पर्यटनबारे बुझ्दै भारतीय

अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्माणको टोली पूर्वी नेपालको पर्यटकीय क्षेत्रको आकर्षणलाई पश्चिम बंगालदेखि भारत र विश्वसामु पुर्‍याउने उद्देश्यले इलाममा आएका हो । उनीहरुले बर्खाको समयलाई उपयोग पनि गरेका हुन् । 
विप्लव भट्टराई

इलाम — भारतको कोलकातास्थित एसोसिएसन फर कन्जरभेसनका अध्यक्ष राज बासु इलामका उत्तरी गाउँ चहार्दै  गरेका भेटिए ।

पर्यटनबारे बुझ्दै भारतीय

अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्माणको टोलीसहित पर्यटकीय क्षेत्रका नयाँ विशेषता खोज्दै भेटिएका बासु पर्यटक तान्न सक्ने यहाँका विभिन्न आकर्षणलाई पश्चिम बंगालदेखि सिंगो भारत र विश्वसामु पुर्‍याउने इच्छाले यहाँ आएका हुन् ।


गत मंसिरमा कोलकातामा ओरेन्ज फेस्टिभल गरेर सिंगो पश्चिम बंगालसहित सिक्किम, नेपालको प्रदेश १, अरुणाञ्चल, भुटान र वर्मासमेतलार्ई जोड्ने प्रयास गरेका बासुले योपटक बर्खा सिजनमा पूर्वी नेपालको क्षेत्र घुमघामलाई प्राथमिकतामा राखेका छन् ।


‘कोलकाता महोत्सवको उदेश्य सुन्तलामार्फत पूर्वोत्तर भारतसहित नेपाल र अरु यस क्षेत्रका देशका हरेक पर्यटकीय गतिविधिलाई जोड्नु थियो,’ उनले भने, ‘अहिले बर्खायाममा झापाबाट इलामका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाम गराउने तयारी भइरहेको छ ।’


बर्खायाममा नेपालका अधिकांश पर्यटकीयस्थलमा चहलपहल कम हुन्छ । तर इलामसहित पूर्वी क्षेत्रमा बर्खायाममा पनि मनग्य पर्यटकीय भित्र्याउने आधार रहेको सरोकारवालाको बुझाई छ । यसका लागि सडकसहितका पर्यटकीय पूर्वाधार विकासमा भने ध्यान पुर्‍याउने पर्नेछ ।


प्रोटेस्टिङ नेचर एण्ड कल्चर हेरिटेज थ्रु रेसपोन्सिबल टुरिजमको नारामा ‘द रेडपाण्डा च्यालेन्ज २०१९ केचना टु कञ्चनजंघा’ नाम दिइएको अभियानले यो क्षेत्र घुमघामका लागि विश्वभर प्रचार गर्नेछ । बर्खाको समयलाई उपयोग गर्दै इलामका पर्यटकीय क्षेत्रमा घुमघामको व्यवस्था मिलाउनुको अर्को कारण हो दार्जिलिङको सिंहलीला क्षेत्रमा पर्यटक आवागमन बन्द हुनु ।


‘रेडपाण्डाको प्रजनन समय भएकाले सीमावर्ती क्षेत्रमा पर्यटक प्रतिबन्धित हुन्छन्,’ ढापपोखरीमा भेटिएका सिक्किम सरकारका पर्यटन सल्लाहकारसमेत रहेका बासुले भने, ‘यही ३ महिनालाई उपयोग गर्दै नेपालका पर्यटकीय क्षेत्रमा चहलपहल बढाउने सुरुवात गर्ने पहल गरिरहेका छौं ।’ सिंहलिला क्षेत्रमा जुन १५ देखि सेप्टेम्बर १५ सम्म रेडपाण्डाको प्रजनन्मा बाधा पुग्ने भन्दै पर्यटक प्रतिबन्ध गरिन्छ ।’


यो समयमा सीमावर्ती नेपाल क्षेत्रमा रहेका सबै होटल बन्द हुन्छन् । जसका कारण उनीहरूलाई आर्थिक संकट हुने र जीविकोपार्जनका लागि त्यहाँको महत्वपूर्ण वन क्षेत्रमा आश्रित हुँदा संरक्षणमा बाधा पुग्ने गरेको नेपालको पर्यटन विकासमा चासो दिइरहेको यो समूहको बुझाइ छ ।


हिमशृंखला दृश्यावलोकनसहित जैविक विविधता, जातीय संस्कृति र अनेकन प्राकृतिक

सुन्दरताले भरिएको सन्दकपुरसहितका क्षेत्रमा अहिलेसम्म पनि नेपाल भएर उल्लेख्य पर्यटक पुग्न सकेका छैनन् ।


‘यो अभियानमा हामीले पनि भरपुर साथ दिएका छौं,’ मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले भने, ‘पश्चिम बंगालबाटमात्र सन्दकपुर क्षेत्रमा आउने पर्यटकलाई इलामबाट घुमाउन सकियो भने सम्पूर्ण इलामको पर्यटनले उचाई लिन्छ ।’


वर्षेनि ठूलो संख्यामा घुमघाममा निस्कने बंगाली पर्यटकको रोजाइमा अहिलेसम्म इलाम पर्न सकेको छैन । बंगालका बासिन्दा एडभेन्चर रुचाउने भएकाले नेपाल एक अब्बल गन्तव्य हुनेमा बासुको टिम सहमत छ । उनले हिमाल र खोला मात्र नभएर नेपालको ग्रामीण पर्यटनलाई पनि थप प्रचार गर्न आवश्यक रहेको सुनाए ।


उत्तरी इलाममा पाइने रेडपाण्डा, काँडेभ्याकुरसहित धार्मिक स्थान र साहसिक र रमणीय गतिविधि योग्य स्थानले पनि बंगाली पर्यटन तान्न सक्ने ग्रिन जेनेरेसनका अध्यक्ष अर्जुन कार्कीको भनाइ छ ।


‘नेपाल भ्रमण वर्षलाईसमेत लक्षित गरेर इलामसहित पाँचथर ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा अधिक्तम पर्यटक भित्र्याउने पहल भइरहेको छ,’ उनले भने । इलाम चाहर्दै भेटिएको समूहमा डकुमेन्ट्री मेकर अजय दाससहितको टोलीसहित झापाका केचना कवलका गन्धर्वहरूको टिमसमेत सहभगी थियो ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?