साहसिक खेलकुदको सम्भाव्यता अध्ययन

चन्द्र कार्की

तेह्रथुम — राष्ट्रिय खेलकुल परिषद्ले प्रदेश १ मा साहसिक खेलकुदको सम्भाव्यता अध्ययन शुरु गरेको छ । भारतको विहार, सिलगुढी, कलकत्ता, चीन र बंगलादेशसमेतका साहसिक खेलाडीलाई नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल पर्वतीय खेलकुद महासंघ समेतको संलग्नतामा परिषदले सबै जिल्ला पुगेर सम्भाव्यता अध्ययन शुरु गरेको हो । 

साहसिक खेलकुदको सम्भाव्यता अध्ययन

प्रदेश १ मा साहसिक खेल पर्यटनको राम्रो सम्भावना भएकाले सरकारी स्तर बाटै पहिलो पटक सम्भाव्यता अध्ययन शुरु गरीएको परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए । परिषद, पर्वतीय खेलकुद महासंघ, अखिल नेपाल फुटबल संघ (एन्फा) लगायतका खेलकुद सम्बद्ध संघसंस्था प्रदेश नम्बर १ का साहसिक खेलकुद खेलाउन सकिने स्थानको खोजीका लागि दौडिरहेका छन् ।


पूर्वी तराई, भारत र बंगालादेश समेतका साहसीक खेलाडीलाई लक्षित गरी स्थान छनौट गरिरहेको पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले बताए । अन्तराष्ट्रिय खेलाडी समेतलाई लक्षित गरी साहसिक खेलका गतिविधि सञ्चालन गर्न सके प्रदेश १ खेल क्षेत्रमा अव्बल हुने उनले दावी गरे ।


प्रदेश १ का १४ वटै जिल्लामा प्याराग्लाइडिङ, रकक्लाइबिङ, गल्फ, र्‍याफटङ, साइक्लिनिङ, प्याराग्लाडिङ, पर्वतारोहण, स्पोट क्लाईमविङ, रक क्लाइमविङ, क्रस कन्ट्री रनिङ, अल्ट्रा रनिङ, हक्की लगायतका साहासीक खेलकुद प्रतियोगिता बाह्रै महिना सञ्चालन गरेर पर्यटक आकर्षित गर्न सकिने अवस्था रहेको राखेप उपाध्यक्ष तिम्सीनाले बताए ।


प्याराग्लाइइिङका लागि धरान, उदयपुर र ईलाममा व्यवसायिक उडान गर्न सकिने अध्ययनले देखाएको छ । त्यस्तै तमोर र अरुण नदीमा र्‍याफटङ तथा कोशी नदीमा मोटर बोट संचालन गर्न सकिने परिषदले जनाएको छ । कोशी टप्पुमा हक्की खेलको सम्भावना देखिएको छ ।


त्यस्तै सुनसरीको धरानदेखि हिले हुँदै बसन्तपुर भएर संखुवासभा र तेह्रथुमको संगम स्थल गुफा बजारसम्म र इलामको कन्यामदेखि ताप्लेजुङको पाथीभरा सम्मको क्षेत्रमा गल्फ, साइक्लिनिङ, पर्वतारोहण, स्पोट क्लाईमविङ, रक क्लाइमबिङ, क्रस कन्ट्री रनिङ, अल्ट्रा रनिङ खेलको सम्भावना रहेको महासंघ अध्यक्ष भट्टराईले बताए ।


ओखलढुंगामा पनि यी खेलका लागि पर्याप्त सम्भावना भेटिएको छ । पहाडी क्षेत्रका डाँडा काँडामा यस्ता साहसिक खेलकुद प्रतियोगिता आयोजना गर्दा पहाडी तथा हिमाली सौन्दर्यको समेत दृष्यपान गर्न सकिने भएकाले खेल पर्यटनको विकासमा सहयोग पुग्ने राखेपले जनाएको छ ।


साहसिक खेलको रूपमा लिइने रक क्लाइम्बिङका लागि अध्ययन टोलीले तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित आरआर गार्डेनमा रहेको कैलाशहिलको पहरोलाई छनौट गरेको छ । आगामी असार मसान्तभित्र पहिचान पछि छनौटमा परेका स्थानमा प्रतियोगिता समेत आयोजना गर्ने तयारी भैरहेको पर्वतीय खेलकुद महासंघले जनाएको छ । सुनसरीको धरान देखी तेह्रथुमको बसन्तपुरसम्म साइक्लिनिङ, अल्ट्रा रनिङ र क्रस कन्ट्री रनिङ प्रतियोगिताको आयोजना गर्ने तयारी भैरहेको छ ।


धेरै उचाइका पहरा भएकाले पहाडका धेरै जिल्लामा रक क्लाइमविङको प्रचुर सम्भावना देखिएको अध्ययन टोलीमा संलग्न एन्फा अध्यक्ष कर्माछिरङि र्शर्पाले बताए । गल्फ कोर्षका लागि पनि पर्याप्त स्थान भेटीएको टोलीले जनाएको छ । असार मसान्तभित्र १ नम्बर प्रदेशभित्रका सबै स्थानको प्रारम्भिक अध्ययन पुरा गरसिक्ने र अध्ययन सम्पन्न भैसकेका स्थानमा प्रतियोगिता पनि संगसंगै आयोजना गर्दै लैजाने राखेप उपाध्यक्ष तिम्सिनाको भनाइ छ ।


आगामी २७ सेप्टेम्बर विश्व पर्यटन दिवसका अवसर पारेर प्रदेश १ का सबै जिल्लामा कुनै न कुनै प्रतियोगिता पर्ने गरी १५ वटा साहासीक खेलकुद प्रतियोगिताको आयोजना गर्ने तय भैसकेको महासंघ अध्यक्ष भट्टराईले बताए । सरकारले सन् ०२० मा घोषणा गरेको नेपाल भ्रमण वर्षका अवसर पारेर प्रदेश १ का सबै जिल्लामा कुनै न कुनै प्रतियोगिता पर्ने गरी साहसिक खेलकुद महोत्सव समेत आयोजना गरिने राखेपले जनाएको छ ।


सरकारी स्तरबाट विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सकेको खण्डमा भारत, बंगलादेश र चिन समेतका साहसिक खेडालीलाई प्रदेश १ मा भित्र्याउन सकिने पर्वतीय खेलकुद महासंघका अध्यक्ष भट्टराईको भनाइ छ । हाल कायम रहेको विमानस्थलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सकिए मात्र पनि छिमेकी देशका करोडौं साहासीक खेलाडी, शुभचिन्तक र दर्शकलाई पूर्वमा तान्न सकिने राखेप उपाध्यक्ष तिम्सिनाले बताए । ‘१ नम्बर प्रदेश साहसिक खेल पर्यटनको लागि राम्रो गन्तव्य बन्न सक्ने सम्भावना देखियो’ अध्ययनको सिलसिलामा संखुवासभाको गुफा क्षेत्रमा आइपुगेका राखेप उपाध्यक्ष तिम्सिनाले भने ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?