वर्षौं बित्यो छोरो फर्केन

सुम्निमा चाम्लिङ

इटहरी — तेह्रथुम छथर ओख्रेकी ५८ वर्षीया नेत्रमाया खडका १६ वर्षदेखि द्वन्द्वकालमा बेपत्ता पारिएका छोरा अझै आउला कि भनेर पर्खाइमा छिन् । डेढ दशकदेखि छोराको अवस्था थाहा नपाउँदा उनलाई सधैंको पिरलो छ ।

२०६० साल दसैको पूर्णीमाको भोलिपल्ट बिहान सेनाले घर घेरे । छोरालाई सेनाको समूहले लगे । उनीसमेत छोराको पछि लाग्दै ३ घण्टा हिँडिन् । शुक्रबारे बजार पुग्दा साँझ परेको थियो । त्यसपछि आमा र छोरालाई अलग पारिएको उनले बताइन् । ‘त्यही रातबाट आजसम्म छोरासँग भेट भएको छैन,’ उनले भनिन् ।


छोरा बेपत्ता भएपछि उनी तीन वर्ष ओच्छयान परिन् । छोरालाई बेपता बनाएपछि समेत सेना आएर छोरीलाई लुकाएको भन्दै श्रीमानलाई बन्दुकले टाउकामा कुट्ने गर्थे । सोही कुटपिटको कारण अहिले उनका ६५ वर्षीय श्रीमानले दुबै आँखा देख्न सक्दैनन् । घरमा बस्ने वातावरण नभएपछि उनीहरू हाल इटहरी जनता बस्तीमा बस्दै आएका छन् । ‘छोरा बेपत्ता भएको सोह्र वर्ष भइसक्यो, कहाँ लगे, के गरे थाहा छैन,’ खड्काले भनिन्, ‘पार्टीले छोरालाई शहिद भनेर किताबमा नाम लेखेको छ अरे । कस्तो हिसाबले शहिद भयो ? हामीलाई लाश अझै देखाएको छैन ।’


२२ वर्षका छोराले केही गर्छ भन्ने उनमा ठुलो आशा थियो । तर छोराको बेपत्ताले निराश बनाएको छ । छोरा बेपत्ता भएदेखि खड्का परिवारले दसै टिका लगाएका छैनन् । सर्वोच्च अदालतदेखि सेनाको ब्यारेकसम्म छोराको खोजीको लागि धाइसकेकी छन् । चितबुझो जवाफ पाउन नसकेपछि उनी भन्छिन्, ‘सरकारले थाहा भएको कुरा पनि लुकाउँदो रहेछ । यस्तो ठाउँमा घटना भयो भनेर अझै भन्न सकेको छैन ।’


पार्टीका मानिस छोराको नाम लिंदै घरमा भेट्न आउँदा छोरा बाचेको जस्तो लाग्छ । सरकारबाट राहत स्वरुप आठ लाख रुपैयाँ पाएकी छन् । सरकारले छोराको टुंगो लगाइदिए मात्र ठुलो राहत मिल्ने उनी बताउँछिन् । धरानकी सनकुमारी विश्वकर्माको १९ वर्षीय भाइ बेपत्ता भएको पनि डेढ दशक नाघेको छ । २०५९ जेठ १४ गते साविक बक्लौरी पंचालयन झोडाबाट उनका भाईलाई सेनाले लगेर गएका थिए । बेपत्ता भाइको खोजीमा विभिन्न ठाउँमा पुगे पनि अझै भेटिन सकेको छैन ।


‘भाईलाई पक्राउ गरेको वर्ष दिनमा आमा र बुबा बित्नुभयो,’ उनले भनिन्, ‘सेना घरमा आएर घेरा हाल्ने र आमाबुवालाई कुटपिट गर्ने गर्थे ।’ भाईलाई पक्राउ गर्दा बुवा ७५ र आमा ६५ वर्षका थिए । ‘राज्यले भाई मरेको वा बाँचेको भनिदिए हुन्थ्यो । म केही भइहालेमा काजकिरिया गर्ने कोही छैन । म बाचुन्जेल भाई टुंगो लगाइदिए हुन्थ्यो ।’ राहत स्वरुप १० लाख रुपैयाँ पाएकी छिन् ।


द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का संयोजक रुपेश शाहले द्वन्द्व पीडितको समस्या समाधानका लागी बनेको आयोगले द्वन्द्वपीडितले महसुस गर्ने कुनै उपलब्धि हासिल गर्न नसेकेको बताए । ‘उजुरी लिनुभन्दा बाहेक आयोगले केही गर्न सकेन । न्याय खोज्दै जाने क्रममा पीडितको अवस्था नाजुक भइसक्यो ।’ उनले भने, ‘द्वन्द्वपीडितलाई न्याय र परिपुरण हुनुपर्दछ ।’ न्याय दिन सक्ने व्यक्तिलाई मात्र आयोगमा अटाउनुपर्ने उनले बताए ।


द्वन्द्वपीडित साझा चौतारीका अनुसार पुर्वमा २ सय ५६ जना बेपता भएका छन् । जसमध्ये सुनसरीबाट २२ बेपत्ता भएका थिए । अनौपचारीक सेवा केन्द्र (इन्सेक) का अनुसार सशस्क्र द्वन्द्वको त्रममा १ हजार ६ सय ७२ जना बेपता भएका थिए । गैरराज्य पक्षबाट ४ सय २५ र राज्यपक्षबाट १ हजार २ सय ४७ जना बेपता भए ।


राज्यपक्षबाट बेपता भएकामध्ये ७३ जनाको नाम खुल्न सकेको छैन । प्रदेश १ मा द्वन्द्वको क्रममा कुल २ सय ५१ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये गैरराज्य पक्षबाट ३२ र राज्यपक्षबाट २ सय १९ जना बेपत्ता भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुण्य अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?