१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडपाण्डा संरक्षणमा पहल

इलाम — लोपोन्मुख मानिएको रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि बासस्थानको पहल थालिएको छ । रेडपाण्डा नेटवर्कको पहलमा सन् २०१९ भित्र बासस्थानको व्यवस्था हुने भएको हो ।

रेडपाण्डा नेटवर्कको सहकार्यमा उच्च पहाडी संस्थाले संरक्षणका लागि १ सय ८० रोपनी निजी जग्गा खरिद गर्न लागेको हो । इलामको उत्तरी क्षेत्रमा रेडपाण्डा पाइने भएकाले बासस्थानको व्यवस्था गर्न लागिएको हो । नेटवर्कले उच्च पहाडी संस्थाको सहकार्यमा सन् २००७ देखि नै यस क्षेत्रमा काम गर्दै आएको छ ।


संस्थाले रेडपाण्डा बासस्थान रहेको क्षेत्रमा भएको खाली जग्गा खरिद गरेर त्यसमा वृक्षरोपण गर्ने रेडपाण्डा नेटवर्कका परियोजना संयोजक दाबा तेन्जी योल्मोले बताए । ‘प्रयोगमा नआएको निजी जग्गाको खोजी भइरहेको छ,’ उनले भने, ‘वन क्षेत्रसँग जोडिएको यस्तो जग्गामा रेडपाण्डा आकर्षण गर्ने खालका विभिन्न वनस्पती रोपेर संरक्षण गरिनेछ ।


सन्दकपुर गाउँपालिकाको जौवारी क्षेत्रमा पुनःस्थापना केन्द्र खोलिने तयारी भएको हो । डिभिजन वन कार्यालयकै नाममा जग्गा किनेर आफूहरूले संरक्षण गर्न लागेको उनले बताए । निश्चित समयपछि यो क्षेत्रलाई नजिकैको सामुदायिक वनलाई जिम्मा लगाउने संस्थाको योजना छ । ‘यो कार्यक्रमले चोरी सिकारी नियन्त्रणसहित कुकुरलगायत जंगली जनावारले रेडपाण्डालाई गर्ने आक्रमणबाट पनि जोगाउन सकिन्छ,’ यल्मोले भने, ‘रेडपाण्डाको संरक्षणमा समुदाय सचेत भइसकेकाले यसले थप प्रभावकारी बनाउनेछ ।’


रेडपाण्डा पाइने क्षेत्रमा संस्थाले यो पटक ३ वटा ब्लकसमेत थप्ने भएको छ । यसअघि १६ वटा ब्लक रहेको अवस्थामा थप ब्लक बनाएर संरक्षणलाई प्रभावकारी बनाउन खोजिएको हो । खाली जग्गा खरिद गरेर त्यसमा रेडपाण्डाको आहारा लगाउने र रेडपाण्डा बस्नका लागि उपयुक्त प्रजातिका बिरुवा लगाउने योजना बनिसकेको उच्च पहाडी संस्थाका धनप्रसाद खाम्दाकले बताए ।


हाल इलामका १८ सामुदायिक वनमा रेडपान्डा संरक्षण कार्यक्रम चलिरहेको छ । रेडपाण्डाको चोरी–सिकारी नियन्त्रणका लागि अनुगमन, विद्यालयहरूमा क्लब गठन, रेडपाण्डाको अनुगमनका लागि क्यामेराबाट निगरानी गर्ने जस्ता कार्यक्रम संस्थाले चलाउँदै आएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?