २९, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?