कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिँडोको स्वादले तान्दै ग्राहक

शारीरिक श्रम गर्नेका लागि आडिलो खानाका रुपमा लिइने ढिँडो हिजोआज फरक स्वाद चाख्न सर्वसाधारणले रुचाउन थालेका छन् 
रमेशचन्द्र अधिकारी

धनकुटा — भड्डु भाँडामा काठको लौरो (लाम्बे)ले मस्काइरहेकी लक्ष्मी राईले केहीबेरमा स्वादिष्ट ढिडो तयार पारिन् । उनले पकाएको ढिडोको स्वादमा पल्किएपछि ग्राहकको माग बढ्दै गएको छ । 

ढिँडोको स्वादले तान्दै ग्राहक

विगतमा महोत्सव तथा चाडपर्वमा पकाउने गर्दै आएकीमा ग्राहकको माग बढेपछि व्यावसायिक रूप दिएको बताइन् । ‘पकाउन त निकै मेहनत गर्नु पर्छ,’ उनले भनिन्, ‘मेहनत गरेकैले ढिडो ग्राहकको रोजाईमा पर्ने गरेको हुनसक्छ ।’ जति मस्काउन सक्यो, उति स्वादिष्ट हुने गरेको उनको अनुभव छ ।


तोङ्बालगायत कोदोको परिकारका लागि प्रसिद्धि कमाएको हिलेमा अब ढिँडो पनि ग्राहकको रोजाईमा परेको स्थानीय सुमन राई बताउँछन् । तर, पछिल्लो समय कोदोको उत्पादन घटै गएपछि सहज रुपमा पाउन मुश्किल पर्ने उनले बताए । पिठो मुछेदेखि पाक्ने समय कम्तीमा २० मीनेट समयमा ढिडो तयार हुन्छ ।


विगतमा माटो तथा फलामको भाडामा पकाइने ढिडो पछिल्लो समय भने सिलवरको भड्डु लगायतमा पनि पकाइने गरिएको राईले बताए । शारिरीक श्रम गर्नेका लागि आडिलो खानाको रुपमा लिइने ढिडो हिजोआज फरक स्वादको रुपमा सर्वसाधारणले रुचाउन थालेको अर्का व्यवशायी नारायण कटुवालले बताए । ढिडोको साथमा गुन्द्रुक, सिन्कीसहित भटमासको अचार, मोहि घिउ सहित अग्रानिक सागसब्जि खाने चलन छ ।


ठण्डी मौसममा बढी माग हुने गरेपनि पहाड तथा लेकाली भेगमा जुनसुकै समयमा पनि ढिँडो रुचाइने गरिन्छ । आधुनिक परिकारमा अलमलिने खानाका पारखीहरू मौलिक परिकारको रुपमा रहेको ढिँडोलाई पनि रुचाउनेक्रम बढेको कटुवालको भनाइ छ ।


धनकुटाका हिले, भेडेटार लगायतका स्थानमा होटलमा ढिडोको माग बढै गएको होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्टले बताए । हिलेमा ढिडोको कारोवार यकिन भन्न नसकेपनि पछिल्लो पटक अत्यधिक माग हुन थालेको उनले ठम्याइ छ । भेडेटारका सबैजसो होटलमा ग्राहकले ढिँडो रुचाउने गरेको स्थानीय होटल व्यवशायी विष्णु श्रेष्ठले बताए ।


ढिँडो मस्काउने साधन लाम्बे काठ तथा दाउराको बनाइन्छ । ढिँडो मस्काउँदा भाडालाई दह्रिलोसँग अड्याउने अंग्रेजी अक्षर वाई आकारको साधनलाई टोम्काउने भनिन्छ । टोम्काउनेको आडमा लाम्बेले जत्ति मस्कायो, उत्ति स्वादिलो मानिने भएपछि ढिँडो पकाउन बल लगाउनु पर्ने हिलेका जानुका राईले बताइन् । झापाको बिर्तामोडबाट हिले पुगेका राजन शिवाकोटीले चिसो मौसममा ढिडो खान कै लागि पहाड उक्लिएको बताए ।


तराईमा गर्मी बढेपछि लेकाली भेगमा घुमफिरको लागि आइरहने उनले बताए । परिवार सहित पुगेका उनको कोदोको रोटी र ढिँडो दुवै मनपराउने गरेको भनाइ छ । यस्तै, इटहरीका दिवाकर साहले पनि पहाड घुम्दा ढिँडो खाएर मात्र फर्कने गरेको सुनाए । ‘ढिँडोसँगै साथमा घिउ, मोही, गुन्द्रुक खाँदाको मज्जै बेग्लै हुन्छ’ उनले भने, ‘सधैं खान नपाउने भएकोले कहिलेकाहीं खादा फरक स्वाद मिल्ने गर्छ ।’ होटल अनुसार सामान्यतः दुईदेखि अढाई सय रुपैयाँ प्लेट ढिँडोको मूल्य लिइने गरिएको व्यवसायी बताउँछन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?