कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आधुनिक कृषि परियोजना : ६ हजार बिघामा ७ करोड लगानी

कोसी नदीले धार परिवर्तन गरी पूर्वतिर गएपछि बनेको टापुमा अतिक्रमण रोक्न नगरपालिकाको कृषि परियोजना
प्रदीप मेन्याङ्बो

सुनसरी — बेलाका नगरपालिकाले एकसाथ ६ हजार बिघा जमिनमा ७ करोड रुपैयाँ लगानीमा नमुना आधुनिक कृषि फर्म बिस्तार परियोजना सुरु गरेको छ । उक्त परियोजनाबाट उत्पादित सबै अन्नबाली, फलफूल तरकारी अर्ग्यानिक हुने बताइएको छ ।

आधुनिक कृषि परियोजना : ६ हजार बिघामा ७ करोड लगानी

कोसी नदीले दिशा परिवर्तन गरेर पूर्व हानिएपछि बेलकातिर पर्ने श्रीलंका टप्पुका नदिउकास ऐलानी पर्ती जमिनलाई उपयोग गर्न परियोजना सुरु गरेको हो ।


पहिलो चरणमा परियोजनाले २ करोड रूपैयाँ लागतमा सय बिघामा उन्नतजातको घाँस र मकै उत्पादनका लागि श्रीलंका टप्पुका पटेरघारी सम्याएर तार घेराबारा, आधुनिक कृषियन्त्र प्रयोग गरी खनजोत भइरहेको नगरपालिकाका कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाले बताए ।


उनले भने, ‘बाहिरबाट देख्दा बालुवाको बगर भए पनि श्रीलङका टप्पुको जमिन उर्बर भएकाले सामान्यतया सबै खाले अन्नबाली, फलफूल तरकारी उत्पादन गर्न सकिने भएकाले नगरपालिकाले परियोजना सुरु गरेको हो ।’


उनकाअनुसार स्थानीय कृषि सहकारी, समुदाय र कृषकलाई बढी फाइदा दिने उद्देश्यले नगरपालिकाले कृषि पूर्वाधार विकास तथा यान्त्रिक प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नगरपालिकाले विभिन्न खाले यान्त्रिक उपकरण र औजार ल्याइसकेको छ ।


परियोजना सफल बनाउनका लागि जमिन सम्याउने ट्याक्टर, आलु रोप्ने पोटेटो प्लान्टर, पोटेटो डिगर, माटो फुर्रर बनाउने डिस्क ह्यारो, खनजोत गर्ने कल्टिभेटर, रोडाभेटर, पावर ह्यारो, गहुँ छर्ने मेसिन, मल र बीउ एकसाथ छर्ने जिरो टिल सिड लगायतका उपकरण रहेका छन् ।


कोसीको बगरमा जो पायो त्यसले अस्थायी टहरा बनाउने, आफू खुसी सिमाना तोकेर आफ्नो भएको दाबी गर्ने, सरदर प्रतिबिघा ५ लाख रुपैयाँसम्ममा बिक्री वितरण गर्ने जस्ता भूमाफियाको दबदबा बढ्न थालेपछि नगरपालिकाले ऐलानी पर्ती नदिउकास जमिन सुरक्षा गर्दै आधुनिक कृषि परियोजना सुरु गरेको हो ।


बेलका नगरपालिकाका कृषि सल्लाहकार नारद निरौलाका अनुसार किसानलाई सामूहिक खेतीबाट आम्दानी लिन सक्ने बनाउने, समूह र सहकारीका रूपमा सेयर आह्वान गर्ने, नगरपालिकालाई निश्चित कर तिर्ने गरी खेती गर्ने वातावरण तयार गर्ने परियोजनाको उद्देश्य रहेको छ । तत्कालका लागि ३० बिघामा सुडान र टिओसेन्टी जातको बहुवर्षीय भुइँघाँस र ७० बिघामा रामपुर कम्पोजिट जातको मकै खेती गर्ने जनाइएको छ ।


बेलकाले घाँस विज्ञका रूपमा नियुक्त गरेका राजु तुलाधरकाअनुसार कृषि परियोजनामा आवश्यक पर्ने मलका लागि गाईबस्तु पाल्नु पर्ने हुन्छ । तिनका लागि चाहिने उन्नतजातको घाँसको खेती जरुरी हुन्छ । उनले भने, ‘घाँस खेतीका माध्यमबाटै कृषि पर्यटन र कृषि अध्ययन केन्द्रको विकास गर्न परियोजनाको अर्को उद्देश्य छ ।’


यसअघि नै बेलकामा डाले घाँसको स्रोतकेन्द्र सञ्चालनमा आइसकेको छ । अब भुइँघाँसका लागि सिड ड्रिल उपकरण प्रयोगमा ल्याउने तयारीमा रहेको तुलाधारले बताए । श्रीलङ्का टप्पुमा कृषि परियोजनामा चाहिने सिंचाइका लागि सोलार सिस्टमबाट पानी उत्पादन गरेर अन्नबालीमा प्रयोग गर्ने बताइएको छ ।


बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बेलकामा स्थानीय कृषक समुदाय, सहकारी र अन्य विभिन्न समूहले सामूहिक चक्लाबन्दी खेती गर्ने, व्यावसायिक पशुपालन गर्ने, अर्ग्यानिक फलफूल तरकारी उत्पादित गरी आयआर्जनमा टेवा दिने र कृषि पर्यटन प्रवर्द्धनका साथै मुलुककै प्रमुख कृषि अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।


उनले भने, ‘चाँडै नै छहजार गाईबस्तु राख्ने कान्जिहाउ तयार हुँदैछ । ती गाईबस्तुको प्राङ्गारिक मल प्रयोग गरेर २ सय ३० बिघामा परीक्षणका रूपमा अर्ग्यानिक खेती गर्न नर्सरी तयार हुँदैछ ।’ उनले परियोजनाको सुरुवातसँगै डिपिआर पनि सुरु भइरहेको बताए । अतिक्रमण गरेर बसेकामध्ये पहिचान भएका पुराना बासिन्दालाई र कोशीकटानबाट विस्थापित भएकाहरूका लागि सोही ठाउँमा पानी, विद्युत्, स्वास्थ्य, विद्यालय र यातायात सुविधा सहितको एकीकृत बस्ती निमाण गर्ने थापाले बताए ।


उनले भने, ‘बेलाकातिर पर्ने श्रीलङ्का टप्पुमा करिब ५–७ सय घर छन् । ती सबैलाई व्यवस्थापन गर्नेछौं । व्यावसायिक कृषि खेतीमा उनीहरू नै सबैभन्दा बढी सहभागी हुनेछन् ।’ प्रदेश मन्त्रालयले चिस्यान केन्द्र र पोष्ट हार्वेस्टिङ सेन्टर समेत स्थापना गर्न बजेट पारित गरेको थापाले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?