२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पर्यटक तान्दै जेफाले

सुम्निमा चाम्लिङ

इटहरी — प्रदेश १ सरकारले प्रदेशका पर्यटकीय स्थलको सूचीकरण गरेपछि अहिले पूर्वका पर्यटकीयस्थल चर्चामा आउन थालेका छन्  । पहिले ओझेलमा परेका कतिपय स्थानमा पर्यटकीय चहलपहल सुरु भएको छ  ।

पर्यटक तान्दै जेफाले

मोरङको उत्तरी क्षेत्र साविक सिंहदेवी हाल केराबारी गाउंँपालिका वडा २ स्थित जेफाले डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । जेफाले डाँडाबाट सर्वोच्च हिमाल सगरमाथा, कञ्चनजंघासँगै विभिन्न हिमशृंखलाहरू देख्न सकिन्छ ।


समुद्री सतहदेँख १ हजार ९ सय ७० मिटरको उचाईमा रहेको जेफाले डाडामा बनेको भ्यु टावर पर्यटकको मुख्य आर्कषण बनेको छ । बिहिबारे बजारबाट ३ सय मिटर उतर १ हजार ५० वटा सिढी चढेपछि उक्त भ्युटावर पुग्न सकिन्छ ।


यहाँबाट सूर्योदय सूर्यास्तको मनोरम दृश्यावलोकनका साथै पूर्वका अधिकांश जिल्लाका भूभाग, तराईका फाँटहरू देखिन्छ । मोरङ जिल्ला समन्वय समितिको ३० लाख ५० हजार, धनकुटा जिल्ला विकास समितीको ५ लाख, विराट पर्यटन केन्द्र काकडभिटाको २१ लाख र स्थानीयवासीको ८ लाख बराबरको जनश्रमदान गरी कुल ७० लाखमा भ्युटावर निर्माण सम्पन्न भएको हो ।


भ्युटावर निर्माणपछि पर्यटकको आवागमन बढेको स्थानीयवासीको भनाई छ । मोरङ र धनकुटाको संगमस्थलमा पर्ने जेफालेमा रहेको शिवपार्वतीको मन्दिर, पाथीभरा मन्दिर, राजस्थान पोखरी, ऐतिहासिक किम्बदन्ती रहेको तीनचाने ढुंगा, मन लोभ्याउने चियाबारी जेफालेको मुख्य आर्कषण हो । पछिल्लो समय जेफालेमा होमस्टे समेत सुरु भएको छ । मौलिक खानपान र सांस्कृतिक कार्यक्रम गरी पर्यटकलाई स्वागत गरिने चलन छ ।


यस ठाउंमा बाह्रैमास चिसो हावापानी हुने भएको कारण गर्मी मौसममा धेरै पर्यटकहरू आउने गरेको स्थानीयको भनाई छ । पछिल्लो समय जेफालेमा आन्तरिक संगै बाह्रय पर्यटकहरू समेत आउने गरेका छन् । पुर्वको पर्यटकीय गन्तव्य बन्दै गएको जेफालेमा संचारको भने कठीनाई छ । जेफाले सामुदायीक होमस्टेका सचिव भिम ठकुरीले फोन सम्पर्क हुन नसक्दा धेरै मुस्किल हुने गरेको बताए । मोबाइल सेवा लिनका लागी घरबाट केही टाढा जानु स्थानीयको बाध्यता हो । ‘घरदेखी डाँडामा गएर टावर खोज्नुपर्ने अवस्था छ । तत्काल फोन नलाग्दा धेरै अप्ठ्यारो छ’ उनले भने ।


कच्ची बाटोको कारण पर्यटकहरू अन्यत्र जाने गरेकोमा उनले दुखेसो पोखे । स्थानीय मायाश्री अधिकारीले जेफालेमा पर्यटकहरू भित्रिएसँगै आयस्तरमा समेत वृद्धि भएको बताइन् । ‘पर्यटकहरू जेफाले आउँदा स्थानीयले उत्पादन गरेको वस्तुहरू खरिद गर्ने गर्छन्, जसका कारण स्थानीयको आम्दानी बढेको छ ।’ वडामा प्रहरी चौकी नहुँदा स्थानीयवासी त्यति ढुक्क भने देखिन्न ।


‘वडामा अहिलेसम्म प्रहरी चौकी छैन । मनमा डर भइरहन्छ । प्रहरी चौकी भइदिए ढुक्क हुने थियो,’ उनले भनिन् । केराबारी गाउँपालिका वडां २ का वडाध्यक्ष प्रेम लिम्बुका अनुसार सञ्चार सेवा प्रभावकारी बनाउनका लागि सञ्चार सेवाप्रदायक संस्थाहरूसँग समन्वय भइरहेको छ ।


जेफालेको फेदीमा सामान्य नेटवर्क भए पनि अरू भूभागमा भने मुस्किल हुने गरेको छ । जेफालेमा २५ घरधुरी छ । ‘जनसंख्या कम भएको कारण सेवाप्रदायक संस्थाहरूले खासै चासो दिएको छैन, हामी सेवाप्रदायक संस्थासँग कुरा गरिरहेका छौ’ उनले भने । केराबारीदेखि जेफालेसम्म कुल २७ किलोमिटर छ ।

जसमध्ये गत वर्ष १२ किलोमिटर ग्राभेल बाटो सम्पन्न भएको छ । नेपाल सरकारबाट केराबारीदेखि सिंहदेवी जेफालेसम्म कालोपत्रे सडकका लागी ८८ करोडको बजेट छुटिएको वडाध्यक्ष लिम्बुले बताए । जेफाले क्षेत्रमा वार्षिक २० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?