१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बुद्धका उपदेश पालनामा जोड

संखुवासभा — सदरमुकाम खाँदबारी र चैनपुरमा शनिबार बुद्ध जयन्ती मनाइएको छ । २५६३ औं बुद्ध जयन्तीको अवसरमा खाँदबारीको त्रिरत्न बिहार र चैनपुरमा विभिन्न कार्यक्रम आयोजना गरियो ।

बुद्धका उपदेश पालनामा जोड

बिहार, गुम्बा, स्तूप, चैत्यबाट बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकालिएको थियो । खाँदबारी शाक्य समाजले त्रिरत्न बिहारबाट बुद्धको मूर्ति र अस्थि धातुसहित शान्ति र्‍याली निकालेको थियो । र्‍यालीले पोखरी बजार हुँदै देवकोटा चोकको परिक्रमा गरेर त्रिरत्न बिहारमा फर्किएको थियो । शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्गम् शरणम् गच्छामि’ को नारा लगाएर उनीहरूले परिक्रमा गरे ।


ललितपुरका समाजसेबी अमिर शाक्यले बुद्धको मूर्ति उपलब्ध गराए । उनले मूर्ति शाक्य समाजका अध्यक्ष किरणकुमार शाक्यलाई हस्तान्तरण गरे । भेला भएका उपासक र उपासिकाहरूले बुद्ध पूजा गरिसकेपछि ज्ञानमाला भजन लगायतका भजन प्रस्तुत गरे ।


धर्म, संस्कृति, जातीय अस्तित्व र बाजाहरू जोगाउनका लागि बिहारमा नियमित पूजापाठ भइरहेको किरणले बताए । उक्त अवसरमा जग्गा दाता, चन्दा दाताहरूलाई सम्मान गरिएको थियो । ब्रह्मकुमारी राज योग उपसेवाकी रचना आचार्यले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको चर्चा गरे ।


जिससका प्रमुख सुमन शाक्यले विविध जातजाति, भाषाभाषी, र धार्मिक तथा सांस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम गर्न गौतमबुद्धका उपदेश तथा मार्गदर्शन अहिले पनि प्रेरणादायी भएको बताए ।


बुद्धको सन्देश अहिले पनि राष्ट्रिय एकतालाई बलियो बनाउने अभियानमा सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय भएको सहभागिहरूले बताए ।


अधिकांश वक्ताले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिनेमा जोड दिए । बुद्धका उपदेशले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्ने उनीहरूले बताए ।


यसै अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । जिसस प्रमुख, शाक्य समाजका पदाधिकारीहरूले २ दर्जन बिरामीलाई फलफूल वितरण गरेका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?