नौमती बाजा संरक्षणमा गैरदलित

धनकुटा छथरजोरपाटीको नाम्जाङका बाहुन, क्षेत्री, गुरूङ, मगरलगायत समुदाय गाउँबस्तीको शुभकार्यमा पञ्चेबाजा बजाउँछन्
कान्तिपुर संवाददाता

धनकुटा — धनमाया गुरुङ र सीता घिमिरे जोर दमाहा बजाउँदै गीत गाउन व्यस्त छन् । उनको छेउमा रहेकी राधिका बस्नेत पनि झ्याम्टा बजाउँदै लयमा लय खिप्दैछिन् । अन्यको हातमा पनि कुनै न कुनै बाजा छ । बाजा बजाउने र गीत गाउने मात्र व्यस्त छैनन्, अन्यले पनि नाच्दै साथ दिएका छन् । 


नौमती बाजा संरक्षणमा जुटदै आएका धनकुटा छथरजोरपाटी गाउँपालिका ४ नाम्जाङका स्थानीय गैरदलित समुदाय यसरी व्यस्त बन्दै आएका हुन् । गाउँबस्तीमा आयोजना हुने हरेक शुभकार्यमा नौमती बाजाका लागि यही समूहलाई निम्ता गरिन्छ ।

स्थानीय बाहुन, क्षेत्री, गुरुङ, मगरलगायत ३६ जना गैरदलित समुदाय सहभागी रहेको नौमती बाजा संरक्षण समूहका अध्यक्ष दीपक गुरुङले बताए । यसमा महिलाको सहभागिता उल्लेख्य छ ।

परम्परागत रूपमा नौमती तथा पञ्चेबाजा बजाउने दलित (दमाई) जाति अन्य व्यवसायमा समेटिएपछि अभाव खड्किँदै आएकाले संरक्षण अभियान थालिएको गुरुङको भनाइ छ ।

‘बिहे, व्रतबन्ध, विभिन्न उत्सवमा नौमती बाजाकै माग बढी हुने भएकाले यसको संरक्षण गर्नु जरुरी छ,’ उनले भने, ‘बाजा बजाउन यही जात भन्ने नै छैन, यसर्थ हामीले थालेको प्रयासले सार्थक रूप पाएको छ ।’

कला संस्कृतिको जर्गेना र नौमती बाजा संरक्षण गर्ने उद्देश्यले यो अभियान थालिएको उनले बताए । दमाहा, झ्याम्टा, टेम्को, मादल, बागदल, समया, झ्यालीमा महिला सहभागी हुन्छन् । तर, नरसिंहा र सनई बजाउन कठिन भएकाले पुरुषले साथ दिएको दिपा घिमिरेले बताइन् । सनई बजाउन महिलाले समेत सिक्दै आएको उनले भनिन् ।

सुरुमा कठिन भए पनि सहज बन्दै गएको सनई बजाइरहेका उमेश गुरुङले बताए । तीन समूहले एउटै संस्था खोलेर संरक्षणमा जुटदै आएका छन् ।

सुरुमा तेह्रथुमको लालीगुराँस नगरपालिकाका लालबहादुर नेपालीलाई प्रशिक्षकका रूपमा १५ दिन तालिम लिएपछि स्थानीयले बाजा बजाउन थालेको सचिव इन्द्र घिमिरेले बताए । गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको १ लाख ४५ हजार रुपैयाँमा आवश्यकअन्य रकम आफूहरूले थपेर बाजा किनेको उनले सुनाए ।

मेला महोत्सवदेखि विवाह, व्रतबन्धजस्ता काममा समूहले शुल्क लिएर सहभागिता जनाउँदै आएको छ । महिलाले साडी,
चोलो र पुरुषले दौरासुरुवाल, टोपीमा सजिएर बाजा बजाउँछन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वाधार विकास साझेदारी कार्यक्रम फितलो

देवनारायण साह

मोरङ — स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आएको बजेटमध्ये हालसम्ममा ९.५९ प्रतिशतमात्रै खर्च हुन सकेको छ । जिल्लाका ६ संसदीय निर्वाचन क्षेत्रमा ऊक्त कार्यत्रमअन्तर्गत २४ करोड रुपैयाँ बजेट आएको थियो ।

त्यसमध्ये २ करोड ३० लाख २३ हजार रुपैयाँ मात्रै खर्च भएको छ । जिल्लास्थित १७ स्थानीय तहमध्ये सांसदले धनपालथान गाउँपालिकाबाहेक १६ योजना छनोट गरी बजेट विनियोजन गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका अनुसार जिल्लास्थित १६ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी विराटनगर महानगरमा २१ वटा योजनाका लागि ३ करोड ३४ लाख बजेट विनियोजन भएको तर हालसम्म एक रुपैयाँ पनि खर्च हुन सकेको छैन ।

