३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३ बालबालिकामा डेंगु संक्रमण

प्रदीप मेन्याङ्बो

सुनसरी — डेंगु रोगले एकै वडाका तीन जना बालबालिका संक्रमित भएको फेला परेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवका अनुसार ७, १० र १४ वर्षका ती बालबालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

ती मध्ये १४ वर्षीया बालिका बगरकोटका हुन् । १० र ७ वर्षका २ जना बालक पुष्पलाल मार्गका हुन् । प्रतिष्ठानको बालरोग विभागका डा. अरुणकुमार सिंहले आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परीक्षण गर्दा डेंगु भएको पुष्टि भएको बताए ।

एक्कासि ज्वरो आउने, पेट दुख्ने र उल्टी आउने हुन थालेपछि बिरामीलाई अस्पताल लगिएको हो । उनले डेंगु प्रकोप गाउँघरमा भन्दा सहरमा बढी देखिन थालेको बताए । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले बिरामीको रगत जमाउने तत्त्व प्लेटलेट्सको अत्यधिक कमी भएको लक्षण देखिएपछि उपचार सुरु गरिएको बताए ।

उनका अनुसार स्वस्थ मानिसका रगतमा प्लेटलेट्सको संख्या डेढ लाखदेखि ३ लाखसम्म हुन्छ तर डेंगु हुँदा शरीरको रगतमा प्लेटलेट्सको संख्या २०, ३० हजारमा झर्छ जसले गर्दा रक्तस्राव पनि हुन सक्छ ।

जमेको सफा पानीमा बस्ने ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण देखिन थालेपछि प्रतिष्ठानको प्राविधिक सहयोगमा उपमहानगरपालिकाले बुधबारदेखि प्रभावित क्षेत्र पहिचान गरी औषधि छर्कन सुरु गरेको छ । प्रमुख यादवले धरान-१५ बाझगराको एभरेस्ट लाइन, पाथिभरा लाइन, पिण्डेश्वर चोक, पुष्पलाल मार्ग, देवकोटा चोक, बुढासुब्बा चोक, सदन मार्ग, ध्रुवज्योति पथ र चेम्जोङ पथलगायतमा औषधि छर्किएको बताए ।

डेंगुको जाँच र उपचार प्रतिष्ठानमा हुन्छ । चिकित्सकहरूका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो ।

प्रतिष्ठानका माइक्रो बायोलोजी विभागका एडिस्नल प्रोफेसर डा. नारायण भट्टराईले डेंगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्ने र ज्वरोका साथसाथै आँखाको गेडी तथा टाउकाको पछिल्लो भागमा धेरै दुख्ने, शरीर दुख्ने, बिमिरा आउने र रक्तस्राव हुने लक्षण देखिने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने पनि भएकाले सतर्क रहनुपर्ने बताए ।


प्रकाशित : जेष्ठ २, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?