२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

झापा र मोरङमा ५ तारे होटल

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रदेश १ का जिल्लामा तारे होटलमा लगानी बढेको छ । खासगरी झापा, मोरड र सुनसरीमा १ तारेदेखि ५ तारेसम्मका होटलमा लगानी भइरहेको हो ।

झापामा र मोरङमा २/२ वटा पाँचतारे बन्दै छन् । झापामै तीन तारे होटल पनि बन्दैछ । मेचीनगर र बिर्तामोडमा दुइटा पाँचतारे र एक तीन तारे होटल निर्माण अन्तिम चरणमा छन् । व्यवसायीका अनुसार पूर्वका होटलमा २५ देखि ३० अर्ब हाराहारीमा लगानी भइसकेको छ ।


काँकडभिट्टामा दुइटा एकतारे होटल ५ वर्षदेखि सञ्चालित छन् । दुबैमा मिनी क्यासिनो समेत छ । बिर्तामोडमा एक तारे एउटा सञ्चालनमा छ । विराटनगरमा १ देखि ३ तारे होटल तीनवटा छन् । धरानमा पनि तारे होटलहरू धमाधम लगानी भइरहेको छ ।

पर्यटन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वमा करिव १५ वटा एकतारे होटल दर्ता भएका छन् । वाँकी १५ वटा १ देखि ५ तारेसम्मका होटल धमाधम निर्माण भइरहेका छन् । कार्यालय प्रमुख सुस्मिता दाहालका अनुसार पर्यटन भ्रमण वर्षका कारण पूर्वका व्यवसायीले स्तरीय होटलमा लगानी गरिरहेका छन् ।


मेचीनगरको निन्दा नदी किनारमा भेगस इन्टरटेन्मेन्ट प्रालिले मेची क्राउन र विर्तामोड बजार क्षेत्रमा होटल ग्रान्ड प्रिन्स पाँचतारे होटल संचालनको तयारीमा छन् । यी दुई होटलमा करिब ५ अर्ब लगानी छ । ग्रान्ड प्रिन्स अर्ब लगानीमा शुरु हुन लागेको हो । निर्माण सम्पन्न भइसक्दा मेची क्राउन्सको लगानी साढे तीन अर्ब पुग्ने मुख्य सञ्चालक वलराम सापकोटाले बताए ।


भारतको पश्चिम बंगाल र विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । सन् २०२० लाई सरकारले नेपाल पर्यटन वर्षको रूपमा घोषणा गरेको छ ।


१ सय २५ कोठे मेची क्राउनमा क्यासिनो समेत सञ्चालन हुने छ । सापकोटाका उनका अनुसार पूर्वमा सयौं होटल भए पनि पर्यटक स्तरका होटल कम छन् । उनको दाबीअनुसार होटल परिसरमै रहने क्यासिनो नेपालकै ठूलो हुने छ । यस्तै स्विमिड पुलसंगै स्पा सेन्टर (मसाज), स्ट्रिम वाथ, जिम हल र व्युटिपार्लर एउटै भवनमा रहने व्यवस्था गरिएको छ ।


युवा जगतलाई लक्षित गरी डिस्को थेकसमेत सञ्चालन गरिने छ । भीआईभीहरू र विदेशी पर्यटकका लागि विशेष आवास (भील्ला) तथा खेल मनोरन्जनका लागि टेनिस कोर्ट निर्माण भइरहेको छ । करिव ८ विघा क्षेत्रमा फैलिने होटल परिसरभित्रै हेलिप्याडको व्यवस्था समेत हुने छ । होटल तथा क्यासिनोको निर्माणपछि करिव आठ सय जनाले प्रत्यक्ष रोजगारी पाउने सापकोटाको दावी छ ।


‘विदेशी तथा आन्तरिक पर्यटकहरू अव सोझै हेलिकोप्टरमा आएर होटलमा वस्ने छन्’, सापकोटाले भने, ‘नेपालको पर्यटन विकासमा होटलले महत्वपूर्ण टेवा पुर्‍याउने छ ।’ यता बिर्तामोडको ग्रान्ड प्रिन्समा ८६ कोठा हुनेछ । व्यवसायी प्रकाश गौतमका लगानीको होटलमा करिव डेढ सय जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।


यो होटल करिव १८ कठ्ठा जमिनमा फैलिएको छ । मेनेजर राजेन्द्र राणाका अनुसार होटल परिसरमा क्यासिनोसहित स्विमिड पुल, हेल्थ क्लव, पार्क आदि तारे होटल मापदण्डका सवै कुरा रहने छ । राणाका अनुसार दुर्ई महिनाभित्र होटल पूर्ण रूपमा सञ्चालनमा आउने छ । ‘करिब ८५ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दुई महिनाभित्र सबै काम सकिने छ ।’

प्रकाशित : वैशाख ३१, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?