दोस्रोमा सुन्दरहरैंचा नगरपालिकामा १२ वटा योजनाका लागि विनियोजन गरिएको २ करोड ४९ लाख २५ हजारमा पनि खर्च शून्य छ । यस्तै, पथरीशनिश्चरे नगरपालिकामा विनियोजन गरेको १ करोड ३४ लाख ६० हजार, लेटाङको ९९ लाख ७० हजार र सुनवर्षीको १ करोड ९ लाख ६७ हजार र रतुवामाईको १ करोड २९ लाख ६१ हजार बजेटमध्ये खर्च भएको छैन ।

जहदा गाउँपालिकामा १० वटा योजनामा विनियोजन गरिएको २ करोड २४ लााख ३३ हजारमध्ये ३२ लाख ९२ हजार ३ सय ९४ रुपैयाँ, रंगेलीमा ६ वटा योजनामा विनियोजित २ करोड ९ लाख ३५ हजारमध्ये ४ लाख ३ हजार ९ रुपैयाँ मात्रै खर्च भएको हो । ऊक्त कार्यत्रमको बजेटमध्ये हालसम्ममा सबभन्दा बढी बुढीगंगा गाउँपालिकाले ४५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रणको तथ्यांकले जनाएको छ । उक्त गाउँपालिकामा गएको ९९ लाख ७० हजारमध्ये ४४ लाख ८७ हजार ८ सय २० रुपैयाँ खर्च गरेको हो ।

दोस्रोमा ग्रामथानले १ करोड २१ लाख ६३ हजारमा ४७ लाख ६० हजार ८ सय १६ रुपैयाँ, तेस्रोमा कानेपोखरी गाउँपालिकाले १ करोड ५४ लाख ५४ हजारमध्ये ४२ लाख ७९ हजार १ सय ३८ रुपैयाँ खर्च भएको छ । उर्लाबारी नगरपालिकाले ९९ लाख ७० हजारमा १ लाख ८७ हजार, बेलबारीले १ करोड ४९ लाख ५५ हजारमा १७ लाख १५ हजार ८ सय ८८, कटहरीले ७७ लाख ७७ हजारमा ७ लाख ३८ हजार ९ सय १३ रुपैयाँ खर्च गरेका छन् ।

यस्तै, केराबारीले ९९ लाख ७० हजारमा १४ लाख ६९ हजार २ सय ७३ र मिक्लाजुङ गाउँपालिकाले ९९ लाख ७० हजारमा ९ लाख ७० हजार खर्चेको तथ्यांकमा उल्लेख छ ।

क्षेत्र १ का सांसद घनश्याम खतिवडाले मिक्लाजुङ, केराबारी गाउँपालिका, उर्लाबारी र लेटाङ नगरपालिकामा बराबर गरी ९९ लाख ७० हजारको दरले बजेट विनियोजन गरेका छन् । क्षेत्र २ का सांसद मीनेन्द्र रिजालले सबभन्दा बढी बजेट विनियोजन गरेको रतुवामाई र सुनवर्षी नगरपालिकामा खर्च शून्य छ ।

सांसदहरूले छनोट गरेको कुल ९८ वटा योजनामा ४४ वटा सडक निर्माणको योजना रहेको छ । पूर्वाधार निर्माणका लागि मात्रै बजेट खर्च गर्न सकिने भएकाले सांसदहरूले सहिद स्मृति प्रतिष्ठानदेखि प्रहरी चौकीकोसम्मको भवन निर्माणमा बजेट विनियोजन गरेको छ ।

ऊक्त कार्यत्रमको बजेट खर्च हुन नसकेको सुन्दरहरैंचा नगरप्रमुख शिवप्रसाद ढकालले योजनाहरूको टेन्डर भएर काम भइरहेको तर बिल भुक्तानी नभएकोले खर्च नदेखिएको बताए । विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सांसदहरूले छनोट गरेका योजनाहरू संस्थागत आधारमा छनोट नभएकाले कार्यान्वयनमा समस्या भएको बताए । उनले स्थानीयको आवश्यकतामा आधारितभन्दा पनि नेता तथा कार्यकर्ताको मागका आधारमा योजना छनोट गरिएकाले समस्या भएको बताए ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्प्सका प्राध्यापक सञ्जय ठाकुरले सांसदहरूले हचुवाको भरमा नेता तथा कार्यकर्तालाई खुसी पार्ने योजना ल्याउने गरेकाले कार्यान्वयनमा समस्या हुने गरेको बताए । ‘आवश्यकताका आधारमा निर्धारण गरिएको योजनाहरूको डीपीआर, वातावरणीय प्रभाव मूल्यांकन, डिजाइन र स्टिमेट गरेर राख्ने र ती योजनाहरूलाई प्राथमिकतामा पार्ने परम्पराको समेत अभाव छ,’ उनले भने ।

ढिलो गरी योजना छनोट गर्ने त्यसपछि डीपीआर, वातावरण प्रभाव मूल्यांकन, डिजाइन, स्टिमेट गरेर टेन्डर गर्दैमा आर्थिक वर्ष समाप्त हुने गरेकाले बजेट खर्च हुन नसक्ने उनले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT