३ बालबालिकामा डेंगु संक्रमण

प्रदीप मेन्याङ्बो

सुनसरी — डेंगु रोगले एकै वडाका तीन जना बालबालिका संक्रमित भएको फेला परेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवका अनुसार ७, १० र १४ वर्षका ती बालबालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 


ती मध्ये १४ वर्षीया बालिका बगरकोटका हुन् । १० र ७ वर्षका २ जना बालक पुष्पलाल मार्गका हुन् । प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परीक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए ।

Citizen


एक्कासि ज्वरो आउने, पेट दुख्ने र उल्टी आउने हुन थालेपछि बिरामीलाई अस्पताल लगिएको हो । उनले डेंगु प्रकोप गाउँघरमा भन्दा सहरमा बढी देखिन थालेको बताए । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले बिरामीको रगत जमाउने तत्त्व प्लेटलेट्सको अत्यधिक कमी भएको लक्षण देखिएपछि उपचार सुरु गरिएको बताए ।

उनका अनुसार स्वस्थ मानिसका रगतमा प्लेटलेट्सको संख्या डेढ लाखदेखि ३ लाखसम्म हुन्छ तर डेंगु हुँदा शरीरको रगतमा प्लेटलेट्सको संख्या २०, ३० हजारमा झर्छ जसले गर्दा रक्तस्राव पनि हुन सक्छ ।

जमेको सफा पानीमा बस्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण देखिन थालेपछि प्रतिष्ठानको प्राविधिक सहयोगमा उपमहानगरपालिकाले बुधबारदेखि प्रभावित क्षेत्र पहिचान गरी औषधि छर्कन सुरु गरेको छ । प्रमुख यादवले धरान-१५ बाझगराको एभरेस्ट लाइन, पाथिभरा लाइन, पिण्डेश्वर चोक, पुष्पलाल मार्ग, देवकोटा चोक, बुढासुब्बा चोक, सदन मार्ग, ध्रुवज्योति पथ र चेम्जोङ पथलगायतमा औषधि छर्किएको बताए ।
डेंगुको जाँच र उपचार प्रतिष्ठानमा हुन्छ । चिकित्सकहरूका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो ।

प्रतिष्ठानका माइक्रो बायोलोजी विभागका एडिस्नल प्रोफेसर डा. नारायण भट्टराईले डेंगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्ने र ज्वरोका साथसाथै आँखाको गेडी तथा टाउकाको पछिल्लो भागमा धेरै दुख्ने, शरीर दुख्ने, बिमिरा आउने र रक्तस्राव हुने लक्षण देखिने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने पनि भएकाले सतर्क रहनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तालिम दिने संस्थामाथि अनुसन्धान

जनकराज सापकोटा

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर छोटो अवधिको तालिम दिने संस्थाले ‘अन द जब ट्रेनिङ’ भन्दै अवैध रूपमा खाडी र युरोपका देशमा विद्यार्थी लगेको आशंकामा अध्यागमन विभागले अनुसन्धान थालेको छ । 

इटहरीको प्रिमियर होटल स्कुलले वैशाख १६ गते एक महिलासहित ५ विद्यार्थीलाई अन द जब ट्रेनिङका निम्ति भन्दै दुबई लैजान लागेका बेला विभागले रोकेको थियो । यो घटना बाहिर आएलगत्तै अध्यागमनले सीटीईभीटीबाट सम्बन्धन लिँदै अन द जब ट्रेनिङका निम्ति विदेश पठाउने संस्थाहरूमाथि निगरानी बढाएको छ ।

प्रिमियरले दुबईको होटलमा एक वर्षको अन द जब ट्रेनिङका लागि भन्दै विद्यार्थी लैजान खोजे पनि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएको थिएन । सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेका अनुसार सम्बन्धन दिइएकाहरूलाई तालिमका लागि विदेश लैजाने अनुमति हुँदैन । उनले संस्थाले आफैं दायित्व लिएर लैजाने कुरामा आफ्नो भूमिका नहुने बताए ।

‘देशमा आवश्यक पर्ने जनशक्ति देशभित्रै उत्पादन गर्न मात्रै सीटीईभीटीले सम्बन्धन दिने गरेको हो,’ उनले भने । तर पछिल्ला वर्षहरूमा सीटीईभीटीबाट अनुमति लिएका संस्थाहरूले ‘अन द जब ट्रेनिङ’ भन्दै विद्यार्थीलाई विदेश पठाउने क्रम तीव्र देखिन्छ । यस्ता संस्थाले ६ महिनाभन्दा लामो तालिमका हकमा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर निकाल्दै विद्यार्थी विदेश पठाइरहेका छन् ।

‘निर्दिष्ट कानुनको अभावमा शिक्षा मन्त्रालयको पत्रकै भरमा विद्यार्थी पठाउने र उतै लुक्न सघाउने प्रवृत्तिबढ्दो छ,’ अध्यागमनका एक अधिकारीले कान्तिपुरसँग भने, ‘अन द जब ट्रेनिङ मानव तस्करीको नयाँ रूपमा भइरहेको छ ।’ उनका अनुसार विद्यार्थी विदेश पठाउनेमा सबैभन्दा धेरै होटल म्यानेजमेन्टअन्तर्गतका विभिन्न विषय पढिरहेका विद्यार्थी छन् ।

प्रिमियर होटलका प्रिन्सिपल सुनील भुसालले विद्यार्थीका केही कागजपत्र नमिलेकाले अध्यागमनले उनीहरूलाई फिर्ता पठँइदिएको बतँए । उनले आफ्नो संस्थाले यसैगरी चीन र दुबई पनि पहिले विद्यार्थी पठाएको दाबी गर्दै फेरि कागजपत्र मिलाएर पठाउने तयारी थालेको बताए ।

अध्यागमनका अनुसार पछिल्ला वर्षहरूमा सीटीईभीटीबाट सम्बन्ध लिएका संस्थाहरूले सबैभन्दा धेरै विद्यार्थी दुबईका होटलमा पठाउन थालेको देखिन्छ । यसरी पुगेकामध्ये कैयन् नक्कली विद्यार्थी हुन सक्ने अध्यागमनका अधिकारीहरू बताउँछन् । ‘दुबई पुगेकाहरू समय सकिएपछि नफर्किने समस्या पनि देखिएकोछ,’ एक अधिकारीले भने ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले यसबारे बुझ्न सीटीईभीटीलाई पत्राचार गरिएको बतँए । ‘अन द जब ट्रेनिङका नाममा विद्यार्थी पठाउने भन्दै मानव तस्करी गरिएको हुन सक्छ । अनुसन्धानगर्दै छौं,’ उनले भने ।

२०७३ चैतमा पनि यूएईको दुबईस्थित मार्क पीजेएससी नामक रेस्टुरेन्टमा इन्टर्नसिप गर्न हिँडेको १२ विद्यार्थीमध्ये ८ लाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकिदिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को लेटरप्याड दुरुपयोग गरेर विद्यार्थी जान लागेको उक्त घटनाबारे अध्यागमन विभागले पनि अनुसन्धान गरेको थियो । ‘पछिल्लो घटना पनि यस्तै प्रवृत्तिको निरन्तरता हुन सक्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT