कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन तस्करी

मोरङ — खुसा सीमाको फाइदा उठाउँदै भारतबाट तस्करी हुने क्रम अनियन्त्रित बनेको छ । तस्करहरूले धान, गहुँ, मकै भन्दै अनेक सामग्री भन्सार छलेर भित्र्याउने गरेका छन् ।

धनपालथान गाउँपालिका २ स्थित खैरबाना टोलसँगै जोडिएको दशगजाभरि धान, गहुँ र मकै छरिएको देखिन्छ । सीमावर्ती भारतीय गाउँ गरैयादेखि खैरबानासम्म तस्करी हुने गरेकाले यस्तो देखिने गरेको स्थानीय बताउँछन् ।


दशगजानजिक स्थानीय इन्द्रदेव साहको धान खरिद बिक्री गर्ने केन्द्र छ । उनको घरमा धान, गहुँ र मकै भरिएको बोराको चाङ छ । साहसँगै खैरबानाका श्रवण साह, उमेश साह, दिलिप साह, उचितलाल साहलगायत ६ वटा धान खरिद बिक्री गर्ने पसलमा धान, गहुँ र मकै भरिएको बोराको चाङ राखेको देखिन्छ ।


ब्यापारीहरूले सुरक्षाकर्मीसँग 'लाइन' मिलाएर भारतबाट अवैध रूपमा धान, गहुँ र मकै भित्र्याउने गरेको स्थानीय महाबीर चौधरी बताउँछन् । 'खैरबानाबाट दैनिक ८/१० वटा ट्रक र १२/१४ वटा ट्याक्टरमा धान, गहुँ र मकै सुनसरी मोरङ कोरिडोरका सेलर मिलहरूमा जाने गरेको छ,' उनले भने, 'ट्रकका ट्रक धान, गहुँ र मकै भन्दै कपडा, मोटरपार्टस, कस्मेटिकलगायतका सामग्री तस्करहरूले भन्सार छलेर ल्याउने गरेका छन् ।'


स्थानीय जयप्रकाश साहले भारतबाट धानलगायत बिभिन्न सामान अवैध रूपमा भित्र्याउन सुरक्षाकर्मीसँग लाइन मिलाउने गरेको स्थानीयले बताए । उनले स्थानीय व्यापारीसँग रकम असुली गरेर सुरक्षाकर्मीलाई मासिक २५ देखि ५० हजारसम्म र दैनिक ४ देखि १० हजार भारतीय रुपैयाँ बुझाउने गरेको स्थानीय जानकारले बताए ।


प्रहरी चौकी अमही बरियातीको कार्यालय पनि खैरबानामै छ । प्रहरी कार्यालयदेखि दशजगा २ सय मिटरको दूरीमा रहेको र त्यही २ सय मिटरमा ५ वटा धान खरिद बिक्री केन्द्र छ । प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक कलानन्द यादवले चोरी तस्करी नभएको दाबी गरे । 'चौकीमा जम्मा ५ जना जनशक्ति रहेकाले चौतर्फी हेर्न पनि भ्याइँदैन,' उनले भने, 'खुला सीमाका कारण छलेर चोरी तस्करी भइरहेको हुन सक्छ तर लाइन मिलाएर तस्करी भइरहेको भन्नु गलत हो ।'


खैरबानादेखि ५ किलोमिटर पूर्वमा मायागञ्ज छोटी भन्सार कार्यालय र त्यहीँ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छ । सशस्त्र प्रहरीले पनि चोरी तस्करी नियन्त्रणमा ध्यान नदिएको स्थानीय बताउँछन् ।


यस्तै, जिल्लास्थित तरिगामा, रंगेली, आमगाछीलगायत नाकाबाट भारतबाट विभिन्न सामग्री चोरी तस्करी भइरहेको स्थानीयको भनाइ छ ।


तरिगामा नाकाबाट खाली ड्रम, गिट्टी, बालुवा, ग्राभेललगायत सामग्री भारततर्फ र भारतबाट कपडा, मोटरपार्टस, इलेक्ट्रेनिक्स, शृंगारका सामग्री अत्यधिक चोरी तस्करी भइरहेको स्थानीय जननिर्वाचित प्रतिनिधि बताउँछन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसी प्रहरीले लाइन चलाएको कुरा सत्य नभएको बताउँछन् ।


'प्रहरीले लाइन चलाएर तस्करी गराइरहेको र तस्करहरूबाट रकम लिएको तथ्य प्रमाण छ भने दिनुस्,' उनले भने, 'ठाउँको ठाउँ कारबाही गर्छु,' उनले भने । खुला सिमाना भएकाले दशगजामै तस्करलाई ढुकेर बस्न नसकिने अवस्था रहेको उनले सुनाए ।

प्रकाशित : जेष्ठ ६, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?