पर्यटन प्रवर्द्धननिम्ति साइकल

प्रदूषणमुक्त समाज निर्माणका लागि स्वस्फूर्त युवा जमात यात्रामा सहभागी
विप्लव भट्टराई

इलाम — कुहिरो र घामको लुकामारीसँगै रोङ गाउँपालिकाको कुटिडाँडाबाट फरक शैलीको यात्रा सुरु भयो । तराईमा गर्मीले उखुम बनाएका बेला केही माथिको शीतल वातावरणमा लस्करै साइकल लिएर हिँड्नेहरू देख्दा स्थानीयले अनौठो माने । 

इलाम चिया बगानमा साइकल कुदाउँदै यात्री । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको कुटिडाँडाबाट ५५ किलोमिटर साइकल यात्रा गर्दै झन्डै एक सय जना इलाम आएका हुन् ।तस्बिर : विप्लव / कान्तिपुर

इलामको नागबेली सडकमा धूँवाको मुस्लो फाल्दै हिँड्ने लावालस्कर मोटरसाइकलदेखि भारी क्षमताका ट्रकबस देखेका स्थानीयका लागि यो नौलो दृश्य थियो । करिब १ सयको हाराहारीमा पाइडल मार्दै निस्किएको साइकलवालाको ताँती गज्जब देखियो ।

कन्याम, फिक्कल र करफोकको सल्लाघारी छिचोल्दै इलाम बजार भित्रिँदा उनीहरूको थकान भुलाउन बाक्लो संख्यामा इलाम चोकबजारमा स्थानीय थिए ।

‘साइकल चलाउ स्वास्थ्य बनौं’ भन्ने नाराका साथ शनिबार कुटिडाँडाबाट ५५ किलोमिटर लामो साइकल यात्रा गरिएको हो । विभिन्न पेसा र उमेर समूहकाले इलामको कुटिडाँडाबाट बिहान ८ बजे सुरु गरेको साइकल यात्रा साँझ इलाम आइपुग्यो ।

विभिन्न घुम्ती र गोलाई पार गर्दै आएका साइकल यात्रीले ऐतिहासिक इलाम चियाबारीको फेरो लगाउन भ्याएका थिए । देशभरबाट जुटेका साइकल प्रेमी यो यात्रामा सहभागी छन् ।

आइतबार इलामबाट झापा झर्ने छोटो दूरीको भन्ज्याङ, बेलासे दानाबारी हुँदै यो टोली झापाको बिर्तामोड झर्नेछ । ‘प्रदूषणमुक्त समाजको निर्माणका लागि स्वत: स्फूर्तरूपमा यो यात्रा तय भएको हो,’ अभियानका अगुवा झापा अर्जुनधाराका योगेन्द्र थापाले भने ।

‘इलामका महŒवपूर्ण पर्यटकीय स्थललाई जोड्नका लागि पनि यो यात्रा सफल हुने ठानेर सहाभागी भएको हुँ,’ रोङ गाउँपालिकास्थित सलकपुरका सुवास तामाङले भने । साइकल यात्रीलाई मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन विकास समितिलगायतले स्वागत गरे ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले भने, ‘पहाडी क्षेत्रको रमणीयतमा रम्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हुने क्रियाकलापमा हामी निरन्तर सहभागी रहन्छौं ।’
यो टोलीले इलामबाट तराई झर्ने द्रुत मार्गका रूपमा लिएको सडक पार गर्नेछ ।

यसले त्यस क्षेत्रका सम्भावना र आवश्यकतालाई अगाडि ल्याउन सकिने स्थानीयको अपेक्षा छ । ‘यस क्षेत्रका हरेक महत्वपूर्ण वस्तुलाई पर्यटकीय हिसाबले उजागर गर्न पनि यो यात्रा गरिएको हो,’ सहभागी बुद्ध तामाङले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कृत्रिम खुट्टा पाएपछि...

कान्तिपुर संवाददाता

विराटनगर — इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङमा साम्बा १६ वर्षकी भइन् । जन्मँदै उनको दाहिने खुट्टाको पैताला थिएन । मार्चेबुङ माविमा कक्षा १० अध्ययनरत उनले १० वर्ष विद्यालय जान र आउन निकै कष्ट ब्यहोर्नुपर्‌यो ।

विराटनगरस्थित सीबीआरमा आइतबार कृतिम खुट्टा लगाउँदै मनिहाङ्मा साम्बा ।तस्बिर : विनु /कान्तिपुर

‘साथीहरू आधा घण्टा जतिमै विद्यालय पुग्थे,’ उनले भनिन्, ‘खुट्टामा चप्पल जुत्ता लगाउन नमिल्ने भएकाले खाली खुट्टा हिँडदा धेरै दुख्थ्यो, बीचमा बस्दै जाँदा मलाई एक घण्टा लाग्थ्यो ।’

विद्यालय जाँदाआउँदा र घाँस दाउरा गर्दा उनका खुट्टा कैयौं पटक रगतपच्छे भए । उनी एउटा खुट्टामा मात्रै चप्पल लगाएर हिँडडुल गर्थिन् । ‘मैले न जुत्ता नै लगाउन मिल्थ्यो न चप्पल,’ उनले भनिन, ‘खाली खुट्टा विद्यालय जाँदा आउँदा जहिले पनि चोट लाग्थ्यो ।’

सबैभन्दा कष्ट त उनलाई एक घण्टाको बाटो हिँडेर विद्यालय जाउजाउ गर्न थियो । एक वर्ष भयो उनी विद्यालय जाने सडक बनेको । सडक बन्नुअघि विद्यालय जान स्थानीय रतुवा खोलामात्रै ७ ठाउँमा तर्नुपथ्र्यो । उनले भनिन्, ‘अनेक कष्ट खेपेर पनि मैले हरेस भने खाइन् ।’

गत वर्ष भर्ना अभियानका क्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उच्च शिक्षासम्म उनको पठनपाठन र अरू खर्च व्यहोर्ने गरी ‘अभिभावकत्व’ ग्रहण गरेका थिए । विराटनगर ल्याएर उनको परीक्षण समेत गराए ।

कृत्रिम खुट्टा लगाउन मिल्ने सल्लाह चिकित्सकले दिएपछि अपांगता भएकाहरूका लागि विभिन्न हातखुट्टा र उपकरण बनाउँदै आएको विराटनगरस्थित सिविआर संस्थाले कृतिम खुट्टा बनाइदियो । खुट्टा पाएपछि मनिहाङ्मा निकै खुसी देखिन्थिन् ।

एक सातादेखि सिविआरमै बसेर कृतिम खुट्टाको परीक्षण गरिरहेकी उनले आइतबार घिमिरेकै हातबाट कृतिम खुट्टा ग्रहण गरिन्  मनिहाङ्माजस्ता अन्य ११ जनालाई पनि कृत्रिम उपकरण वितरण गरियो ।

शारीरिक अपांगता भएका मोरङ रंगेलीका कमल हस्तालाई हिवलचियर, सुनसरी इनरुवाका सुस्त मनस्थिति भएका चन्द्रशेखर महतो, मनिका कटवाललाई विशेष कुर्सी, विवेक श्रेष्ठलाई कृत्रिम हात दिइएको थियो ।

विनु तिम्सिना

प्रकाशित : जेष्ठ ७, २०७६ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT