पर्यटन प्रवर्द्धननिम्ति साइकल

प्रदूषणमुक्त समाज निर्माणका लागि स्वस्फूर्त युवा जमात यात्रामा सहभागी
विप्लव भट्टराई

इलाम — कुहिरो र घामको लुकामारीसँगै रोङ गाउँपालिकाको कुटिडाँडाबाट फरक शैलीको यात्रा सुरु भयो । तराईमा गर्मीले उखुम बनाएका बेला केही माथिको शीतल वातावरणमा लस्करै साइकल लिएर हिँड्नेहरू देख्दा स्थानीयले अनौठो माने । 

इलाम चिया बगानमा साइकल कुदाउँदै यात्री । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको कुटिडाँडाबाट ५५ किलोमिटर साइकल यात्रा गर्दै झन्डै एक सय जना इलाम आएका हुन् ।तस्बिर : विप्लव / कान्तिपुर

इलामको नागबेली सडकमा धूँवाको मुस्लो फाल्दै हिँड्ने लावालस्कर मोटरसाइकलदेखि भारी क्षमताका ट्रकबस देखेका स्थानीयका लागि यो नौलो दृश्य थियो । करिब १ सयको हाराहारीमा पाइडल मार्दै निस्किएको साइकलवालाको ताँती गज्जब देखियो ।

कन्याम, फिक्कल र करफोकको सल्लाघारी छिचोल्दै इलाम बजार भित्रिँदा उनीहरूको थकान भुलाउन बाक्लो संख्यामा इलाम चोकबजारमा स्थानीय थिए ।

‘साइकल चलाउ स्वास्थ्य बनौं’ भन्ने नाराका साथ शनिबार कुटिडाँडाबाट ५५ किलोमिटर लामो साइकल यात्रा गरिएको हो । विभिन्न पेसा र उमेर समूहकाले इलामको कुटिडाँडाबाट बिहान ८ बजे सुरु गरेको साइकल यात्रा साँझ इलाम आइपुग्यो ।

विभिन्न घुम्ती र गोलाई पार गर्दै आएका साइकल यात्रीले ऐतिहासिक इलाम चियाबारीको फेरो लगाउन भ्याएका थिए । देशभरबाट जुटेका साइकल प्रेमी यो यात्रामा सहभागी छन् ।

आइतबार इलामबाट झापा झर्ने छोटो दूरीको भन्ज्याङ, बेलासे दानाबारी हुँदै यो टोली झापाको बिर्तामोड झर्नेछ । ‘प्रदूषणमुक्त समाजको निर्माणका लागि स्वत: स्फूर्तरूपमा यो यात्रा तय भएको हो,’ अभियानका अगुवा झापा अर्जुनधाराका योगेन्द्र थापाले भने ।

‘इलामका महŒवपूर्ण पर्यटकीय स्थललाई जोड्नका लागि पनि यो यात्रा सफल हुने ठानेर सहाभागी भएको हुँ,’ रोङ गाउँपालिकास्थित सलकपुरका सुवास तामाङले भने । साइकल यात्रीलाई मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटन विकास समितिलगायतले स्वागत गरे ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले भने, ‘पहाडी क्षेत्रको रमणीयतमा रम्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हुने क्रियाकलापमा हामी निरन्तर सहभागी रहन्छौं ।’
यो टोलीले इलामबाट तराई झर्ने द्रुत मार्गका रूपमा लिएको सडक पार गर्नेछ ।

यसले त्यस क्षेत्रका सम्भावना र आवश्यकतालाई अगाडि ल्याउन सकिने स्थानीयको अपेक्षा छ । ‘यस क्षेत्रका हरेक महत्वपूर्ण वस्तुलाई पर्यटकीय हिसाबले उजागर गर्न पनि यो यात्रा गरिएको हो,’ सहभागी बुद्ध तामाङले भने ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

खुलेनन् इलाम र कन्यामका बगान 

विप्लव भट्टराई

इलाम — ४४ दिनदेखि जारी श्रमिक आन्दोलनका कारण बन्द रहेका इलामका दुईवटा चिया बगान अझै खुल्न सकेका छैनन् । मुलुककै पुरानो इलामसहित कन्याम चिया बगान सञ्चालनमा आउन नसकेका हुन् । केही दिनदेखि झापालगायत क्षेत्रका कारखाना सञ्चालनमा आएपछि यहाँ पनि आन्दोलन टुंगिने अपेक्षामा रहेका श्रमिक निरास छन् । 

व्यवस्थापनले ती बगानमा कम आम्दानी हुने भन्दै सरकारले तोकेको सेवा सुविधा दिन नसक्ने अडान राखेको श्रमिक नेता दीपक तामाङले बताए । पूर्वका अन्य चिया बगान र कारखाना क्रमशःसञ्चालनमा आउन थालेका छन् । आन्दोलनका कारण इलाम र कन्यामका तीन सय श्रमिक समस्यामा छन् । कन्याम बगानमा स्थायी र पार्टटाइमरसहित अढाइ सय कार्यरत छन् भने इलाममा ५१ रहेका छन् ।

चिया टिपेरै घर चलाउने बाध्यता भएका उनीहरू कष्टमा छन् । ‘सबैतिर बगान खुल्न थाले पनि हाम्रो नखुल्दा झन पीडा भएको छ,’ इलाम बगानकी सरस्वती चम्लागाईले भनिन्, ‘अधिकांश श्रमिकलाई दैनिक खर्च धान्न पनि समस्या छ ।’ अधिकांश श्रमिक छिटो समस्या समाधान गरेर बगानमा फर्कन पाइयोस् भन्ने अपेक्षामा छन् । सरकारले दिएको सुविधा मात्र माग गरेकाले यसलाई गम्भीर रूपमा लिइनुपर्ने कन्यामका उमेश रेग्मीले बताए ।

सिजन सुरु हुनासाथ थालिएको मजदुर आन्दोलनका कारण इलामका चिया बगानमा हरियो चियापत्ती हुर्केर काम नलाग्ने अवस्थामा पुगेको छ । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनुपरेको उनीहरूको गुनासो छ । श्रमिकहरूले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनुपर्ने, दसैं खर्चलगायत अन्य सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।

यता त्रिवेणी संघाई ग्रुपले भने समाधानको प्रयासमा आफूहरू रहेको जनाएको छ । पहाडी बगानमा आम्दानी कम हुने र सरकारले पनि आफूहरूसँग सल्लाह नगरी सेवा सुविधा बढाएकाले थेग्नै नसक्ने अवस्थामा पुगेको दाबी उक्त कम्पनीको छ । केही दिनभित्र समस्याको समाधान निकाल्न सकिने अध्यक्ष सुवास संघाईको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT